आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चुनिने नयाँ राष्ट्रपतिसँग अभिभावकीय भूमिकाको अपेक्षा

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १४:००

सङ्घीय गणतन्त्र नेपालका लागि तेस्रो राष्ट्रपतिको निर्वाचन आज हुँदै छ । कुनै राष्ट्रिय सङ्कट नआएमा देशले आज चौथो कार्यकालका लागि नयाँ राष्ट्रपति पाउनेछ । राष्ट्रपति पदमा दुईजना पूर्वसभामुख उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३१ तथा प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रसहित नौदलीय गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । नेम्वाङ संविधानसभाबाट संविधान दिन सफल भएर प्रिय पात्र बनेका विघटित संविधानसभाका अध्यक्ष हुन् भने पौडेल प्रतिनिधिसभाका पूर्वसभामुख हुन् । नेपालको लोकतान्त्रिक इतिहासमा यी दुवै पात्रको योगदान अमूल्य मात्र होइन, दुवै पाका व्यक्तिमा गनिन्छन् । विद्यादेवी भण्डारीले गणतन्त्र नेपालको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो सर्वोच्च पदमा आफ्नो दोस्रो कार्यकाल आजदेखि पूरा गर्दै छिन् । यसअघि पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादवले कार्यकाल पूरा गरिसकेका छन् । गणतन्त्रको मूल विशेषता वंशाणुगत राजाको ठाउँमा जनताबाट निर्वाचित राष्ट्रपति स्थापित गर्नु हो । नेपालमा पनि त्यही गरियो । तर, विगतका दिनमा राष्ट्रपति संस्था विवादरहित बन्न सकेन । जसका कारण राष्ट्रपतिलाई किन राख्नेसम्मका बहस पनि सुरु हुन थालेका छन् । राजनीतिक दल र तिनका नेतृत्वले राष्ट्रपति पद नेपालमा सबैभन्दा बढी विवादित रहेको प्रचार-प्रसार गराइरहेका छन् । राष्ट्रपति संस्था गणतन्त्र नेपालको पर्याय हो ।

नेपालमा गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट स्थापित भएको हो । गणतन्त्र नेपालको सङ्घीय राज्य व्यवस्थाको मूल स्तम्भ पनि हो । यसैको स्थापनाका लागि माओवादीको १० वर्षे जनयुद्ध र सात दलसहित आमनेपालीको १९ दिने जनआन्दोलन भएको थियो । तर, सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था अङ्गीकार गरेको डेढ दशक पनि पुग्न नपाउँदै गणतन्त्रको प्रतीक नेपालको सर्वोच्च संस्था राष्ट्रपतिप्रति आमनेपालीको मनोभाव नकारात्मक देखिएको छ । यहाँसम्म कि गणतन्त्रका लागि टाउकाको मूल्य चुकाएका राजनीतिक शक्तिसमेत यतिबेला राष्ट्रपतिको व्यवहार र कार्यशैलीका कारण यो संस्थाको उपादेयतामा प्रश्नचिह्न खडा भएको छ । प्रधानमन्त्रीले पेस गरेका अध्यादेश हुन् वा संसद् विघटनका सिफारिस ती सबैलाई तत्काल जारी गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुनुहुँदैन । ऊ सबैको अभिभावक पनि हो । आमनागरिकले पनि उक्त संस्थाबाट धेरै अपेक्षा गरेका हुन्छन् । सरकारको सिफारिस नाइँ भन्न नमिले पनि कानुनी वैधता प्रदान गर्न, राजनीतिक तथा कानुनी परामर्श लिन सरकारलाई केही क्षण पर्ख भन्न सक्नुपर्छ । विगतमा यो मामिलामा यो संस्था चुकेकै छ । एउटाले ल्याएको सिफारिस तुरुन्त सदर गर्नु र अर्कोले लगेको अड्काएर राख्नुले सो संस्थाको छवि विवादरहित देखिँदैन । अब बन्ने राष्ट्रपतिले विगतको पाठ सिकेर यो संस्थालाई बढी जिम्मेवार, तटस्थ र निष्पक्षताको केन्द्र बनाउन सकियो भने गणतन्त्रप्रति आमनागरिकको सम्मान बढ्नेछ ।

आज बिहीबार हुने निर्वाचनमा सङ्घ र प्रदेशका सांसदले बानेश्वरस्थित संसद् भवनमा बिहान १० देखि ३ बजेसम्म मतदान गर्नेछन् । मतदानपछि मतगणनाको प्रक्रिया अगाडि बढी बेलुकी ७ बजेभित्र परिणाम आइसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यसपटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आज हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट काङ्ग्रेस नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभाका पाँच सय ५० सांसद गरी आठ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार एक सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार चार सय गरी कुल मतभार ५२ हजार पाँच सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार दुई सय ७५ मतभार ल्याउनुपर्छ ।

सङ्घीय संसद्का तीन सय ३४ मतदातामध्ये मनाङका काङ्ग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद सहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । निर्वाचन अधिकृत कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले आज हुने निर्वाचनमा सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिइन् । एउटा मतदान केन्द्रमा सात कर्मचारी खटिनेछन् । सङ्घीय र प्रदेश सांसदका लागि फरक रङको नौ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्तागठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको प्रवक्ता पौडेलको भनाइ छ । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ गतेदेखि सुरु हुने आयोगले जनाएको छ । निर्वाचन भने चैत ३ मा हुनेछ ।