राजधानी दैनिकका पत्रकार पाण्डे पुरस्कृत

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:०२

काठमाडौं, नेपाल निर्माण व्यवसायी महासङ्घले नुवाकोटको बेलकोटगढी नगरपालिका-११ तिगाउँ घर भएका राजधानी राष्ट्रिय दैनिकका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।

आइतबार काठमाडौंमा सम्पन्न देशभरका निर्माण व्यवसायीको छाता संस्था महासंघको २४औँ साधारणसभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पाण्डेलाई उत्कृष्ट पत्रकारको रूपमा पुरस्कृत गरिएको हो । पाण्डेलाई महासङ्घले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि पत्रकारितामार्फत उल्लेखनीय काम गरेको भन्दै व्यक्तिगततर्फ नगद पुरस्कारसहित ‘एफक्यान उत्कृष्ट सञ्चारकर्मी’ पुरस्कारले सम्मान गरेको हो । पत्रकार पाण्डे झन्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय रूपमा लागिरहेका छन् । एफक्यान एक्सिलेन्स उत्कृष्ट सञ्चारकर्मी परस्कारद्वारा सम्मानित पाण्डे हाल काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका छन् । सो कार्यक्रममा महासङ्घले यस वर्षको उत्कृष्ट सहयोगी छापामाध्यमका पत्रिकातर्फबाट आर्थिक दैनिकलाई संस्थागत रूपमा सम्मान गरेको थियो ।

त्यसैगरी, सहयोगी टेलिभिजनतर्फ एपिवान टेलिभिजनलाई सम्मान गरेको थियो । महासङ्घले अनलाइन सञ्चारमाध्यमतर्फबाट निर्माणपाटी डटकम र सहयोगी रेडियोतर्फ रेडियो काठमाडौंलाई सम्मान गरेको थियो । सोही अवसरमा महासङ्घले विभिन्न ३८ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको थियो । सोमबार काठमाडौं घोषणापत्र जारी गर्दै महासङ्घको साधारणसभा सम्पन्न भएको छ ।