+
Search

ताजा अपडेट +

पपुलर +

स्पार्कल इन्टरनेसनल र वागेश्वरी माविका ६० विद्यार्थी राष्ट्रिय सेवा दल तालिममा

स्पार्कल इन्टरनेसनल र वागेश्वरी माविका ६० विद्यार्थी राष्ट्रिय सेवा दल तालिममा
त्रिशूली प्रवाह
४६ मिनेट अगाडी

विदुर । युवापुस्तामा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रसेवाको भावनाको विकास गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दलले नुवाकोटका दुई विद्यालयसहित देशभरका दुई सय २१ विद्यालयमा अध्ययनरत ६ हजार ६ सय ३० छात्रछात्रालाई समेट्दै ५२औँ ब्याचको जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ ।

Utsuk Books & Stationery

नुवाकोटको विदुर-९ को स्पार्कल इन्टरनेसनल स्कुल र सूर्यगढी-३ वागेश्वरी माविमा अध्ययनरत १५ छात्र, १५ छात्रा गरी ३०-३० विद्यार्थी सहभागी भएका छन् । तालिमको ‘प्रथम प्रवचन’ कार्यक्रमको उद्घाटन नुवाकोटमा तैनाथ नेपाली सेना बहादुर श्री शेर गणका गणपति प्रमुख सेनानी आविष्कार ढुङ्गानाले गर्नुभएको थियो । सोही दिन वागेश्वरी माविमा समेत प्रवचन कार्यक्रम सम्पन्न भएको शेर गणले जानकारी दिएको छ ।

विद्यालय तहबाटै सक्षम, अनुशासित र राष्ट्रप्रति समर्पित नागरिक तयार पार्ने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त तालिम दुई चरणमा सम्पन्न गरिँदै छ । असार १ गतेदेखि असोज १ गतेसम्म पहिलो चरण विद्यालयमै र बाँकी ८१ दिनको तालिम राष्ट्रिय सेवा दलको केन्द्रीय तालिम केन्द्र नवलपरासीको धर्तीपुरमा सञ्चालन हुने जानकारी दिएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार राष्ट्रिय सेवा दलमा पहिलो चरणमा सम्बन्धित विद्यालयमै संस्थागत तालिम सञ्चालन गरिनेछ । यसैगरी दोस्रो चरणमा सहभागी विद्यार्थीलाई समावेश गरी वार्षिक सामूहिक क्याम्प आयोजना गरिने छ । आगामी भदौदेखि ३६ वटा विद्यालयका एक हजार ८० विद्यार्थीलाई समेटेर सिनियर डिभिजन तालिमसमेत सञ्चालन गर्ने तयारी छ । जुनियर डिभिजन तालिममा सैनिक कला, विपत् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन तथा सामूहिक कार्यसम्पादनसम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने राष्ट्रिय सेवा दलले जनाएको छ । तालिमबाट विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा विपत्का वेला आवश्यक सिप विकास हुने विश्वास गरिएको छ । विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै विद्यालय तथा कलेज तहका युवकयुवतीलाई राष्ट्रिय भावना, अनुशासन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छ । हालसम्म सिनियर तथा जुनियर डिभिजनमार्फत ८९ हजार आठ सय ९४ जनाले तालिम प्राप्त गरिसकेका छन् । तालिम प्राप्त व्यक्ति केन्द्र, प्रदेश तथा जिल्ला तहमा गठन भएका एल्मुनाई एसोसिएसनमार्फत विभिन्न सामाजिक तथा राष्ट्रिय गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह