राष्ट्रपतिसँग जनअपेक्षा

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:१४

नेपालमा ०६५ जेठ १५ गते राजतन्त्र समाप्त भएर राष्ट्रपति शासन सुरु भएको हो । ०६५ साउन ५ गते सङ्घीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति नेपाली काङ्ग्रेसका नेता डा. रामवरण यादव भयो । उनले झन्डै आठ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाले । त्यसपछि ०७२ कात्तिक १२ गते नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति भइन् । उनी पनि दोस्रो र तेस्रो कार्यकाल गरी सात वर्ष राष्ट्रपतिको जिम्मेवारी बहन गरेर सोमबारदेखि बिदा भएकी छिन् । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले सोमबार शपथग्रहण गरेर शीतलनिवास प्रवेश गरेका छन् । राजतन्त्र समाप्त गरेर राष्ट्रपति शासन सुरु भएको १५ वर्ष पूरा भएको छ । राष्ट्रपति र राजतन्त्रको अन्तर नेपाली नागरिकले अहिले छुट्याउन सकिरहेका छैनन् ।

गणतन्त्रमा राष्ट्रपतिको पद नागरिकको सर्वोच्च प्रतिनिधि संस्था हो । राष्ट्रपति हुने व्यक्तिको व्यवहारले राष्ट्रपति पदको गरिमालाई उच्च बनाउँछ । विगतमा राष्ट्रपति बनेकाले यो पदको गरिमालाई कायम गराउन नसकेको चर्चा-परिचर्चा हुँदै गर्दा देशले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति गत हप्ता पाएको छ । राष्ट्रपतिमा निर्वाचित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार पदबहाली गरेर कार्यभार सम्हालिरहेका छन् । उनी आठ राजनीतिक दलको समर्थनबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलको विजय केवल आठ दलको मात्र नभई सादगीपन र इमानको पनि विजय भएको चर्चा भइरहेको छ । आजसम्म उनले जति पनि राजकीय पदको अवसर पाएका थिए त्यसमा कुनै पदमा रहँदा पनि उनीमाथि भ्रष्टाचारको दाग लागेन । अब त झनै त्यसमा कुनै दाग लाग्नेछैन भनेर आमजनताले अपेक्षा गरिरहेका छन् । यसमा पौडेल खरो उत्रनेछन् भन्ने आशा गरौँ । नयाँ राष्ट्रपति पौडेल आफैँमा एक इतिहास बोकेको पात्र हुन् । प्रजातन्त्र स्थापनाको सङ्घर्षमा १४ वर्ष जेलजीवन बिताएका पौडेलबाट प्रजातान्त्रिक आचरण बारम्बार प्रदर्शन हुँदै आएको छ । अब नहुने कुरै भएन । पौडेलले आफ्नो जीवनमा राजकीय अवसर नपाएका भने होइनन् । उनी मन्त्री, सभामुख सबै भए, तर कुनै पदमा बस्दा पनि दागी बन्नुपरेन । उनको आचरण, आनीबानी यति शुद्ध थियो कि कसैले औँलासमेत उठाउन सकेनन् । भ्रष्टाचारको कुनै गन्ध पौडेलको विवेकबाट आएन । एकपटक उनलाई तपाईंले काठमाडौंमा घर कसरी बनाउनुभयो भनेर प्रश्न सोध्दा पौडेलको जवाफ थियो, ‘मैले राजकीय पदमा बस्दा र विदेश भ्रमण जाँदा पाएको तलबभत्ता जोगाएर घर बनाएको हुँ ।’

जे होस्, पौडेलजस्तो स्वच्छ छविका राष्ट्रपति हुँदा हरेक नेपालीको शिर ठाडो भएको छ । पौडेलबाट देशको विकास निर्माणमा प्रोत्साहन दिने काम र आफ्नो सवारी चलाउँदा पूरै बाटो ढाकेर आमजनतालाई दुःख नहोस् भनेर सरकारलाई निर्देशन दिनेछन् भन्ने अपेक्षा नागरिकले गरेका छन् । उनले आफ्नो सादगीपन देखाउनेछन् । बटुवाको पिरमर्का बुझ्नेछन् । संवधानिक हिसाबमा अबको पाँच वर्ष संविधानमाथि कहीँ–कतैबाट चोट पुग्ने काम हुँदैन भन्ने नागरिकको विश्वासलाई उनले मर्न दिनेछैनन् । एउटा सेरेमोनियल राष्ट्रपतिबाट नागरिकले योभन्दा धेरै अपेक्षा गर्नु उपयुक्त पनि हुन्न । केवल गैरसंवैधानिक काम उनको हातबाट नहोस्न/गराइयोस् । जनताले राष्ट्रपति हुने मान्छेको व्यवहारबाट गणतन्त्रको अनुभूति गर्ने गर्छन् । विगतका दुई राष्ट्रपतिबाट जनताले राजा र राष्ट्रपतिबीचको भिन्नता पाउन सकिरहेका छैनन् । यो परिस्थितिमा राष्ट्रपति बनेका पौडेलले नागरिकमैत्री र संवैधानिक पदीय भूमिकाबारे आशा जगाउनेछन् । भर्खर पदीय जिम्मेवारी ग्रहण गरेका पौडेलसँग सुरुमा अपेक्षा मात्र गर्ने हो । अरू व्यवहार उनले आगामी दिनमा गर्ने कार्यले देखिनेछ । राजनीतिक स्थिरता भनेको प्रणालीको संगातीपूर्ण अभ्यास हो, व्यक्ति वा पार्टीको निरन्तरता होइन । त्यसैले राष्ट्रपति, प्रधानमन्त्री वा अन्य संवैधानिक आयोग वा अदालत कसैले पनि आफ्नो सिमाना नाघ्ने प्रयत्न गर्छ भने त्यो अस्थिरताको पृष्ठपोषण गरेको ठहरिनेछ । समयमै नागरिकले खबरदारी गर्नुपर्छ ।