खाद्य तथा पोषण सुरक्षा योजना कार्यान्वयन गर्नेमा गजुरी गाउँपालिका पहिलो

  • त्रिशूली प्रवाह
  • १६ चैत्र २०७९, बिहीबार १२:०६

मलेखु, धादिङको गजुरी गाउँपालिका खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याउने नेपालको पहिलो पालिका हो । गजुरी गाउँपालिका र फियान नेपालले संयुक्त रूपमा आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वय, स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम विषयक अन्तत्र्रिmयामा सो जानकारी गराइएको थियो ।

विकासमा जनसहभागिता र गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिकालाई धादिङ जिल्लाको गजुरी गाउँपालिकाले आत्मसात् गरिरहेको छ । स्थानीय सरकार मात्रले विकास गरेर दिगो नहुन पनि सक्छ, त्यसकारण विकासमा स्थानीयको सहभागिता गर्न टोल विकास संस्था परिचालन गर्न लागेको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । गजुरी र फियान नेपालले संयुक्त रूपमा आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वय, स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम विषयक अन्तत्र्रिmयामा अध्यक्ष श्रेष्ठले फियान नेपालसँग टोल विकास संस्था परिचालन कार्यक्रमको विषयमा धेरैपटक छलफल भइसकेको बताए । गाउँपालिका कार्यक्रम अघि बढाउन सकारात्मक रहेकोसमेत बताए । उपाध्यक्ष शर्मिला बिसुरालले विकासमा साझेदार संस्था थपिनुपर्ने, तर त्यसमा गाउँपालिकासँग समन्वय हुनुपने बताइन् । उनको भनाइ थियो, ‘स्थानीय सरकारले मात्र सबै काम एकैपटक गर्न सकिँदैन भनेर गैरसरकारी संस्थासँग साझेदारी गर्ने हो, टोल विकास संस्था परिचालन गरेर जनतालाई विकासमा सहभागी गरे मात्र विकासमा अपनत्व आउँछ ।’ संस्थाले सबै परिवारलाई समेटेर काम गर्ने स्रोत नहुने होला, पालिकाले पनि सबैलाई एकसाथ योजना दिन नसक्ने होला, त्यसकारण एकद्वार प्रणालीबाट काम गर्न टोल विकास संस्था परिचालन आवश्यक रहेको बताए । सामाजिक परिचालन नगरिदिएको योजना, चिजवस्तु टिकाउ नभएको थुप्रै तथ्य रहेको सो कार्यक्रममा वडाअध्यक्ष ऋषिलाल श्रेष्ठले बताए । वडाध्यक्ष एवम् गजुरी पालिका सरकारका प्रवक्ता बद्री जम्कट्टेलले सरकारसँग समन्वय गरेर काम गर्न गैरसरकारी संस्थालाई आग्रह गर्दै गाउँपालिकामा कार्यक्षेत्र बनाएर आएका गैरसरकारी संस्थालाई आफूखुसी काम गर्ने छुट नदिने बताए । गाउँपालिका सदैव सहकार्यका लागि तयार रहेकाले जनताको आवश्यकताको आधारमा काम गर्न आग्रह गरे । शाखा प्रमुखको तर्फबाट शिक्षा शाखा प्रमुख भीमसेन विष्टले भने, ‘हामी पटक–पटक छलफल गर्छौँ र फेरि छलफल गर्छौँ, कार्यान्वयनमा कतै अलमलिरहेका छौँ, जति अलमलिन्छौँ उति नै विकास ढिलो हुन्छ ।’

गैरसरकारी संस्थाको तर्फबाट कार्यक्रममा शान्ति नेपालका लालप्रसाद पोख्र्रेलले भने, ‘अहिले समुदायले धान्न नसक्ने समूह गठन भइरहेका छन् ।’ एउटा टोलमा एउटा मात्र समूह वा संस्था हुन आवश्यक भएको बेला टोल विकास संस्था गठन र परिचालन गर्ने कुरा स्वयम् समुदाय, स्थानीय सरकार र गैरसरकारी संस्थालाई लाभ हुने बताए । कार्यक्रमका सहभागीलाई स्वागत गर्दै फियान नेपालका अध्यक्षले गजुरी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याउने नेपालको पहिलो पालिका भएको उल्लेख गर्दै अब सबै परिवारलाई विकास साझेदार बनाउने कुरामा पनि अगुवाइ गर्नुहुन्छ भन्ने विश्वास रहेको बताए । अन्तक्र्रिया कार्यक्रममा फियान नेपालका केस युनिट कोअर्डिनेटर तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता अवधारण र विद्यमान ऐन कानुनले गरेको व्यवस्थाको विषयमा प्रस्तुति गरेका थिए । फियान नेपालका फिल्ड अधिकृत राजेन्द्र बस्नेतले स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालनको विषयमा प्रस्तुति दिए ।