धुनीबेँसी नगरपालिकाले टोल विकास संस्था परिचालन गर्ने

  • त्रिशूली प्रवाह
  • १६ चैत्र २०७९, बिहीबार १२:०८

धार्के, धादिङ जिल्लाको धुनीबेँसी नगरपालिकाले जनतालाई विकासको मूल प्रवाहमा ल्याउन जनसचेतना, सहभागिता, उत्तरदायित्व र सुशासनको प्रत्याभूति दिन टोल विकास संस्था परिचालन गर्ने भएको छ । नगरपालिकाले जनतालाई विकासको मूल प्रवाहमा ल्याउन जनसचेतना, सहभागिता, उत्तरदायित्व र सुशासनको काम गर्न टोल विकास संस्थासँग साझेदारी गर्न आवश्यक तयारी गरिरहेको नगर प्रमुख बालकृष्ण आर्चायले बताए ।

सरकारले गर्ने काममा नै गैरसरकारी संस्थाले साझेदार गर्ने भएकाले फियान नेपालसँग साझेदारी भइरहेको छ । विकासलाई जनमुखी र जनसहभागिता गराई विकासलाई दिगो बनाउन टोल विकास संस्था परिचालन एक विधि हो भनेर सङ्घीय सरकारले अघि सारेको छ । धुनीबेँसी पनि टोल विकास संस्था परिचालनमार्फत सबै परिवारलाई विकास साझेदारका रूपमा साझेदारी गर्न टोल विकास संस्थामा आबद्ध गराइरहेको छ । धुनीबेँसी नगरपालिका र फियान नेपालले संयुक्त रूपमा आयोयजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन, स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम विषयक अन्तक्र्रियामा नगर प्रमुख आचार्यले टोल विकास संस्था परिचालन गर्ने बताएका हुन् । धुनीबेँसीले देखिने र महसुस गर्ने गरी विकास गर्नुपर्छ भन्ने विषयमा छलफल गरी योजना अघि सारेकोसमेत उनले बताए । टोल विकास संस्था परिचालनले अवश्य सहयोगी भूमिका निर्वाह गर्ने विश्वास गर्दै यसै आवबाट टोल विकास संस्था परिचालन गर्ने कार्यक्रम अघि सार्ने नगर प्रमुख आचार्यको भनाइ छ ।

खाद्य अधिकार, स्वास्थ्य, शिक्षा, खानेपानी, स्थानीय रोजगारी सबै नागरिकका लागि आधारभूत कुरा भएकाले यी अधिकारका लागि सरकारले वातावरण बनाउनुपर्ने र सबै नागरिकलाई नगरपालिकाले दिने सेवा, सुविधा र विकास साझेदार बनाउन जनपरिचालन आवश्यक रहेको उपप्रमुख सुरज उप्रेतीले बताए । विकासमा जनताको सहभागिताले मात्र सुशासन, उत्तरदायित्व भई दिगो विकास हुने भएकाले विकासका काममा व्यापक जनसहभागिता परिचालन गर्न टोल विकास संस्था परिचालन महत्वपूर्ण हुन्छ । नागरिकको अधिकार पनि सुनिश्चित हुने र सरकारको लक्ष्य पनि पूरा हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनालले बताए । जनताको आधारभूत अधिकार खाद्य अधिकार हो भनेजस्तै सुशासन पनि जनताका लागि महत्वपूर्ण कुरा हो । विकासमा जनतालाई साझेदार बनाउनु टोल विकास संस्था आवश्यक रहेको वडाध्यक्ष एवम् पालिका सरकार प्रवक्ता रमेश आचार्यले बताए । नागरिक संंस्थाको तर्फबाट खाद्य अधिकार सञ्जालका सदस्यसमेत रहेका फोकस नेपालका प्रतिनिधि रोशन नेपालले हरेक नागरिकलाई खाद्य अधिकार रहेजस्तै विकासमा सहभागी हुन पाउने अधिकार पनि रहेको उल्लेख गरे । टोल विकास संस्था परिचालनमार्र्फत विकास गर्दा सुशासन कायम हुन गई दिगो विकास हो विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा फियान नेपालका अध्यक्ष गोकर्ण रूपाखेतीले धुनीबेँसीले धेरै राम्रा काम गरेको बताउँदै अब विकासमा प्रत्येक परिवारलाई सहभागी गराउने कार्यक्रम बनाएर अझ उदारहणीय बन्न सुझाव दिए । कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा रणनीति योजना कार्यान्वयनको अवस्था र हासिल भएका उपलब्धिको विषयमा पालिकाको कृषि शाखा प्रमुख सन्तोष खड्काले, खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको अवधारण र ऐन कानुनले गरेको व्यवस्थाबारे फियान नेपालका तिलक अधिकारीले र स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालनका विषयमा फियान नेपालका विनोदप्रसाद पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।