देवी र सिन्दूरेजात्रामय नुवाकोट

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार १२:२३
  • रिना खनाल

नेपाल एकीकरणपछि एक दशक देशको दोस्रो राजधानीको रूपमा परिचित सांस्कृतिक केन्द्र नुवाकोट सम्पदा र संस्कृतिको भण्डार मान्न सकिन्छ । सङ्घीय राजधानी काठमाडौंजस्तै विभिन्न जात्रा नै जात्राको गाउँभन्दा पनि फरक नपर्ला । जात्रा तथा पर्वमा रमाइरहन नुवाकोट यतिबेला भने सिन्दूरेजात्राको उल्लास छ । सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ । यसको मुख्य आकर्षणको केन्द्र रथयात्रा र जीवित भगवान्को रूपमा पुजिने धामी-धमिनी नै हुन् ।

नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताले गर्दै आएका छन् । यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ । बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ । भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रूपले अपरम्पार छ । देवीजात्रा अर्थात् सिन्दूरेजात्रालाई यस क्षेत्रमा विशेष महत्व साथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दूरेजात्रा धुमधाम साथ मनाइन्छ । यो जात्रा फागुपूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ र यस दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ । यसलाई मिनी सिन्दूरेजात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेँसीबाट फर्कन्छन् ।

सिन्दूरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारको व्यवस्था हँुदै आएको छ । चैत्रशुक्ल चतुर्दशी (यसपटक चैत २२ गते बुधबार) का दिन बेलुका कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधि सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्वारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ र बज्राचार्यद्वारा धामी-धमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ । यसप्रकार धामी–धमिनीमा देवीको रूप धारण भइसकेपछि काम्न थाल्दछन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोच्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक-एकवटा लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइअनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय व्यक्तिबाट हुन्थ्यो । केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न सकिँदैन । लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रूपधारण गरी आसन जमाएर बसिरहनुपर्दछ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिङ्गो वैशाख कृष्ण नवमी (वैशाख १) र दशमी (वैशाख २) का दिन क्रमशः ढालिन्छ ।

चैत शुक्ल पूर्णिमाको दिन (चैत २३ गते बिहीबार) बिहान धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरबारबाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामी-धमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामी-धमिनी र गणलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहस-नहस बनाएपछि र बर्खाको पानीले ढलेको छ, यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण-पश्चिमपट्टि सूर्यकती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्दछन् । खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्ति राखिएको हुन्छ । त्यो खटलाई लच्याङका तामाङले बोक्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैँचा हुँदै देवीघाटमा पु¥याइन्छ । भैरवीको बिर्तामा बसेको कुमालेले बाराही मन्दिरदेखि नै भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्दछन् । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।

देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यबाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ । प्रतिपदाको दिन (२४ गते) देवीघाटको मेला सकिएपछि धामी-धमिनीलगायत अन्य गण बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामी-धमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्वितीयाको दिन (चैत २५ गते शनिबार) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखको उपस्थितिमा दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । त्यस्तै साततले दरबारअगाडि र तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ । बढाइँ सकिएपछि रथ उठाएर धामी-धमिनीको यात्राका साथ सैनिकको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो जात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धमिनीलाई सिन्दूर हालिन्छ र यसले सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्तीअनुसार जालपादेवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्षबढाइँ गरिएको मानिन्छ । विशेष लयमा नाच्दै रमाउँदै चिराग लिएर नाइकेको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानीतर्फ लम्कन्छ । तुलजाकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामी–धमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट अर्थात् (चैत २६ गते आइतबार) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमातृकाको खटअगाडि डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट दुईवटा राँगाको विशेष भोग खुवाइने गरिन्छ । यस अवसरमा बढाइँ गरिन्छ । देवताको रूप धारण गरेका धामीले राँगा, बोकाको रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् ।

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिलाई मन्दिरमा पुनस्र्थापना गरिन्छ । बाह्र भाइ खलकीद्वारा मन्दिरमा क्षमापूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । यसपछि पनि स–साना जात्रा भइरहन्छन् । देवी जात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुसियालीमा उत्सवको रूपमा मनाइने परम्परा छ । सिन्दूरेजात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक हरेक दृष्टिले महत्वपूर्ण छ नुवाकोट । यहाँका अनेकौँ देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तु भूकम्पले ध्वस्त बनायो । तैपनि यी स्थल स्वदेशी तथा विदेशी पर्यटकको ध्यान तान्न अझै सक्षम छन् । देशकै सबैभन्दा लामो रथयात्रा मानिने पर्वमा स्थानीय सरकारले आफ्नो स्थानमा बिदा नदिनु गैरजिम्मेवारी मान्ने पो हो कि ? यस पर्वबारे जानकारी गराउन भए पनि नगरपालिकाले सबै जनसमुदायलाई उपस्थित गराउन सार्वजनिक बिदा दिन चुकाउनुहुँदैनथ्यो । यसतर्फ स्थानीय सरकार तथा जनप्रतिनिधिले चासो दिनु जरुरी छ । देश र समाजको एकता र प्रगतिका लागि संस्कार र संस्कृतिलाई आत्मसात् गर्दै प्रवद्र्धन गर्न मद्दत मिल्छ ।