- सरस्वती न्यौपाने
धुन्चे, कोरोना र सुरक्षाको बहानामा चीनले ३८ महिनादेखि प्रवेश बन्द गरेको रसुवागढी नाका चैत १८ गतेदेखि दुईतर्फीरुपमा खुलेको छ । गत हप्तादेखि मानिसको आवत-जावत खुलेपछि नेपाल–चीन सिमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र नविकरण तथा नयाँ लिनेको भिड लागेको छ ।
मानिसको आवत-जावत खुलेसँगै चीन प्रवेश गर्नको लागि पास नविकरण तथा नयाँ लिनेको भीड लागेको हो । आवत-जावत खुलेको ३८ महिनापछि शनिबार रसुवागढी नाकाबाट २५ जना अराईभल र १२ जना डिपार्चर भएको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ । गत शनिबार नाका खुल्ने भएपछि सबेरैदेखि प्रस्थान अनुमतिपत्रको नविकरण तथा नयाँ बनाउनको लागि कार्यालय खोलिएको थियो । सोही शनिबारको दिन २ सय ४० जनाको नविकरण र नयाँ बनाईएको थियो । तीन वर्षसम्म नाकामा आवत-जावत नहँुदा प्रवेश अनुमतिपत्रको नविकरण तथा नयाँ बनाउन पाएका थिएनन् । अध्यागन कार्यालय रसुवागढी, रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार चीनसँग सीमा जोडिएका जिल्लाबासीलाई चीन सरकारले एक वर्षसम्म प्रवेशका लागि अनुमति दिंदै आएको छ । नेपाल चीन सीमा क्षेत्रका नागरिक नेपाल चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्रको आधारमा चीन प्रवेश पाउने गर्दछन् । अनुमतिपत्र अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो । प्रवेश अनुमतिपत्र लिएका जिल्लाबासी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवत–जावत गर्न पाउँछन् । चैत १८ गते शनिबार पहिलो दिन प्रस्थान प्रवेश अनुमतिपत्र नविकरण गरेका चालक, कामदार, ब्यापारी र ब्यवसायी गरी ८१ जना जिल्लाबासी केरुङतर्फ पुगेका छन् ।
कोभिडका कारण ३ वर्षदेखि बन्द रहेको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढी दुईतर्फ आवत-जावत गर्न पाउने भएपछि सिमा क्षेत्रका बासिन्दा र ब्यापारी ब्यवसायीमाझ उत्साह र खुशी बढेको छ । गत चैत १८ गते शनिबार नाका खुलेपछि रसुवागढी र टिमुरे क्षेत्रमा गाडी चालक, सहचालक, ब्यवसायी, भरियाको भिडभाड बढेको छ । गाडी चालक, सहचालकले रोजगारी पाउने, ब्यवसायी पनि गाडी भाडा राम्रो पाउने, सिमा वरपरका स्थानीय समेत पुलपारी केरूङ गएर समान ल्याई ब्यापार गर्न सकिने भएपछि दंग छन् । केही हदसम्म हामी बेरोजगार बस्न नपरी परिवारको जिविकोपार्जनमा सहज बन्छ भनेर रसुवागढी नाका सञ्चालन आएसँगै काम गर्न आएको लाक्पा तामाङले बताए । नाका सुचारू हुँदा करिव ४ हजार रसुवालीले रोजगारी पाउने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुक्साङ तामाङले बताउनु भयो । २०७६ माघ १५ मा ल्होसार पर्व तथा हिउँ परेका कारण केरूङ बन्द थियो । त्यसको केही महिनापछि कोरोना संक्रमण फैलिएपछि पुर्णरूपमा नाका बन्द नै भएको थियो । धेरै मानिस बेरोजगार बने कतिको गाडीको किस्ता तिर्न नसंक्दा गाडी नै लिलाम हुने अवस्था र कति लिलाम नै भईसकेको अध्यक्ष तामाङले बताए । दुवैतर्फ आवत-जावत हुने भएपछि यो नाकाबाट सामान आउने र जाने हुँदा कामदार तथा गाडी ब्यवसायीले काम पाउने रसुवा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जिव अमात्यले बताए । रसुवा जिल्लाभित्रबाट केरूङसम्म पुगेर समान ढुवानी गर्ने ५ सय कन्टेनरले स्विकृति पाएका छन् ।