जनभोजन कार्यक्रम १४ वर्षमा प्रवेश

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:४८
  • राजेन्द्र बस्नेत

धादिङ, २०६५ साल चैत्रबाट सञ्चालनमा आएको जनभोजन कार्यक्रमले मंगलवार १४औं वार्षिकोत्सव मनाएको छ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर-५ तसर्पुस्थित दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालको सहयोगमा सञ्चालन भईरहेको यो संस्थाले स्थापनादेखि दैनिकरुपमा ५ सय जना भन्दा बढी विद्यार्थी तथा बृद्धबृद्धालाई खाना खुवाउँदै आएको छ ।

विगत केही वर्ष अगाडीबाट धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-४ र ५ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–११ र १२ का ९ वटा विद्यालयका दैनिकरुपमा २ हजार भन्दा बढी विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका ब्यवस्थापक भोला राउतले बताए । जनभोज कार्यक्रममा वार्षिक १ करोड १८ लाख भन्दा बढी खर्च भएको संस्थाका उपाध्यक्ष प्रेमराज ढुंगेलले बताए । उनका अनुसार विभिन्न सहयोगी दाताबाट प्राप्त र अन्य संस्थाले सहयोग रुपमा दिएको ७९ लाख आम्दानी भएको छ । अहिले दैनिकरुपमा ४० हजार खर्च हुने गरेको संस्थाले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको उच्च प्रशंसा गर्दै विगतका वर्षमा पालिकाबाट दिंदै आएको आर्थिक सहयोगलाई बुद्धि गर्ने प्रतिबद्धता गरे । अध्यक्ष आर्चायले यस किसिमको कार्यक्रम पालिकाभित्रका अन्य क्षेत्रमा समेत बिस्तार गर्न आग्रह गरे । यसैगरी थाहा नगरपालिकाका उमप्रमुख भरत गोपालीले जनभोजन कार्यक्रमको उच्च प्रशंसा गर्दै नगरले पनि जनभोजन कार्यक्रमलाई केही सहयोग गर्ने प्रतिबद्धता गरे ।