नेपाली नागरिकता त्यागेकाले अंश पाउँछन् ?

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १६:१२
  • शिवराज धिताल

पारिवारिक सम्पत्ति अंशियारले भागबन्डा गर्नुलाई अंशबन्डा भनिन्छ । अंशबन्डा के आधारमा हुन्छ ? नेपाली नागरिकता त्यागिसकेका अंशियारले आफ्नो अंश दाबी गर्न मिल्छ कि मिल्दैन ? कसैले धेरै-थोरै अंश पाउने अवस्था हुन्छ कि हुन्न ? परिवारको सम्पत्ति अंशबन्डा कसरी हुन्छ ? दाजुभाइ तथा दिदीबहिनी छन् भने कुन-कस्तो बेला अंशबन्डा गर्न पाइन्छ ?
कुनै परिवारमा अंशबन्डा गर्दा बुबा-आमा, छोरा-छोरी गरी परिवारभित्रका सदस्यलाई समान रूपमा अंश र ऋण बाँडिन्छ । अंशियारमध्ये कोही गर्भवती छ भने उनको भ्रुणले पनि अंशबन्डाको हक पाउँछ । परिवारभित्र कुरा मिलेर अंशबन्डा गर्दै हुनुहुन्छ भने जुनसुकै बेला मालपोत कार्यालयमा गएर अंशबन्डाका लागि रजिस्ट्रेसन गरी अंश लिने-दिने काम गर्न सकिन्छ । घरको मुख्य मान्छेले परिवार छुट्याउन चाहेमा पनि सजिलै अंशबन्डाको प्रक्रिया अघि सार्न सकिन्छ । यसरी कुरा मिलेको हकमा एकै दिनमा अंशबन्डाको काम सकिन्छ । मुख्य मान्छेले घरमा खान–लाउन नदिएको हुनाले वा राम्ररी नपालेको अवस्थामा भने अंशियारले अदालतमा गएर अंशको माग गर्न मिल्छ । घरमूलीले अंशबन्डा गर्न नचाहेमा वा मिलापत्र नगरेमा प्रक्रिया लम्बिन जान्छ । मुद्दा मामिलामा गए जिल्ला अदालतदेखि सर्वोच्च अदालत पुग्न सक्ने हुनाले अंशबन्डा हुन कति समय लाग्छ भनेर भन्न सकिँदैन । मुख मिलेको अवस्थामा धेरैमा दुई–तीन दिनमा अंशबन्डाको काम सकिन्छ ।

घरमूलीले अंश दिन्न भन्न पाइन्छ ?
सगोलको सम्पत्ति जसको नाममा छ उसले अरू अंशियारलाई अंश दिन्न भन्न पाइँदैन । अंशियारको मञ्जुरीबिना सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्नसमेत पाइँदैन । दाजुले अंश आफूले स्वआर्जन गरेको सम्पत्ति हो भनेर प्रमाण गर्न सकेमा भाइलाई दिन्न भन्न पाइन्छ । तर, बुबाआमाले भने आफ्नो सन्तानलाई अंश दिन्नँ भन्न पाइन्न ।

विवाहित छोरी तथा दिदीबहिनीले पनि परिवारको अंश पाउँछन् ?
०७२ सालपछि बिहे गरेका छोरीले पनि अंश पाउँछन् (विवाहित महिलाले आमाबुबाबाट अंश पाउने कानुन २०७२ सालमा बनेको थियो । यो कानुन बनेपछि बिहे गरेका विवाहित महिलाले पैत्तृक सम्पत्तिमा बराबर हक पाउने भएका हुन् । अंशबन्डा नभएको भए आमाबुबाले उनीहरूलाई पनि सम्पत्तिमा बराबर अंश दिनुपर्छ । ०७२ पछि बिहे भएका महिलाले अंश पाएका छैनन् भने जुनसुकै बेला दाजुभाइ (वा अन्य अंशियार) सँग अंश भाग माग्न पाउँछन् । ०७४ सालमा आएको देवानी संहिताले पनि विवाहित छोरीले बुबाआमा र श्रीमान् दुवैबाट अंश पाउने कानुनी व्यवस्था गरेको छ । आपसी मेलमिलाप गरेर अंश लिन्न नभनेसम्म दिदीबहिनीले पनि दाजुभाइले पाएबराबरको अंश दाबी गर्न मिल्छ ।

श्रीमान्सँग श्रीमतीले कस्तो अवस्थामा अंश दाबी गर्न सकिन्छ ?
श्रीमान् र श्रीमतीबीच सँगै सम्बन्ध स्थापित भइरहेको अवस्थामा सबै कमाएको सम्पत्ति वा ऋणमा बराबरको हक लाग्ने कानुनी व्यवस्था छ । श्रीमान् वा श्रीमतीमध्ये जोकोहीले एक-अर्काले खान-लाउन नदिएमा वा इज्जत आमतअनुसार नराखी हेलोहोचो गरेमा अंश माग गर्न मिल्छ । त्यसका लागि सम्बन्धित जिल्ला अदालतमा गएर फिराद (निवेदन र मुद्दा) दायर गर्नुपर्छ । अदालतले प्रतिवादीलाई बोलाएर सगोल सम्पत्तिको विवरण सङ्कलन गर्छ र सन्तान भएको हकमा सन्तानलाई पनि अंशियार मानेर आधा-आधा अंश र ऋण बाँडफाँड गरिदिन्छ ।

धेरै सन्तान हुँदा कसैलाई दिन्छु, कसैलाई दिन्न भन्न मिल्छ ?
मिल्दैन । जति जना सन्तान भए पनि सगोलको सम्पत्ति तथा ऋणमा सबै अंशियारको भाग लाग्ने कानुनी व्यवस्था छ । कुनै सन्तानले थोरै अंश लिन चाह्यो भने उनको मञ्जुरीमा थोरै अंश दिन मिल्छ । अन्यथा बराबर बाँडफाँड हुन्छ ।

बुबाले अंश नपाउँदै सन्तानले अंश दाबी गर्न पाउँछन् ?
एउटा पुस्तामा अंशबन्डा नहुन्जेल अर्को पुस्ताले अंश दाबी गर्न मिल्दैन । मुद्दा प¥यो भने अदालतले मूल पुस्ताका अंशियारलाई बोलाएर अंशबन्डा गराएपछि बल्ल नातिनातिना पुस्ताले आफ्नो बुबाको अंश दाबी गर्न मिल्छ । त्यसपछि बल्ल अंश पाउँछन् ।

बुबाले जग्गा दान गर्ने भनेर कागज बनाइसके भने सन्तानले हकदाबी गर्न मिल्छ ?
अचल सम्पत्तिलाई आफ्नो मनलाग्दी अरू कसैलाई दान दिन कानुनले रोकेको छ । बन्डा लाग्ने पैतृक सम्पत्ति सन्तानलाई नदिई दान गर्छु भन्ने अवस्था छैन । चल सम्पत्ति अर्थात् सुन, नगद छ भने घरव्यवहार चलाउन मूलीले सम्पत्ति प्रयोग गर्न पाउँछन् । अचल सम्पत्ति अर्थात् घरजग्गाको हकमा घर-व्यवहार चलाउन आधा सम्पत्ति बिक्री गर्नुपरे अंशियारको मञ्जुरी लिनुपर्दैन । आधाभन्दा बढी सम्पत्ति बिक्री गर्नुपर्दा अंशियारको मञ्जुरी लिन अनिवार्य हुन्छ । दान दिन लागेको थाहा पाए वा कागज नै गरेपछि पनि सन्तानले दाबी गर्न पाउँछ ।

नेपाली नागरिकता त्यागिसकेका व्यक्तिले परिवारबाट अंश लिन पाउँछ ?
विदेशको नागरिकता लिएपछि कानुनअनुसार नेपाली नागरिकता स्वतः खारेज हुन्छ । अंश नैसर्गिक अधिकार भएकाले विदेशी नागरिकता लिएको भरमा नेपालको अंश हक मर्दैन । यस मामलामा अंश लिने प्रक्रिया भने केही फरक हुन्छ । विदेशी नागरिकता लिएको नेपालीले अंश लिनुअघि गैरआवासीय नेपाली नागरिकको परिचयपत्र बनाउनुपर्छ । त्यसपछि मात्र अंशको स्वामित्व धारण गर्न सक्छ वा आफूले प्राप्त गर्नुपर्ने सम्पत्ति नेपालमै बसोवास गर्ने अरू कसैको नाममा हस्तान्तरण गरेर अंश लिन सकिन्छ ।

अंशबन्डा गर्दा सम्पत्ति लुकाएको अवस्थामा के हुन्छ ?
अंशबन्डा गर्दा कुनै सम्पत्ति लुकाएको पाएमा अंश दपोट गरेको ठहरिन्छ । अंश लुकाएको प्रमाणित भयो भनेपछि उनले अंशमा थप दाबी गर्न मिल्दैन । त्यसकारण जे-जति सम्पत्ति छ वा जे भएको हो त्यसको सत्यतथ्य अदालतसमक्ष पेस गरेमा न्याय अवश्य पाइन्छ ।