दूधको क्यान बोकेरै मासिक १७ हजार कमाइ

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १५:२४
  • सुनील श्रेष्ठ

विदुर, सदाझैँ झिसमिसेमै उठेर गाउँघरबाट दूध सङ्कलन गरी सदरमुकाम विदुरसम्म दूध पु¥याउँछन् खेमप्रसाद भट्ट । उनले विदुर नगरपालिका-१२ भट्ट गाउँस्थित किसानका घरबाट दूध सङ्कलन गरेर दूध डेरीसम्म पु¥याउन थालेको १५ वर्ष बितिसकेको छ ।

विदुरमा दूध पु¥याउन थालेकोचाहिँ ११ वर्ष भयो,’ उनले भने, ‘त्यसभन्दा पहिले अरू ठाउँमा प्लास्टिकका बट्टामा दूध राखी दूध पु¥याउने गरेको थिएँ ।’ करिब दुई घन्टाभन्दा बढी समय खर्चेर दिनहुँ दूधको क्यान बोकेर पु¥याउने गर्छन् । घरेलु विकास समिति कार्यालयबाट दूध प्रशोधनको तालिमसमेत लिएका उनले आफैँ दूधको फ्याट मात्रा चेकजाँच गर्ने, दूध सङ्कलन गर्ने अनि दूध डेरीसम्म पु¥याउने गर्छन् । गाउँघरको दूध पु¥याउन उनलाई सहकारी आवश्यक पर्दैन न त दक्ष प्राविधिक नै । आफ्नो हात जगन्नाथ भनेझैँ हातमा सीप छ उनको । ‘दूधको क्यान बोकेर सुरुको वर्ष महिनाको १५ सयमा पाउने गरेको थिएँ,’ उनले भने, ‘अहिले महिनाको १७ हजार कमाउँछु । क्यानमा दूध बोकेरै पाँचजनाको परिवार पालेको छु । घरखर्च धानेको छ । बिहान दूध बोक्छु, दिउँसो घर, खेतबारीमा समय खर्चने गरेको छु । दूधका लागि दुईवटा भैँसी पालेको छु । भैँसीलाई घाँसपात गर्छु ।’ उनीसँगै दूध पु¥याउन अरू दुईजना साथी छन् – महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट । तीनैजना लस्करै, सुसेल्दै, रमाइलो गर्दै दूधको क्यान बोकेर हिँड्ने गर्छन् । उनीहरूको विश्रामस्थल सिमचौरस्थित झोलुङ्गे पुलमा आएर हुने गर्दछ । विदुर नगरपालिका-४ र १२ जोड्ने झोलुङ्गे पुलसँगै एक सय मिटरको पक्की पुल बनिरहेको छ, पुलले उनीहरूलाई सहज हुने भएको बताउँछन् । ‘गाउँमै पसिना बगाएर आएको आम्दानीले म सन्तुष्ट छु,’ उनले भने, ‘सदरमुकामसम्म दूध लैजान सवारीसाधन गाउँसम्म मोटर बाटो पुगे पनि कच्ची बाटोले गर्दा वर्षामा मोटर नजाने भएकोले दूध बोकेरै ल्याउने गरेको हो ।’