विदुरको आफ्नै थप पाठ्यक्रममा पठन-पाठन विद्यार्थीको सङ्ख्या घट्दा दरबन्दी र विद्यालय मर्जको तयारी

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार ११:५१

त्रिशूली, नुवाकोटको विदुर नगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रममा शैक्षिक सत्र ०८० देखि पढाइ सुरु गरेको छ । नगरपालिकाले शैक्षिक सत्र ०७९ मा आधारभूत तह (कक्षा १ देखि ८ सम्म)को ‘हाम्रौ विदुर’ नामको स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरभित्र रहेका ६०

सामुदायिक र २५ संस्थागत विद्यालयलाई आधारभूत तहका लागि तयार पारिएको पाठ्यक्रम अनिवार्य पठन-पाठन गराउन निर्देशन गरिएको छ । नगरपालिकाको निर्णयअनुसार नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयले स्थानीय पाठ्यक्रमअनुसार थप पठन-पाठन सुरु गरिरहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख देवीप्रसाद अधिकारीले जानकारी दिए । पाठ्यक्रम निर्माणका आधारभूत मान्यतामा आधारित रहेर स्थानीय परिवेशमा केन्द्रित भएर निर्माण गरिएको पाठ्यक्रमको कार्यान्वयनले शिक्षण सिकाइमा शिक्षकलाई प्रत्यक्ष लाभ हुनेसमेत उनले बताए । नगरपालिकाले विद्यार्थीलाई नगरपालिकाको विस्तृत जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको मेयर राजन श्रेष्ठले बताए । ‘आधारभूत तहका विद्यार्थीका लागि सातवटा खण्ड समेटेर पाठ्यक्रम तयार पारी लागू गरेका छौँ,’ मेयर श्रेष्ठले भने, ‘ पाठ्यक्रमभित्र नगरपालिकाको परिचय र प्रशासनिक सेवा, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीयस्थल, नगरपालिकाको सामाजिक, सांस्कृतिक जनजीवन, कृषि, परम्परागत पेसा, स्थानीय सीप र प्रविधि, उद्योग–व्यवसाय तथा बजारीकरण, योग, परम्परागत उपचार पद्धति, स्काउट, रेडक्रस, सहकारी शिक्षा, जीवनोपयोगी सीप, सहर विकास, सुरक्षित विद्यालय वातावरण र विपत् व्यवस्थापनसम्बन्धी विषय समेटिएका छन् ।’ नगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम हाम्रो विदुर शिक्षण सहजीकरण पुस्तिका गत शैक्षिक वर्षमै तयार पारेको भए पनि सबै विद्यालयमा अनिवार्य पठन-पाठन गराउन सकेको थिएन । चालू शैक्षिक वर्ष ०८० मा स्थानीय पाठ्यक्रम अनिवार्य लागू गर्न मेयर श्रेष्ठले कार्यपालिकाको बैठकबाट निर्णय गराएर निर्देशन दिएका छन् ।

नगरपालिकाले विगत चार वर्षदेखि सामुदायिक विद्यालयको छवि सुधारका लागि सक्रियता देखाइरहेको छ । अभिभावकको चाहनाअनुसारको कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकसमेत सबै सामुदायिक विद्यालयलाई निःशुल्क उपलब्ध गराएको छ । सामुदायिक विद्यालय सुधार गर्ने योजनाअनुसार नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको छ । नगरभित्रका केही विद्यालयको पठन–पाठन प्रशंसायोग्य रहेकाले अभिभावकको रोजाइमा परेका छन् । नगरका पृथ्वी मावि, त्रिभुवन त्रिशूली मावि, भैरुम मावि, सहिद जगतप्रकाश मावि, चन्द्रज्योति मावि, चण्डेश्वरी मावि, सहिद भरत ढुंगाना स्मृति मावि, त्रिशूली आवि, सुन्दरा आवि, अन्नपूर्ण आवि, सुन्दरादेवी आविलगायत विद्यालय निजी (संस्थागत) विद्यालयमा भन्दा राम्रो पढाइ हुने भएकाले अभिभावकको रोजाइमा परेका छन् । यी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अधिकारीले जानकारी दिए । त्रित्रि मावि, पृथ्वी मावि, सहिद जगतप्रकाश माविमा विद्यार्थीको चाप थेग्न नसक्ने गरी बढिरहेकोसमेत उनले बताए । अभिभावकले सामुदायिक विद्यालयमा गुणस्तर सुधार देखिएकाले निजी विद्यालयबाट छोराछोरी झिकेर पढाउन मरिहत्ते गरिरहेका छन् । यस वर्ष सुरु भएको विद्यालय भर्ना अभियानमा लगभग पाँच सय विद्यार्थी बढे पनि ४६ विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको छ । भूकम्पपछि प्रायः सबै विद्यालयमा भौतिक पूर्वाधारभित्र पर्ने भवन, फर्निचर र शिक्षक दरबन्दी लगभग पर्याप्त भए पनि ४६ विद्यालयका भर्ना अभियानमा एकजना पनि विद्यार्थी नथपिएको नगरपालिकाले जानकारी दिएको छ । प्रारम्भिक भर्नाको तथ्याङ्कअनुसार नगरपालिकाभित्रका विद्यालयमा वैशाख महिनाभित्र चार सय ५० जना नयाँ विद्यार्थी थप भएका छन् । गत ०७९ को शैक्षिक सत्रमा ११ हजार तीन सय ६३ विद्यार्थी रहेकोमा यस शैक्षिक सत्रमा १० हजार आठ सय १९ विद्यार्थी सङ्ख्या कायम छ । यस वर्ष चार सय ४७ विद्यार्थी बढे पनि गत वर्षको भन्दा ६ सय ७२ विद्यार्थी घटेका छन् ।

यस वर्ष त्रित्रि माविले एक सय २५, पृथ्वी माविले ६०, सहिद जगतप्रकाश माविले ९५, चण्डेश्वरी माविले २०, भैरुम माविले २२ सहित भरत ढुंगाना माविले ३४, त्रिशूली आविले १५, चन्द्रज्योति माविले ३४ विद्यार्थी बढाएका छन् । यस वर्ष भर्ना अभियानको प्रारम्भिक विवरणअनुसार भैरवी माविमा १०, रणभुमेश्वर माविमा २०, क्षेत्रपाल आविमा १०, च्वाडी पब्लिक माविमा ९७, बच्छलादेवी माविमा ३३, भैरम माविमा २०, शुलक्षणा माविमा २३, सुन्दरा क्यौरेनी माविमा २८, सिंहदेवी आविमा २०, शान्ति कल्याण आविमा २५, सिद्धेश्वर आविमा २५, महेन्द्र माविमा २२, तिनधारे–पीपलडाँडा माविमा ३७, वीरेन्द्र माविमा ६३, संसारीदेवी आविमा २०, सिर्जना आविमा ३०, अजिङ्गरे माविमा १३, बागेश्वरी आविमा ३४, कन्यादेवी आविमा १८ सहित ४६ विद्यालयमा विद्यार्थी घटेका छन् । यस शैक्षिक सत्रमा नगरमा रहेका केही विद्यालयले विद्यार्थीको चाप थेग्न सकेनन् भने केही विद्यालयमा विद्यार्थी सङ्ख्या घटेकोले तह घटुवा र शिक्षक मिलान गर्नुपर्ने अवस्था रहेको छ । नगरपालिकाले विद्यार्थी घटेका ४६ विद्यालयबारे कार्यदल बनाएर अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन आएपछि अवस्था हेरेर दरबन्दी मिलान, विद्यालयको तह घटाउनेदेखि विद्यालय समायोजन गर्ने जानकारी उपमेयर प्रभा बोगटीले दिइन् ।