नेपाल टाट पल्टिन लागेको हो ?

  • ठाकुरप्रसाद पुडासैनी
  • ४ जेष्ठ २०८०, बिहीबार १२:५८

नेपाल दक्षिण एसियामा अवस्थित विश्वकै कमजोर आर्थिक अवस्था भएको देशमध्येको एउटा देश हो । आर्थिक अवस्था कमजोर रहे पनि प्राकृतिक स्रोत र साधनमा भने विश्वका थोरै मुलुकभित्र पर्छ । यो देश अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । नेपालको अर्थतन्त्र टाट पल्टने अवस्थामा रहेको छ भन्ने बहस चलिरहेको छ । देश कसरी टाट पल्टिन्छ र टाट पल्टेका देशले कस्तो आर्थिक नियति भोग्नुपर्छ भन्ने विषयमा छोटो चर्चा गर्ने प्रयास गरेको छु ।

देश टाट पल्टने भनेको के हो ?
कुनै पनि देशको आम्दानीभन्दा खर्च बढी हँुदै गएमा केही समयपछि उक्त देशका लागि आवश्यक खर्च आफ्नो आम्दानीबाट पु¥याउन सक्दैन । खर्च धान्नका लागि देशले पहिले स्वदेश र पछि विदेशबाट ऋण सापटी लिन्छ । उक्त ऋणको साँवा र ब्याजसहित देशले ऋणदातालाई फिर्ता गर्नुपर्दछ । त्यसका लागि देशले आफ्नो गार्हस्थ्य उत्पादनको आम्दानी कटाएर ऋण चुक्ता गर्नुपर्ने हुन्छ । यही अवस्था बढ्दै जाँदा देश ठूलो आर्थिक भुमरीमा फस्न जान्छ । उसको आम्दानीले कर्मचारीलाई तलब दिने र सर्वसाधारण जनतालाई दिँदै आएको सुविधासमेत कटौती गर्नुपर्ने अवस्था आउनु नै देश टाट पल्टनु हो ।

देश किन टाट पल्टन्छ ?
देशको अर्थतन्त्र कमजोर हँुदै जाने विभिन्न कारण रहेका हुन्छन् । राष्ट्रको उत्पादन न्यून हुँदै गएमा आम्दानी कम हुन्छ र खर्च यथावत् वा वृद्धि हँुदै गयो भने आयले खर्च गर्न पुग्दैन र दैनिक आवश्यक खर्च धान्न नसकेमा सरकारले पहिले आन्तरिक ऋण लिन्छ । देशमा पुँजीको अभाव भएमा चर्को ब्याजमा ऋण लिनुपर्ने हुन्छ । ऋणको साँवा र ब्याजको बोझ अर्थतन्त्रमा पर्न जान्छ । यसको कारणले गर्दा अर्थव्यवस्था थप भार पर्ने हुनाले देशको नियमित खर्च जुटाउन या थप मुद्रा निष्कासन गर्नुपर्छ या त विदेशी ऋण लिनुपर्ने हुन्छ । IMF, WORLD BANK, ADB जस्ता संस्था र अमेरिका, जापान, बेलायत, चीनजस्ता धनी देशले गरिब राष्ट्रलाई ऋण सापटी दिन्छन्, तर ती संस्था र राष्ट्रले गरिब राष्ट्रलाई सित्तैमा ऋण दिँदैनन् । उनीहरूले भनेको सर्त मानेको खण्डमा मात्र ऋण दिन्छन्, नमानेमा ऋण दिँदैनन् । यसरी धनी देशले गरिब देशलाई आर्थिक उपनिवेश बनाउने गरेका छन् । यसका लागि उनीहरूले जसो भन्यो उसै मान्ने सरकारलाई सत्तामा ल्याउनका लागि प्रत्यक्ष हस्तक्षेप पनि गर्ने गर्दछन् । ऋण लिएबापत राष्ट्रको सार्वभौमिकतामाथि उनीहरूको नाङ्गो हस्तक्षेप हुन्छ । प्राकृतिक सम्पदा आफ्नो हातमा लिन्छन् र कुनै-कुनै अवस्थामा देशको कुनै खास भू-भाग आफ्नो नियन्त्रणमा पनि लिन्छन् । वैदेशिक ऋणको भारले गर्दा चौतर्फी विदेशी हस्तक्षेप बढ्दछ र राष्ट्र असफल बन्दछ । देशमा स्थायी प्रकृतिको सरकार नहुँदा राजनीतिकर्मी र कर्मचारीतन्त्र भ्रष्टाचारमा निर्लिप्त हुने, सुशासनको प्रत्याभूति नहुने र हरक्षेत्रमा बचौलियाको बिगबिगी हुनाले केही मुट्ठीभरका व्यक्तिको हातमा राष्ट्रको धन सोरिन्छ । यसले देशलाई खोक्रो बनाउँछ । कतिपय शासनसत्तामा बस्नेले विदेशी मालिकको इसारामा अर्थनीति देश सुहाउँदो बनाउँदैनन् र देश टाट उल्टिन पुग्दछ । बाह्य राष्ट्रको आक्रमण वा आन्तरिक गृहयुद्धका कारणले गर्दा पनि देशको आन्तरिक स्रोत र वैदेशिक ऋण उठाएर भए पनि युद्धका लागि हात-हतियार र खर-खजाना किन्नका लागि ठूलो धनराशि खर्च गर्नुपर्दा एकातिर उद्योगधन्दा बन्द भई बेरोजगारी बढ्ने र अर्कोतर्फ खर्च वृद्धि हुँदा देश टाट पल्टन पुग्दछ । प्रथम विश्व युद्धपछि जर्मनी यही कारणले टाट उल्टेको हो । आयात–निर्यातको असन्तुलन, अनिकाल, भोकमरी, महामारी, भूकम्पजस्ता प्राकृतिक प्रकोपको समयमा पनि देशको आम्दानीभन्दा खर्च धेरै माथि हुने हुनाले देश टाट पल्टिन सक्दछन् ।

नेपालको अर्थतन्त्र बिरामी भएको हो ?
नेपाल चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका देशको बीचमा रहेको एउटा सानो राष्ट्र हो । चीनसँगको सीमा विकटताको कारणले गर्दा भारतप्रति बढी आश्रित हुनु नेपालको भूराजनीतिक बाध्यता पनि हो । नेपालको यो बाध्यतालाई बुझेर नै भारतले नेपालप्रति जहिले पनि लाभमुखी नीति लिने गरेको र नेपाली राजनीतिले पनि भारतलाई बढी भर गरेको देखिन्छ । तर, भारतको नेपाल नीति जहिले पनि ग्रामीण साहुले उसका ऋणीलाई गरेजस्तो हेपाहा र चेपुवा प्रवृत्तिको देखिन्छ । नेपालमा भएका सबै परिवर्तनमा भारतको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका विगतदेखि रहिरहेको छ । खासगरी ०४६ सालको ऐतिहासिक परिवर्तनपछि पनि नेपालले भारतप्रति गुलामी गर्ने किसिमको नीति नै अङ्गीकार गर्दै आयो । स्वतन्त्र ढङ्गले आफ्नै जगमा टेकेर सबल अर्थतन्त्र निर्माणको दिशामा जान नेपाल सकेको भए सायद आजको अवस्था व्यहोर्नुपर्ने थिएन । आन्तरिक गृहयुद्धले थिलथिलो भएको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै भूकम्पको महाविनाश र विश्वव्यापी कोभिड-१९ को दुष्चक्रभित्र नेपाल फस्न पुग्यो । यसबीचमा अर्थतन्त्रलाई चलायमान गराउने नयाँ उद्योग-धन्दा र व्यवसायका क्षेत्र त खुल्दै खुलेनन् भएका उद्योग, व्यवसाय पनि धराशायी हुन पुगे । नेपाल भूकम्प र कोभिडबाट प्राप्त राहतमा आश्रित मुलुक बन्यो । कोभिडको अन्तर्राष्ट्रिय प्रभावले गर्दा विदेशमा गई काम गरेका नेपालीको रोजीरोटी बन्द हुन पुग्यो । उत्पादन, रोजगारी र आम्दानी गुम्दै गए पनि आयातमा कुनै कमी भएन । विदेशी मुद्रा आर्जनको स्रोतमा भएको कमी र आयात वृद्धि तथा निर्यातमा भएको ह्रासले देशमा भएको विदेशी मुद्राको सञ्चितिले आयात खर्चको दुई महिना पनि नधान्ने स्थिति देखाप¥यो । अर्कोतर्फ भ्रष्टाचार र कुशासन नियन्त्रण गर्नुको साटो आफन्त र आसेपासेलाई नवबिचौलियाको रूपमा नियुक्त गरी राज्यको अकुत सम्पत्ति आर्जन गर्नेतर्फ राजनीतिक र प्रशासनिक नेतृत्व निर्लिप्त भएर लागिरह्यो । यसले गर्दा परिचालनमा रहनुपर्ने पुँजीको ठूलो हिस्सा भूमिगत हुन पुगेर परिचालनबाट बाहिरिन पुग्यो र बजारमा तरलताको व्यापक अभाव देखिन थाल्यो । पुँजीको आपूर्तिमा आएको कमीले गर्दा लगानीयोग्य पुँजीको मूल्य वा ब्याजदरमा ठूलो दबाब पर्न गयो । अत्यधिक ब्याजदरले गर्दा उत्पादित वस्तु वा सेवाको लागत अत्यधिक वृद्धि हुन गई उद्योग-धन्दा सञ्चालन नभई बन्द हुने अवस्थामा पुग्यो । वर्तमान अवस्थालाई अवलोकन गर्दा स्पष्ट रूपमा के देखिन्छ भने नेपालको आन्तरिक आम्दानीले आन्तरिक खर्च धान्न नसक्ने, अत्यधिक वैदेशिक ऋणको दबाब, न्यून उत्पादन तथा निर्यात, अत्यधिक युवा पलायन, आयातीत वस्तु वा सेवाको अत्यधिक निर्भरताले गर्दा नेपालको अर्थतन्त्र टाट पल्टने दिशामा उन्मुख रहेको स्पष्ट रूपमा देख्न सकिन्छ ।

टाट पल्टिनबाट अब कसरी जोगिने ?
नेपाल कृषिमा आधारित सानो अर्थव्यवस्था भएको मुलुक हो । परम्परागत कृषिमा आधारित अर्थतन्त्रको चरित्र जीवन निर्वाहमुखी रहने भएकाले विश्व अर्थतन्त्रमा भएको उतारचढावले यसलाई ठूलो असर गर्दैन भन्ने तर्क पनि रहेको छ, तर यातायात, सञ्चार र प्रविधिको विकासले गर्दा नेपाल पनि विश्व अर्थतन्त्रबाट अलग भएर रहन सक्दैन । नेपालको अर्थतन्त्र सुधार गर्ने मुख्य आधार कृषि क्षेत्रको सुधार नै हो । कृषिमा आधुनिकीकरण, व्यवस्थित बजारीकरण, कृषियोग्य जमिनको कृषकलाई पुनर्वितरण, मल, बिउ र कृषि सामग्रीको सजिलो उपलब्धताले युवा आकर्षण बढाउन सके सबल अर्थतन्त्र निर्माण हुन सक्दछ । नेपालमा स्थापना भएका उद्योगधन्दाको संरक्षण गर्नु अहिलेको मुख्य चुनौती हो । चर्को ब्याजले गर्दा नेपालको प्रायः सबै उद्योगको अवस्था सङ्कटग्रस्त रहेको छ । नेपाल सरकारले तत्काल उपयुक्त उपायद्वारा उद्योगको संरक्षण र वैदेशिक लगानी आकर्षित गरी आयात प्रतिस्थापनद्वारा अर्थतन्त्र सुधार गर्न कोसिस गर्नु आवश्यक छ । पर्यटन प्रवद्र्धनमार्फत नेपालले भारत, चीन र अन्य मुलुकबाट पर्यटक भित्र्याएर वैदेशिक मुद्राको सञ्चिति बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । नेपालले आन्तरिक खपत वृद्धि गर्दै भारत, चीन, बंगलादेशलगायतका देशमा जलविद्युत् निर्यातका लागि आवश्यक पहल गर्न ढिला गर्नुहुँदैन । वैदेशिक रोजगारीलाई दुरुत्साहन गर्ने होइन कि दक्ष कामदार बढीभन्दा बढी उत्पादन गरी धेरै आय-आर्जन गर्न सक्ने नेपाली दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने वातावरण तयार गर्नु उपयुक्त हुन्छ । अध्ययनका लागि विदेश जाने नाममा डाक्टरी, इन्जिनियरिङ, सिए, आइटी अध्ययन गर्नका लागि बर्सेनि करोडौँ विदेशी मुद्रा विदेश बाहिरिने गरेको छ । त्यसलाई रोक्नका लागि सरकारले स्वदेशमा नै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । आयातीत वस्तुको उपभोगलाई निरुत्साहित गरी स्वदेशी वस्त वा सेवा उपभोगबाट पनि हामीले आफ्नो देशबाट बाहिरिने विदेशी मुद्रा कम गरी यो सङ्कटबाट मुलुकलाई जोगाउन मद्दत गर्न सक्दछौँ । महँगा गाडी, मोबाइल, कस्मेटिक्स, खेलौनालगायत दैनिक जनजीवनमा आवश्यक नपर्ने सामान केही समयलाई आयातमा प्रतिबन्द लगाउनुपर्छ । यस्ता विलासिताका सामान उपभोग नगरे पनि हामीलाई केही फरक पर्दैन । त्यसका लागि देशमा स्थिर सरकारको आवश्यकता पर्दछ ।

अब के हुन्छ ?
खुला अर्थतन्त्रलाई कुमालेको चक्रसँग तुलना गर्न सकिन्छ । यसमा तल–माथि वा उन्नति–अवनति हुनुलाई स्वाभाविक मानिन्छ । अमेरिका, बेलायत, जापान, कोरियाजस्ता विशाल अर्थतन्त्र भएका देश पनि कतिपयपटक टाट उल्टेका छन् । अब उठ्नै नसक्ने गरी ढल्यो भनेका देश पनि बिस्तारै धुलो टकटक्याउँदै उठेर फेरि आर्थिक महाशक्तिको रूपमा स्थापित भएका छन् । नेपालले खासै धेरै अत्तालिनुपर्ने अवस्था रहेको छैन । अहिलेसम्मको स्थिति हेर्दा करिब १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बैंकमा लगानीयोग्य तरलता पर्याप्त रहेको छ भनिएको छ । ब्याजदर क्रमशः घट्दै जान लागेको छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको रकम आशालाग्दो गरी बढ्दै गएको छ । यो सरकारले उपयुक्त समयमा वित्तीय र मौद्रिक उपकरणमार्फत महँगी नियन्त्रण गर्ने, करको दर व्यवस्थित गर्ने, सार्वजनिक फजुल खर्च कटौती गर्ने, पाँच सय र एक हजार रुपैयाँ दरका नोटको नोटबन्दी गर्ने, प्रचलनबाट बाहिर रहेका मुद्राको खोजी गर्ने, भ्रष्टाचारमा शून्यसहनशीलता अपनाई भ्रष्टचारीले आर्जन गरेको सम्पत्ति जफत गर्नेजस्ता कार्य गर्न सकेको खण्डमा नेपालको अर्थतन्त्रले नयाँ बाटो पहिल्याउने अपेक्षा गर्न सकिन्छ ।

(लेखक : नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारका सहप्राध्यापक हुन् ।)

thakurpudasaini2017@gmail.com