स्थानीय पाठ्यक्रम निर्माण गर्न कार्यशाला सम्पन्न

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:५५
  • सरस्वती न्यौपाने

धुन्चे, उत्तरगया गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोट गर्न गत हप्ता कार्यशाला सम्पन्न भएको छ । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयारी गर्न र विषयवस्तु छनोट गर्न कार्यशालाको आयोजना गरिएको हो ।

पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोटसम्बन्धी कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि छलफल गरिएको थियो । विषयविज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माणविज्ञसहितको कार्यशाला गरिएको उत्तरगया गाउँपालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रम निर्माणका सवालमा धेरै बाधा-व्यवधान आइपर्ने र तिनको समाधानका लागि प्राविधिक, विशेषज्ञ, शिक्षाविद्, शिक्षक, शैक्षिक सामग्री आदिको समुचित प्रयोग र परिचालन आवश्यक रहेको सहभागीले सुझाएका छन् । कार्यशालामा स्थानीय पाठ्यक्रम विकास गर्दा उत्तरगया गाउँपालिकामा आवश्यकता पहिचान गरी स्थानीय तहका सरोकारवाला, विज्ञ, कुन-कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ, सोको आधार, आवश्यकता पहिचान गर्ने क्षेत्र, सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यावसायिक तथा गैरव्यावसायिक क्षेत्रलाई जोड दिइने पालिकाका अध्यक्ष माधव अर्यालले बताए । उत्तरगया गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको औँल्याउँदै यसको निर्माण र कार्यान्वयनमा समस्या पनि रहेको पालिकाका उपाध्यक्ष चमेली गुरुङले बताइन् ।

छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले सबैको सहकार्यमा सफलता हात पार्न सकिने बताए । उत्तरगया गाउँ शिक्षा समितिको निर्णयबमोजिम गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ अनुरूप कक्षा एकदेखि आठसम्मको पाठ्यक्रम निर्माणका लागि पहिलो चरणमा सरोकारवालासँग कार्यशाला सम्पन्न गरेको बताए । विद्यार्थीको उमेर, अवस्था, बालमनोविज्ञान, सिकाइस्तर, कक्षातह, विषयवस्तुको प्रकृति, स्रोत र साधनको उपलब्धता र उपयोगजस्ता कुरालाई ध्यान दिइने शिक्षा अधिकृत प्रवित्रा शर्मा न्यौपानेले जानकारी दिइन् । उत्तरगया गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष, क्रियाशील राजनीतिक दलका प्रतिनिधिका तर्फबाट नेपाली काङ्ग्रेस जिल्ला पार्टी सचिव उत्तम थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका रसुवा जिल्ला सहइन्चार्ज मेघनाथ घिमिरे सहभागी रहेको कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा सहसंयोजक चूडामणि भट्टराईले बताए ।

विश्वव्यापी रूपमा सोचदेखि स्थानीय रूपमा कार्यान्वयनमा ल्याऊ भन्ने मध्यमार्गी, समन्वयकारी अवधारणालाई मूर्तरूप दिन स्थानीय पाठ्यक्रमको आवश्यकता रहेको र गुणस्तरीय शिक्षाको महत्वपूर्ण आयामको रूपमा पाठ्यक्रमका विषयवस्तुलाई सान्दर्भिक गराउनुपर्ने साथै विभिन्न स्थानीय, सांस्कृतिक, सामाजिक स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई प्रोत्साहन गर्न स्थानीय पाठ्यक्रम कार्यान्वयनको आवश्यक रहेको सहजकर्ता विज्ञ पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुङ्गानाले बताए ।