रजनीको साउदीमा श्रीमान् बितेपछि साथी बनेको चुरोट मनोपरामर्शपछि छुट्यो

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १२:५६
  • नीरु सुचिकार

‘न बाँच्न मन थियो, न त मर्न नै सक्थेँ,’ रजनी तामाङ लामो सास तान्दै भन्छिन्, ‘म त हामफाल्न पनि गएकी हुँ, तर छोराछोरी सम्झिएँ, त्यसपछि मेरो साथी चुरोट भयो, दिनमा म कम्तीमा पनि २५/२६ वटा चुरोट तान्थेँ ।’

धन कमाउन गएका श्रीमान्को परदेशी भूमिमा प्राण गएको सुनेका दिनदेखि करिब तीन वर्षसम्म रजनीको जीवनको हाल यस्तै रह्यो । हरदम श्रीमान्कै यादले छटपटाउँथिन् । बेलाबेला सास रोकिएलाझैँ लाग्थ्यो रजनीलाई । निद्रा त श्रीमान् सधैँका लागि निदाएकै दिनदेखि आँखाबाट हरायो । ‘मनमा अनेक कुरा खेल्ने, झपक्क आँखा झकाए भने पनि तर्सिएर ब्युँझिने, म त रातभरिजसो बाहिर/भित्र गर्ने, चुरोट खाने मात्र गर्थेँ,’ रजनी आफ्नो हाल सुनाउँछिन् । डाक्टरलाई भेटेर औषधि पनि नियमित खाइन् । तर, औषधिले आत्तिएको मनलाई राहत त दियो, तर हराएको मनको आत्मबल फर्किएन । सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत मनोपरामर्श पाएपछि भने अहिले रजनीले शोकलाई शक्तिमा बदलेकी छिन् । उनी भन्छिन्, ‘मेरो जीवनसाथी नै नहुँदा पीडा त हुन्छ, तर पीडामा पनि अहिले शक्ति छ ।’

रजनीसँगको पहिलो भेट
सामी परियोजनाको वैदेशिक रोजगारीको क्षेत्रमा गर्ने विभिन्न काममध्ये एक काम परदेशी र उनीहरूका परिवारलाई मनोपरामर्श प्रदान गर्नु पनि हो । यो कुराबारे जानकार रजनीको गाउँका वडा प्रतिनिधिले श्रीमान् गुमाएपछि विक्षिप्त रजनीबारे परियोजनामा जानकारी गराए । वडा प्रतिनिधिले नै खबर गरेपछि परियोजनाको टिम ०७८ माघको २१ गते शिवपुरी गाउँपालिका-४ मा पर्ने रजनी तामाङको घर पुग्यो । बिहान ११ बजेको थियो । उनको आँगनमा अरू मानिस पनि थिए । तर, रजनी भने एकतमासले चुरोट तान्दै थिइन् । ओठ चरचरी फुटेका । फुङ्ग उडेको अनुहार । कहिलेदेखि नकोरेकोझैँ देखिने कपाल । रजनीको अनुहारमा पीडाका भाव प्रस्ट देखिन्थ्यो । उनको मनको कुरा सुन्न गएका हामीसँग केहीबेरको कुराकानीपछि रजनी खुल्न थालिन् । धन कमाउन गएका श्रीमान् बाकसमा फर्किएको दिनदेखि उनको सौभाग्यका रङ ३३ वर्षकै उमेरमा खोसियो । दुई छोराछोरी ११ र ७ वर्षका छन् । छोरा र छोरी स्याउरेभूमि माविमा पढ्छन् । ३३ वर्षीय श्रीमान् राजु तामाङ ०७३ साल जेठमा साउदी गएका थिए । श्रीमान् परदेशमा कमाउने र रजनीले घर बालबच्चाको रेखदेख गर्ने गर्थे । झन्डै दुई वर्ष जीवन सामान्य रूपमा नै बित्यो । ‘मलाई त आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, यतै दुःख गरौँला दुईजना सँगै बसौँला पनि भनेको हो, तर केही सपना बाँकी थिए,’ रजनी चुरोटको सर्को तान्दै भन्छिन् ‘हाम्रो भाग्यमा साथमा बस्न लेखेकै रहेनछ ।’

जब बिहान फोन आएन
हरेक दिन बिहान उठ्नासाथ श्रीमान्को फोन आउँथ्यो रजनीलाई । तर, ०७५ वैशाख २५ गते भने अचम्मै भयो । दिउँसोको ३ बजिसक्दा पनि राजुले फोन गरेनन् । ‘विदेश गएका दिनदेखि त्यति लामो समयसम्म फोन नगरेको कुनै दिन नै थिएन, आज के भयो किन फोन आएन भनेर खुलदुली भयो,’ त्यो कालो दिनको सम्झना गर्दै रजनी भन्छिन्, ‘यतैबाट फोन लगाएँ, तर फोन नै लागेन ।’ यताबाट गर्दा पनि फोन नलागेपछि भने रजनीको मन आत्तियो । राम्रो-नराम्रो सोचिन्क – तै काममा व्यस्त भएर पो कि । आफ्नो मन केही समयलाई त बुझाइन् । तर, हुने हार दैव नटार भनेझैँ दुई दिनपछि रजनीले कल्पनै नगरेको खबर सुन्नुप¥यो । श्रीमान् राजुको साउदीमा दुर्घटनामा परी ज्यान गएको थियो । ‘दुई दिनपछि त श्रीमान् यो संसारमै नभएको खबर सुन्नुप¥यो, मलाई त सपना हो कि विपनाझैँ लाग्यो, दिमागले खबर सुने पनि मनले त शव आँगनमा नआउँदासम्म पत्याउन मानेकै थिएन,’ रजनी भक्कानिइन् ।

१६ दिनपछि अर्थात् ०७५ जेठको दोस्रो साता राजुको शव घरमा आइपुग्यो । अब भने सत्य आफ्नै आँखाअगाडि थियो । बन्द बाकसमा निदाएर आएका श्रीमान्लाई आफ्नै आँखाले देखेपछि भने रजनीलाई टेकेको जमिन एकाएक भासिएझैँ भयो । ‘त्यो दिन त मलाई पनि यो संसारमा बाँच्न मन थिएन, खबर सुनेकै दिन पनि म हाम फालेर मर्छु भनेर गएकी थिएँ, तर बालबच्चा सम्झिएँ,’ रजनी मलिन स्वरमा भन्छिन्, ‘मेरो श्रीमान् पनि त चाहेर मरेका होइनन्, मैले पनि ज्यान फालेँ भने त छोराछोरीको पाप लाग्छ, उनीहरूले दुःख पाउँछन् भन्ने सोच आयो, नत्र आज म यो संसारमा हुने नै थिइनँ ।’ जसोतसो रजनीले आत्महत्याको सोचबाट त आफूलाई जोगाइन् । तर, मन सम्हाल्न गाह्रो भयो । सास फेर्न गाह्रो हुने, छटपटी हुने, मन आत्तिने, कसैको बोली सुन्न मन नलाग्ने, भिडभाड र सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, मनमा कुरा खेलिरहने, छोराछोरी बोलेको सुन्दा पनि रिस उठ्ने समस्या देखिन थाल्यो । रातभरि निदाउन नसकेपछि रजनीले चुरोट तान्न थालिन् । चुरोटको धुवाँसँगै टोलाएर कहिलेकाहीँ त घण्टौँ पनि बिताउने गरेको रजनी बताउँछिन् । ‘चुरोट तान्दा मन भुलेझैँ लाग्थ्यो, त्यसैले पनि चुरोट त म यति तान्थेँ कि त्यसको हिसाब नै छैन,’ रजनी ती दिन सम्झँदै भन्छिन् । यो समस्या कम हुनुको साटो झन् बढ्दै गयो । करिब आठ महिना यसरी नै बितेपछि भने दिदीले रजनीलाई डाक्टरकोमा जान सुझाइन् । ‘काठमाडौंमा गएर एकजना डाक्टरलाई भेटेँ, उहाँले डिप्रेसन भएको भन्नुभयो, उहाँले नै भिटामिनसहित नौ थरीका औषधि लेखिदिनुभयो,’ रजनी भन्छिन्, ‘मेरो दैनिकीमा चुरोटसँगै औषधि पनि थपियो ।’ तर, चुरोटजस्तो तान्दा मात्र होइन रजनीलाई औषधि खान थालेपछि भने केही राहत मिल्यो ।

फलोअप नगर्दा समस्या
श्रीमान्को मृत्युको पीडाले मात्र होइन, बिस्तारै रजनीलाई आर्थिक समस्याले पनि सताउन थाल्यो । वैदेशिक रोजगार बोर्डबाट पाएको सात लाख र बिमाबापतको पाँच लाख गरी १२ लाख रुपैयाँ आर्थिक सहायता त श्रीमान्को मृत्युपछि पाएकी थिइन् । तर, लगभग पाँच लाख श्रीमान्को अन्तिम संस्कारलगायतको कर्म गर्दा सकियो । बाँकी रहेको कतिपय पैसा आफन्तीले चलाए । तर, फिर्ता दिएनन् । ‘मेरो श्रीमान्को मृत्युको बदलामा आएको त्यो पैसा आफ्नैले खाइदेलान् भन्ने मैले सोचेकै थिइनँ, त्यस्तो सोचेको भए त किन दिन्थेँ होला र,’ रजनी भन्छिन्, ‘मान्छे चिन्न गाह्रो रहेछ ।’ रजनीलाई दैनिक घरखर्च चलाउनसमेत मुस्किल हुन थाल्यो । यता खाइरहेको औषधि सकियो । डाक्टरलाई पुनः भेट्ने समय आयो । तर, साथमा रकम नभएपछि फलोअपमा जान सकिनन् । खाइरहेको औषधि एक्कासि छाडेपछि रजनीलाई पुरानै समस्या बल्झन थाल्यो । ‘मुटु नै भुकभुक गरिरहेको छ । हेर्नु न मलाई त मुटु नै बाहिर निस्केलाजस्तो भइरहेको छ,’ रजनीले हामीसँगको पहिलो भेटमा सुनाइन् ।

सामीको समन्वय
दुःखमा मल्हम लगाउने अरू उपाय केही नभएपछि मनोपरामर्श रजनीको समस्याको औषध बन्यो । उनको बिस्तृत जानकारी पाएपछि मनोपरामर्शकर्ता रजनीले नियमित भेट्न थालिन् । यसका साथै रजनीको नाममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विदेशबाट एक लाख ४७ हजार रुपैयाँ आएको जानकारी आप्रवासी स्रोत केन्द्रमा प्राप्त भयो । केन्द्रले रजनीलाई त्यो रकम लिन चाहिने आवश्यक कागजात जुटाउन सहयोग र समन्वय गरिदियो । त्यसपछि रजनीले ०७७ फागुन २ गते प्रशासन कार्यालयबाट रकम प्राप्त गरिन् । रकम पाउनासाथ रजनी उपचारका लागि काठमाडौं गइन् । काठमाडौंमा डाक्टरलाई भेटेर फर्किएपछि पनि सामीमार्फत मनोपरामर्शकर्ताले उनीसँग नियमित भेटघाट जारी राखे । ‘नियमित मनोपरामर्श पाएपछि त मलाई निकै हल्का महसुस हुन थाल्यो, मानिस जन्मनु र मर्नु सामान्य प्रक्रिया रहेछ भन्ने सोच आउन थाल्यो,’ रजनी विगत सुनाउँछिन् । ११ पटकको प्रत्यक्ष भेटघाट र मनोपरामर्शपछि भने रजनीको सोच मात्र होइन, दैनिकी नै फेरिन थाल्यो । श्रीमानले संसार छाडेपछि साथीको रूपमा आएको चुरोट खाने बानी मनोपरामर्शपछि छोडिन् । डाक्टरले लेखेको नौवटा नियमति खानुपर्ने औषधिबाट अहिले तीनवटामा झरेको छ । ‘तपाईंहरूसँग भेट्दा म त्यति धेरै औषधि खान्थेँ र पनि मेरो हालत खराब थियो, तर अहिले औषधि कम गर्दा पनि म ठीक छु,’ रजनी खुसी हुँदै भन्छिन्, ‘औषधिले मात्र होइन, कमजोर भएको मनलाई बलियो बनाउन त परामर्शले ठूलो काम ग¥यो ।’

रजनीमा आएको परिवर्तन र सकारात्मक सोचको डाक्टरले पनि प्रशंसा गरेको उनी बताउँछिन् । ‘हेर्दाहेर्दै भित्ताको ढुङ्गामा मान्छे देख्थेँ, त्यही ढुङ्गामा श्रीमान्को आकृति बन्थ्यो, आँखाबाट आँसु झथ्र्यो, बेहोस् जस्तै हुन्थे, तर अहिले त त्यो भित्ताको ढुङ्गालाई ढुङ्गा मात्रै देख्छु,’ रजनी आफूमा आएको सुधार बताउँछन् । आजभोलि रजनीलाई लाग्छ, ‘संसार छाडेर जानेको सम्झनामा जीवित रहेका छोराछोरीको बिजोग पार्न नहुने रहेछ ।’ उनमा छोराछोरीका लागि बुबा र आमा दुवै बनेर जिउने आँट पलाएको छ । पीडाको दलदलमा डुबेको रजनीको जीवनले नयाँ लय लिएको छ । सँगै जिउने सँगै मर्ने कसम खाएको मेरो जिन्दगीको साथीको सम्झना त कति आउँछ कति, तर अहिले फरक यही छ कि पहिलेजस्तो सम्झनाले मलाई पागल बनाउँदैन, यो मनलाई गलाउँदैन । जीवनका हरेक दुःख र पीडासँग लड्ने साहस उनमा अहिले थपिएको छ ।

(उनी सुरक्षित आप्रवासन सामी कार्यक्रम नुवाकोट संयोजक हुन् ।)