१४४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • त्रिशूली प्रवाह
  • १ असार २०८०, शुक्रबार १३:३९
  • राजेन्द्र बस्नेत

गजुरी, धादिङको नीलकण्ठ नगरपालिका-११ का सुनील सुनार अहिले मणिपाल क्याम्पस पोखरामा एमबिबिएस पढ्दै छन् । गत वर्ष पनि नाम निस्केपछि आर्थिक अभावकै कारण पढ्न नसकेको बताउने सुनारले यो वर्षबाट दुःखजिलोसँग आर्थिक व्यवस्थापन गर्दै छन् । उनले भने, ‘आर्थिक अभावकै कारण पढ्न नपाएको तितो अतीत बिर्सन सकेको छैन । सात वर्ष हुँदा बुबा गुमाएँ । निकै दुःख गरेर मलाई आमाले लालन-पालन गर्दै पढाउनुभयो । दुःखै-दुःखमा हुर्केको मलाई भोलिको भविष्य सुन्दर बनाउन नगरपालिकाले छात्रवृत्तिस्वरूप दिएको वार्षिक ८० हजारले मेरो डाक्टर बन्ने सपना पूरा हुनेछ ।’

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नीलकण्ठ नगरपालिकाका विभिन्न तहमा अध्ययन गरिरहेका एक सय ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । नीलकण्ठ नगरपालिका-७ का प्रकाश विश्वकर्मा छात्रवृत्तिले पढाइ निरन्तर गर्न सहज बनेको बताउँछन् । उनी भन्छन्, ‘आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यता छ । नगरपालिकाले छात्रवृत्ति दियो, पढाइमा सहज हुने भयो । यो कार्यक्रम निरन्तर भए हामीजस्ता गरिब र जेहेनदार विद्यार्थीले आर्थिक अभावकै कारण पढाइ छाड्नपर्ने थिएन ।’ नगरपालिकाले विद्यार्थीको शैक्षिक क्षेत्र र आवश्यकताको मध्यनजर गरी छात्रवृत्ति प्रदान गर्ने गरेको छ । सुनील सुनार, रेशु विकले ८० हजार र सिजा विकले ४० हजार पाएका छन् । प्राविधिकतर्फका १० जनाले २५ हजार पाएका छन् । अप्राविधिकतर्फ कक्षा ११, १२ मा अध्ययनका लागि वार्षिक ६ हजार, स्नातक तह अध्यायनका लागि आठ हजार र स्नातकोत्तर तह अध्ययनका लागि वार्षिक १२ हजार दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्तिमा पाएको रकम अध्ययनकै लागि प्रयोग गर्न मेयर ढुङ्गानाले विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन् । ‘जातीय छुवाछुत ऐनमा नभए पनि व्यवहारमा देखिएका छन्,’ उनले भने, ‘दलित भनेर हीनताबोध गर्ने होइन । अवसर खोजेर अघि बढ्ने हो । समस्या भए नगरपालिकालाई जानकारी गराउनुस् । समाधान र सहकार्यमा नगरपालिकाले सहयोग गर्छ । बिदेसिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न व्यावहारिक शिक्षामा नगरपालिकाले जोड दिएको छ ।’ ‘दुई हजार एक सय शुल्क तिर्न नसकेर धादिङकै एक विद्यार्थीले ज्यान गुमाउनुप¥यो । सरकारले निःशुल्क शिक्षा भने पनि व्यवहारमा ल्याउन सकेको छैन । तर, शुल्क तिर्न नसकेर पढाइ छाड्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो,’ उपप्रमुख दीपक विश्वकर्माले भने, ‘अब जातीय छुवाछुत र शैक्षिक सुधारका लागि रणनीतिक योजना बनाएर नगरपालिका अघि बढ्छ । निःशुल्क शिक्षा हाम्रो जोड हो ।’