वडाध्यक्ष अक्षयकोषबाट ५५ जनालाई छात्रवृत्ति

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १४:३५
  • राजेन्द्र बस्नेत

गजुरी, कुनै सरकारी कोषबाट नभई ०७९ सालमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिका-३ का स्वतन्त्र उम्मेदवारबाट निर्वाचित वडाध्यक्षले स्थापना गरेको अक्षय कोषबाट शनिबार विपन्न परिवारका ५५ जना विद्यार्थीलाई स्टेसनरी, झोला र पोसाक वितरण गरिएको छ ।

राजकुमार श्रेष्ठ (डाँडाघरे)ले वडाध्यक्षमा निर्वाचित भएपछि आफूले पाउने सरकारी तलब, सुविधा, भत्ता सबै सामाजिक काममा नै खर्च गर्ने भन्दै वडाध्यक्ष अक्षयकोष घोषण गरेका थिए । वडाध्यक्ष श्रेष्ठले अध्यक्षकोष घोषणा गरेको केही मिनेटमा श्रेष्ठलाई निर्वाचनमा समर्थन गर्ने समाजसेवी तथा व्यवसायीले २०-२० हजार वडाध्यक्ष अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका थिए । अहिले अध्यक्षकोषमा चार लाख रहेको वडाध्यक्ष श्रेष्ठले बताए । केही रकम जम्मा हुन बाँकी रहेको र जम्मा भएको रकमबाट तीन लाखबराबरको छात्रवृत्ति प्रदान गरिएको र अरू नगदमा रहेको छ । जम्मा हुन बाँकी रकम जम्मा गरेर फेरि अक्षयकोषमा जम्मा गर्ने योजना रहेको उनले बताए । आफू वडाध्यक्ष बहाल रहेसम्म सरकारी तलब, भत्ता र अन्य सुविधाबापत आउने सबै पैसा अध्यक्ष कोषमार्फत खर्च गर्ने उनको योजना छ । ‘विभिन्न विद्यालयका विपन्न विद्यार्थीलाई निरन्तर छात्रवृत्ति वितरण गर्दै जानेछौँ । धेरै अग्रज र साथीले अक्षयकोषमा रकम थप्नुभएको छ । ती रकमबाट १४ विद्यालयका कक्षा एकदेखि ११ सम्मका ५५ जना विद्यार्थीलाई स्टेसनरी, झोला, पोसाक वितरण गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले बताए ।

छात्रवृत्ति र स्टेसनरी सामग्री पाउनेमा साङ्कोस माविका तीनजना, बाल मन्दिरका चारजना, महेन्द्र माविका १२ जना, अन्नपूर्ण माविका तीनजना, सुनौलो भैरवीका दुईजना, मनरूपी माविका तीनजना, इजरा आ.वि.का नौजना, पशुपति माविका चारजना, पण्डितचौर माविका दुईजना, पञ्चकन्या माविका तीनजना, गायत्रीदेवी आ.वि.का ६ जना, धादिङ बोर्डिङका एकजना, नीलकण्ठ माविका एकजना र सुनखानी माविका दुईजनाले समेत छात्रवृत्ति पाइसकेका छन् ।