गाउँमा खेतालाको अभाव !

  • त्रिशूली प्रवाह
  • १४ असार २०८०, बिहीबार १२:३९
Logo of trishuli prawaha

युवा बिदेसिने क्रमसँगै नुवाकोटमा कृषि कर्म गर्न श्रमिकको अभाव दिन प्रतिदिन बढिरहेको छ । धान रोप्न हल गोरु र खेताला नपाएर स्थानीय अहिले हैरान छन् । खेतालाको अभावसँगै कृषकले रासायनिक मल, गुणस्तरीय बिउ-बिजन र कीटनासक औषधि पाउनसमेत समस्या भोगिरहेका छन् ।

युवा पुस्ता भविष्य खोज्न भन्दै वैदेशिक रोजगारीमा हानिएपछि घर रुँगेर बसेका बुढाबुढीलाई खेतबारीमा अन्न रोप्न पनि समस्या छ । यो केवल नुवाकोटको मात्रै समस्या होइन । सिङ्गै देशमा यस्तै समस्या छन् । काम गर्ने मान्छे अभावकै कारण पहाडी क्षेत्रमा खेतीयोग्य जमिनमा तितेपाती फुल्न थालेको छ । खेतीयोग्य जग्गा बाँझिएका छन् । हिजो उब्जनी हुने खेतबारी अहिले जङ्गलमा परिणत भइरहेको छ भने तराईमा काँस उम्रेको छ । कुनै समय एकहल गोरु, एउटा लैनो भंँसीलाई अनिवार्य आवश्यकता मान्ने नेपाली किसान अहिले यति कमजोर भएका छन्, न हल गोरु पाल्ने हिम्मत गर्छन् न त लैनो भैँसीकै जोहो गर्न सक्छन् । गाउँ-गाउँमा दूध, दही, घिउ, सहरबजारबाट जाने गरेको छ । २०-२२ वर्ष उमेर कटेपछि श्रम गर्न विदेश जानैपर्ने लहरले गाउँ रित्तिँदै गएको छ । यदि कुनै कारण विदेश जान भिसा लागेन भने पनि सहरमै रुमल्लिनुपर्ने अर्को भ्रमले पनि गाउँका घर रित्ता भइरहेका छन् । जुन घरमा मानवीय चहल-पहल छ त्यो पनि मात्रै बुढाबुढीको भरमा । गाउँ रित्तिँदै जानु, सहर भरिँदै जानु आफैँमा एउटा समस्या हो । स्थानीय सरकार गठनसँगै विकासको चक्र सहरबाट गाउँतिर उकालो लागे पनि युवा पुस्तालाई आफ्नै गाउँप्रति विश्वास नहुनु अर्को ठूलो समस्या हो । सडक र भौतिक पूर्वाधार गाउँघरमा पुगेपछि युवा अडिन्छ भन्ने गरिन्थ्यो । त्यो केवल भ्रम बनेको छ । सडक पुगेपछि गाउँघर खाली हुने क्रम तीव्र बनेको छ । अहिले धान रोप्ने खेताला पाइएन, भोलि खेत गोड्ने, कोदो रोप्ने खेताला नपाइएला, यही क्रम जारी रहे एक दिन मलामी जाने मान्छेकै पनि अभाव हुन सक्छ । तसर्थ गाउँघरप्रति युवा पुस्ताको विकर्षण रोक्नका लागि विशेष योजना बनाउन ढिला भइसकेको छ । कुनै पनि गाउँ सम्पन्न हुनका लागि पक्की सडक वा भव्य भवनलगायत अन्य पूर्वाधार बनाएर मात्रै हुँदैन । गाउँलाई जीवित राख्न मानवीय चहल–पहल पनि आवश्यक छ भन्ने बुझ्न तीन तहका सरकारले ढिला भइसक्यो । त्यसका लागि केवल ‘गाउँमै बस हावापानी राम्रो छ’ भनेर मात्रै हुँदैन । गाउँमा बस्न प्रेरित गर्ने खालका विशेष योजना ल्याउनुपर्छ ।

हिजो केन्द्रीकृत शासन व्यवस्था हुँदा सिंहदरबारमा बस्नेले दूरदराजका सबै समस्या थाहा पाउँदैन थिए । अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ । गाउँको सिंहदरबारमा बस्नेले आफ्नो क्षेत्रको श्रीवृद्धिका लागि मौलिक योजना बनाउन ढिला भइसकेको छ । अहिले प्रायः स्थानीय सरकारले पहाड खोस्रेर सकेसम्म धेरै मोटरबाटो खन्ने र बजेट भएसँगै दुई-चार किलोमिटर पिच गर्ने चलन संस्कारको रूपमा बसेको छ । स्थानीय जनप्रतिनिधिले पनि बुझ्न जरुरी छ, केवल नयाँ बाटो खनेर वा कालोपत्रे गरेर मात्रै युवालाई गाउँमै रोक्न सम्भव छैन । गाउँमा बसेर पनि केवल खेताला मात्रै होइन लाउन, खान सकिने हैसियत बनाउन सकिन्छ भन्ने सन्देश युवा पुस्तामा पु¥याउन सकियो भने आगामी दिनमा खेताला नपाएरै धान, मकै, कोदो, गहुँ, तोरी छर्न नपाएको गुनासो कम हुनेछ ।