![](https://trishuliprawaha.com.np/wp-content/uploads/2023/07/Bhawan-Aabewasthit-Sewa-Bewasthit.jpg)
- सरस्वती न्यौपाने
धुन्चे, रसुवा अस्पताल अव्यवस्थित हुँदा हिजोसम्म स्थानीय जनताले अस्पतालको सेवा लिन हिचकिचाउँथे । उनीहरू नाम मात्रैको अस्पताल भन्दै साधारण चेकजाँच र उपचारका लागि काठमाडौं जान्थे । तर, अहिले स्थानीयको धारणा बदलिएको छ । अस्पतालको हाल पक्की भवन नभए तापनि अस्पतालले दिने सेवा व्यवस्थित भएको छ । अस्पताल व्यवस्थित रूपमा सञ्चालन भएपछि स्थानीय स्वास्थ्य उपचारका लागि अस्पतालमा निर्भर हुन थालेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहका अनुसार व्यवस्थित भवन नभए पनि पुरानो र जीर्ण भवनलाई मर्मतसम्भार गरेर व्यवस्थित ओपिडी सेवा, इमर्जेन्सी सेवाका साथै बिरामी भर्ना, प्रसूति सेवा, शल्यक्रिया, शिशु स्याहार केन्द्र र ल्याब सञ्चालनमा रहेको छ । भूकम्पका कारण व्यवस्थित भवन नभइरहेको जिल्ला अस्पतालमा धेरै डाक्टर आए, कोही कामभन्दा कुरा धेरै गर्ने आएको स्थानीयले बताएका छन् । विगतदेखि नै अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा स्थापित हुँदा अस्पतालको कार्य सम्पादनमा खासै राम्रो हुँदैन थियो । तर, मेडिकल सुपरिटेन्डेन्ट डा. शाह आइसकेपछि भवन व्यवस्थित नभए पनि सीमित भौतिक संरचनामा पनि व्यवस्थित उपचार हुँदै आएको छ । अस्पतालमा यस आवमा मात्रै पहिलो प्रसूति शल्यक्रिया सफल भएपछि अस्पतालको चर्चा हुन थालेको छ । यसै वर्ष मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट मात्रै दुई लाख १५ हजारबराबरको अस्पतालले सेवा दिएको छ भने स्वास्थ्य बिमा कार्यक्रमबाट समेत धेरै बिरामी लाभान्वित भएका छन् । यस वर्ष ल्याबमा केही थप सेवा सुविधा थपिएको छन् भने फार्मेसी सेवालाई थप सुविधा वृद्धि गरी व्यवस्थित गरिएको छ । असार २४ गतेदेखि अस्पतालले बिरामीलाई थप सङ्क्रमण नहोस् भनेर छुट्टै ओपिडी सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले गरेका थिए । सम्पूर्ण रसुवावासीलाई ढुक्कले रसुवा अस्पतालबाट उपचार गराउन आग्रह गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले अब जटिलबाहेकका स्वास्थ्य उपचार हुनेमा विश्वास गरेका छन् ।