+
Search

ताजा अपडेट +

पपुलर +

सीमापासको छानबिन गर्न जनप्रतिनिधिको माग

सीमापासको छानबिन गर्न जनप्रतिनिधिको माग
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, फर्जी बसाइँसराइ गरी रसुवा आएकालाई सीमापास दिएको जनगुनासो आएपछि रसुवाका जनप्रतिनिधिले रसुवा भन्सार र अध्यागमन कार्यालय रसुवागढी टिमुरेसँग छानबिनको माग गरेका छन् ।

Utsuk Books & Stationery

रसुवागढी नाका व्यवस्थापन समितिको गत बिहीबार बैठक सम्पन्न भएको छ । उक्त बैठकमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, नेकपा एमाले रसुवाका अध्यक्ष कन्र्याल तामाङ, नेकपा माओवादी केन्द्र रसुवाका अध्यक्ष तेन्जिन फुर्पा तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उपप्रमुख प्रतिभा तामाङ, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामालगायतले सीमा पासको छानबिन गर्ने माग गरेका छन् । नेपाल–चीन प्रस्थान र प्रवेश अनुमतिपत्र अद्यावधिक, चिनियाँलगायत अन्य पर्यटकका लागि सवारीसाधनमा भएका समस्या, चेकजाँच, बोर्डरसम्म सहजै नेपाली सवारीसाधन आवतजावत र स्थानीयवासीले दैनिक रूपमा प्रयोग गर्ने सामग्री सम्बन्धमा बैठकमा छलफल भएको एक सहभागीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म चेकजाँच आवश्यकताभन्दा बढी भएपछि रसुवागढी नाकाबाट चिनियाँ पर्यटक आउन नचाहेकोबारे बैठकमा बृहत् छलफल भएको थियो । चेकजाँच बैठकमा प्रमुख जिल्ला अधिकारी, नेपाली प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षार्थ निकायका प्रमुख, रसुवा भन्सार प्रमुख, अध्यागमन रसुवाका प्रमुख, गोसाइँकुण्ड गाउँपालिकाभित्रका वडाध्यक्ष र नाकाका स्थानीयवासीको उपस्थिति थियो ।

बैठकमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले सीमा प्रवेश पासबारे आएको जनगुनासो साँचो हो वा होइन छानबिन गरी कारबाही गरिनुका साथै अबका दिनमा रसुवाको नागरिकता भएकाले मात्रै पास पाउनुपर्ने प्रस्ताव राखेका थिए । रसुवागढीदेखि बेत्रावतीसम्म चेकजाँच आवश्यकताभन्दा बढी भएपछि रसुवागढी नाकाबाट चिनियाँ पर्यटक आउन नचाहेको र आए पनि चेकजाँच बढी भएको भन्दै चिनियाँले केही सामान नल्याउने र यो बाटोबाट दोहो¥याएर नेपाल नआउने गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेका स्थानीयले गुनासो गरेका छन् । नेपालीले आफ्नै देशको जमिन टिमुरेदेखि रसुवागढी नाकाको मितेरी पुलसम्म पनि सानो गाडी लैजान नदिएपछि दुई किलोमिटर हिँड्नुपरेकाले चेकपोस्टको नाममा सुरक्षा प्रशासनले जनतालई दुःख दिएको आमाछोदिङ्मो गाउँपालिका-३ का पेम्बा तामाङले बताए । चेकजाँचको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले चेकजाँच त हुन्छ, त्यसलाई मर्यादित र सभ्य तरिकाले हुन्छ, तर रोकिँदैन भन्दै अनावश्यक दुःख नदिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह