रसुवा सुक्खा बन्दरगाह पैँतालीस प्रतिशत निर्माण सम्पन्न

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार ११:४६
  • लक्ष्मी तामाङ

धुन्चे, रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को ४५ प्रतिशत निर्माणको काम पूरा भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात–निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका प्रबन्धक हवाङ पिङले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिए । सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नदी किनारमा पर्खाल लगाउने काम सकिएकाले अन्य काम छिटो हुने बताए । भन्सार पास हुन आएका सवारी–साधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गरेर राख्दा निर्माण कार्यमा समस्या भएको उनको भनाइ छ । दुई अर्ब १६ करोड ६० लाख रुपैयाँको लगानीमा बन्दरगाह निर्माण हुन लागेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उत्तरी नाका रसुवामा निर्माण हुन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानकारी दिए । ‘नेपाल–चीनबीचको महत्वपूर्ण रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,’ उनले भने । रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ ।

बन्दरगाहभित्र तीन सय १३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् । बन्दरगाहभित्र इमिग्रेसन र पार्किङको व्यवस्था रहनेछ । त्यस्तै, कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टिन कार्यालय, बैंक र सुरक्षासमेतका निकाय रहनेछन् । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखपट्टनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारतको हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायी जीवन पौडेलको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ । चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ ।

आयात नियमित रूपमा भइरहे पनि कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएको रसुवा नाका गत पुसमा खुलेर नियमित रूपमा निर्यात हुन थालेको छ । हालसम्म नाकाबाट चीनमा चार सय ७० कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । हाल दैनिक १० देखि १५ वटा कन्टेनर सामान नेपालबाट चीन जाने गरेको कार्यालयको तथ्याङ्क छ । कार्यालयका चालू आवको जेठसम्म रसुवा नाकाबाट १६ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएकामा एक अर्ब ६२ करोड रुपैयाँबराबरको सामान निर्यात भएको छ । सामान आयात गरेर सात अर्ब २५ करोड राजस्व सङ्कलन भएकोसमेत कार्यालयले जनाएको छ ।