धादिङका १० प्रतिशत घरमा विद्युतीकरण बाँकी

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार १२:०६
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, पछिल्लो समय बिजुली बत्ती बाल्न मात्र नभई मानिसको दैनिक जनजीवनसँग जोडिएको छ । बिजुलीबिनाको दैनिकी कल्पनासमेत गर्न नसक्ने अवस्था अहिले रहेको छ । मानिसको रोजगारी, आय–आर्जन तथा नवप्रवद्र्धनसँग जोडेर विद्युत्को व्याख्या गरिएको छ । अझ मुलुक डिजिटल युगमा प्रवेश गरेपछि त एक सेकेन्ड बिजुली कटौती हुँदा पनि सेवा प्रदायक संस्था र कार्यरत कर्मचारीप्रति टीका–टिप्पणी सुरु हुन्छ ।

धादिङ जिल्लामा आर्थिक वर्ष ०८०/८१ सम्ममा शतप्रतिशत घरपरिवारमा बिजुली बत्तीको पहुँच पु¥याउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरण धादिङ केन्द्रले काम गरिरहेको छ । आ.व. ०७९/८० सम्ममा घरेलु प्रयोजनका लागि ६३ हजार मिटर जडान गरिसकेको धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरपरिवारमा विद्युतीकरण गर्न पनि टेन्डरमार्फत काम गर्न टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । आ.व. ०८०/८१ को अन्तसम्ममा सबै घरपरिवारमा बिजुली बत्ती पुग्ने केन्द्र प्रमुख न्यौपानेले बताए । जिल्लामा औद्योगिक केन्द्र नभए पनि राजमार्ग क्षेत्रमा क्रसर, बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन् । बेनीघाट–रोराङ गाउँपालिका– २ ताल्तीमा ह्वासिन सिमेन्ट उद्योग, धुनीबेँसी नगरपालिका– ९ जुगेडीमा युनाइटेड सिमेन्ट उद्योग र वडा नम्बर– ७ खानीखोलामा मंगला सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाका ६३ हजार मिटरबाट (गार्हस्थ्य) पाँच मेगावाट खपत हुँदै आएको छ । यसैगरी, युनाइटेट सिमेन्ट उद्योगको १० मेगावाट खपत गर्ने क्षमता हो, तर उद्योग पूर्ण रूपमा सञ्चालन नहुँदा अहिले सरदर चारदेखि पाँच मेगावाट खपत गर्दै आएको छ । ह्वासिन सिमेन्ट उद्योगको २० मेगावाट खपत गर्ने क्षमता हो, तर अहिले ६ देखि ७ मेगावाट खपत गर्दै आएको छ । जिल्लामा नौवटा ग्रामीण सामुदायिक विद्युत् संस्थामार्फत पनि विद्युतीकरण भएको छ । चारवटा सामुदायिक विद्युतीकरण गर्ने संस्था मैदी, मालिका, भैरवी र रणकालिका नियमित महसुल बुझाउनेमा पर्छन् । तर, बाँकी पाँचवटाले नियमित महसुल बुझाउन पनि कठिन छ । विद्युत्भार कटौती गर्नुपर्ने अवस्था छ । समुदायले विद्युत् वितरण गर्न सहज छैन । कुन बेला कहाँ के हुन्छ भन्न सकिन्न । विद्युत् प्राधिकरण जोसँग प्रविधि, प्राविधिक, स्रोत–साधन हुँदा त अटुट रूपमा सेवा प्रवाह गर्न कठिन भइरहेको छ । सामुदायिक संस्थाले कसरी सेवा प्रवाह चुस्त–दुरुस्त बनाउन सक्छन् – केन्द्र प्रमुख न्यौपानेले बताए ।

अहिले धादिङबेँसी, सल्यानटार, जरेखेत र नौबिसेमा विद्युत् सबस्टेसन रहेको छ । प्रशाखा तथा नोलाइट १० वटा रहेको छ । विद्युत् महसुल काउन्टर धादिङबेँसी, सल्यानटार, गजुरी र धार्केमा छ । अहिले नुवाकोटबाट धादिङबेँसी र जरेखेत सबस्टेसनमा ल्याएर विद्युत् वितरण गरिँदै आएकोमा अब मस्र्याङ्दीबाट ल्याएको १३२ केभीबाट सिद्धलेकको करमटारमा ट्रान्समिटर राखेर धादिङबेँसी र जरेखेत सबस्टेसनमा जोड्ने काम हँुदै छ । करमटारमा विद्युत् जडान भए पनि अहिलेको जस्तो विद्युत्मा देखिएका समस्या ९० प्रतिशत कमी हुने अनुमान रहेको केन्द्र प्रमुख न्यौपानेले बताए । जिल्लामा एक सय दुईजना कर्मचारीको दरबन्दी भए पनि हाल ४३ जना मात्र कर्मचारी कार्यरत भएकाले सेवा प्रवाहमा चुस्त–दुरूस्त बनाउन कठिन भइरहेकोसमेत उनले बताए । ‘काठमाडौंबाट नजिक भएर पनि कर्मचारी आउन नमान्ने भएकाले सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन प्रयास गरिए पनि हुन सकेको छैन । एक सय दुईजनाले गर्ने काम ४३ जनाले गर्न कठिन नै हुन्छ । मिटर रिडिङलगायतका काम ठेकेदारमार्फत गर्दै आएका छौँ । कर्मचारी दरबन्दीअनुसार पूरा भइदिएको भए काम चुस्त–दुरुस्त हुने थियो । अब विद्युत् मिटररिडिङ पनि डिजिटल बनाउने तयारी भइरहेको छ । त्यसपछि प्रिपेड सेवा सुरु हुन्छ । महसुल बक्यौताको समस्या पनि अन्त्य हुन्छ,’ केन्द्र प्रमुख न्यौपानेले बताए ।