चितवनको घाँस रसुवागढी हुँदै चीन निर्यात वैदेशिक व्यापारघाटा घटाउने अपेक्षा

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार १२:१०

धुन्चे, नेपालको घाँस विदेश निर्यात हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, शनिबारदेखि नेपालमा उत्पादित घाँस रसुवागढी नाका हुँदै चीन निर्यात हुन थालेको छ । चिनियाँ लगानीको कम्पनी नेपाल होराइजन इन्टरनेसनलले भरतपुर महानगरपालिका– ५ प्रेमबस्तीमा खोलेको कारखानामा चीन निर्यात हुने हेलेज उत्पादन हुने गरेको छ । उक्त घाँस चीनको सिगात्से सहरमा पठाइएको हो । तीन वर्षअघि कारखाना स्थापनाको काम सुरु भएको थियो । चिसोका कारण सिगात्सेमा घाँस उत्पादन हुँदैन । त्यहाँका पशुका लागि नेपालबाट घाँस प्याकिङ गरेर निर्यात सुरु भएको छ ।

मकैको डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट हेलेज तयार पारिन्छ । दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । त्यसलाई सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि मात्रै लगिन्छ । पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो हुने कम्पनीका प्रमुख कार्यकारी (सिइओ) छाङले बताए । कारखानाले वार्षिक ६० हजार टन हेलेज उत्पादन गर्न सक्छ । ‘अहिले तीन हजार टन हेलेज उत्पादन गरिसकेका छौँ । बर्खा लागेका कारण बाटोमा अप्ठ्यारो हुन सक्छ भनेर पहिलो खेपमा ८२ टन मात्रै पठाएका छौँ,’ छाङले भने ।

देशको व्यापारघाटा कम गर्न घाँस निर्यातले केही योगदान गर्ने अपेक्षासहित शनिबार बिहान १० वटा ट्रकलाई बिदाइ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी चितवन पुगेका थिए । हेलेज निर्यातले व्यापारघाटा कम गराउन प्रभावकारी भूमिका खेल्नेछ,’ ट्रकलाई बिदाइ गर्न पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘हेर्दा समान्य लागे पनि दुई देशबीचको व्यापारिक सहकार्यका लागि यो इतिहासमा कोसेढुङ्गा साबित हुन्छ ।’ चीन निर्यात हुने हेलेज लोड भएका १० वटा ट्रकलाई बिदाइ गर्न नेपालका लागि चिनियाँ राजदूत चेन सङको टोली पनि पुगेको थियो । आठ टनका दरले हेलेज बोकेका ती ट्रक भरतपुरबाट धादिङको गल्छी हुँदै नुवाकोटको विदुर, बेत्रावती, रसुवाको धुन्चे, स्याफ्रुबेँसी, रसुवागढी सोमबार पुगेका थिए । त्यहाँ पुगेका नेपाली ट्रकले हेलेज रसुवागढीपारिको चिनियाँ नाका केरुङसम्म पु¥याउनेछन् । त्यहाँबाट चिनियाँले नै सिगात्से लैजानेछन् । त्यहाँ याकलाई खुवाउन हेलेज उपयोग गर्ने छाङले बताए । सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको उनको भनाइ छ । चीनमा एक टन हेलेजको २४ हजार नेपाली रुपैयाँसम्म पर्ने भएकाले यहाँ उत्पादन हुने हेलेज सहजै खपत हुने उनले जनाए । हेलेज हरियो घाँस सुकाएर बनाएको पशु–आहारा हो । मकैको हरियो बोटलाई सुकाएर तयार पारेको यो हेलेज पहिलोपटक चितवनबाट चीन पठाइएको हो । भरतपुर र रत्ननगरमा किसानले उत्पादन गरेका मकैका हरिया बोट कम्पनीले किनेर हेलेज बनाउने गरेको छ ।

मकैका हरिया बोट वा अन्य पोषिलो घाँसलाई मेसिनले मसिनो गरी काटेर प्लास्टिकले हावा छिर्न नपाउने गरेर बेरेपछि कम्तीमा एक सय २० दिनसम्म राखेर बनाइने पशु खान्कीलाई हेलेज भनिन्छ । कसैले यसलाई गाईवस्तुका लागि तयार भएको घाँसको गुन्द्रुक पनि भन्ने गर्छन् । मकैका बोटको अवस्था र गुणस्तर हेरेर प्रतिकट्ठा खेतको ६ हजार रुपैयाँसम्ममा किन्ने गरेको छाङले बताए । ‘अब जग्गा भाडामा लिएर वा किसानलाई मकै खेती गर्न लगाएर हेलेजको स्रोत जुटाउने योजनामा छौँ । अहिले मकै मात्रै लिएका छौँ । पछि नेपियरजस्ता अन्य घाँस पनि प्रयोग गर्छौँ,’ छाङले भने । स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर किसानले पाउने मूल्य र विधि तय गर्ने उनको भनाइ छ । ‘धानको सिजनमा हेलेजका लागि मकै या अन्य घाँस छर्न भन्दैनौँ । धान स्याहारेपछि लगाउन भन्छौँ । त्यो बेलासम्म जग्गा भाडामा लिने या के गर्ने, भाडा के–कतिमा कसरी लिने भन्नेबारे स्थानीय तहसँग पनि समन्वय गरेर निर्णय लिन्छौँ,’ उनले भने । बिस्तारै अन्य कृषि उपज पनि निर्यात गर्ने योजना रहेको उनले बताए । चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला सन् २०२२ मार्च २६ मा नेपाल र चीनबीच भएको सम्झौताअनुरूप हेलेज निर्यात गर्ने बाटो खुलेको हो । हेलेज निर्यातले घाँस उत्पादन अभियानलाई सहयोग गर्ने कृषिमन्त्री भुसालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । ‘नेपालमा कृषियोग्य १० लाख हेक्टर जमिन बाँझो छ । मूल्य आउने भएपछि यसमा घाँसखेती गर्न सकियो । हेलेज निर्यातले व्यापारघाटा घटाउनेछ,’ मन्त्री भुसालले भने ।