ब्रह्माजीका सृष्टिभित्रका चराचर सम्पूर्ण वस्तु मूर्तिधारी छन् । आ–आफ्ना गुणले सबै पुज्य छन् । आ–आफ्ना अधिष्ठातृ देवता नभएका कोही छैनन् । कालका विभाग निमेष, काष्ठा, कला, क्षण, लव मुहूर्त दिन रात, पक्ष, मास, ऋतु, अयन र वर्ष आदि सबै ब्रह्माजीका सृष्टिभित्रका वस्तु हुन् । ती सबैका आ–आफ्ना अधिष्ठातृ देवता छन् । आ–आफ्ना अधिकारमा सबै पुजित छन् । सबै फलदायक छन् । यस्तैमा रूखमा ऐंजेरु पलाएझैँ १२ महिनाका अतिरिक्त एक अधिकमास उत्पन्न भयो । जो सूर्य सङ्क्रान्तिले रहित थियो । जसको नाम, श्रेय र अधिष्ठातृ देवता कोही थिएन । त्यसैले चैत्रादी मासको मल ठानी मलमास भनेर सबैले अस्पृश्य, अशुद्ध, अपुज्य र निन्दित माने । त्यसमा स्नान, दान, जप, पाठ, होम, देव पुजन आदि कुनै पनि शुभकर्म गर्न हुँदैन भनी त्यसको निन्दा गर्न लागे । त्यसलाई कसैले आश्रय दिएनन् । यसरी सारा लोकले निन्दा गरेको हुँदा ऊ ज्यादै चिन्तित भई मर्ने निश्चयमा पुग्यो । तर, पछि धैर्य गरी भगवान् विष्णुलाई सम्झी वैकुण्ठधाममा गयो र विष्णुका शरणमा प¥यो । विष्णुको स्तुति गरी विलाप गर्दै मेरो नाम, आश्रय, अधिकार आदि केही छैन भन्दै आफ्नो दुःख निवेदन ग¥यो । सबैले मेरो निन्दा गर्छन्, स्नान, दान, जप, होमादी केही गर्दैनन् । हजुरले मेरो कष्ट दूर गरिदिनुहोस्, भन्यो । अनि विष्णुले भन्नुभयो– हे अधिमास तिम्रो दुःख निवारण गर्न सक्ने मेरो पनि शक्ति छैन । त्यसकारण हामी दुवै गोलोकधाम जाँऔँ, जहाँ भगवान् पुरुषोत्तम श्रीकृष्ण विराजमान हुनुहुन्छ । उहाँले नै तिम्रो दुःख दूर गर्न सक्नुहुन्छ भनी अधिमासलाई लिएर गोलोकधाम जानुभयो । त्यहाँ गएर विष्णुले पुरुषोत्तम भगवान्लाई प्रणाम गरी अधिमासलाई पनि प्रणाम गर्न लगाउनुभयो । आफ्नाअगाडि मलीन मुख गरी बसेका अधिमासलाई देखेर पुरुषोत्तमले विष्णुसँग भन्नुभयो– हे विष्णु गोलोकधाममा आएर पनि चिन्ताग्रस्त यी को हुन् ? किन चिन्तित छन् । अनि विष्णुले भन्नुभयो– हे प्रभु यी अधिमास हुन् । विश्वका सबै प्राणीका नाम, आश्रय, अधिकार र अधिष्ठातृ देवता छन्, तर यिनको नाम, आश्रय, अधिकार र अधिष्ठातृ देवता केही नभएका हुँदा यिनलाई सबैले निन्दा गर्दछन् र कसैले स्नान, दान, जप, पाठ, पुजा आदि केही गर्दैनन् । शुभकर्मबाट वर्जित भएका यी अधिमास ज्यादै दुःखित भई मेरा शरणमा आएका हुन् । मैले पनि यिनको दुःख निवारण गर्ने कुनै उपाय नदेखेर हजुरका शरणमा लिएर आएको हुँ । यिनको कष्ट दूर गरिबक्सियोस् । विष्णुको प्रार्थना सुनी पुरुषोत्तम भगवान् श्रीकृष्णले भन्नुभयो– हे विष्णु जसलाई तपाईंले शरण दिनुभएको छ, त्यसलाई म पनि शरण दिन्छु, मेरा शरणमा परेका प्राणीले कहिल्यै पनि दुःख पाउनेछैनन् । त्यसकारण यस अधिमासलाई आजदेखि म सर्वाेपरि स्थान दिन्छु । गुण, कीर्र्ति, ऐश्वर्य, पराक्रम, भक्तलाई वरदान दिने सामथ्र्य र अरू सबै श्रेष्ठ गुणले गर्दा लोकमा र वेदमा पनि जसरी म सर्वश्रेष्ठ र पुरुषोत्तम नामले प्रख्यात छु । आजदेखि यी सबै गुण अधिमासमा पनि समर्पित गरेर मेरो पुरुषोत्तम भन्ने नाम पनि यसलाई दिन्छु । आजदेखि यस अधिमासको नाम पुरुषोत्तममास भयो । यसको अधिष्ठातृ देवता म पुरुषोत्तम नै भएँ । म नै यसको आश्रय पनि भएँ । यो अधिमास पनि मजस्तै सर्वश्रेष्ठ भएर सबै महिनाको राजा, जगत्पुज्य र जगद्वन्द्य हुनेछ । पुजक भक्तका दुःख, कष्ट नास गरी मोक्षसमेत दिन समर्थ हुनेछ । यो मेरो अनन्य भक्त भयो ।
‘मदाराधनतो विष्णो ! मदीयाराधनं प्रियम् ।
मद्भक्तकामनादाने विलम्बेक् हं कदाचन ।।
मदीयमासभक्तानां नविलम्बः कदाचन।
मदीयमासभक्ता ये ममैवातीव बल्लभाः।।’’
(पुरुषोत्ततम माहात्म्य)
मलाई मेरो आराधनाभन्दा मेरा भक्तको आराधना प्रिय लाग्छ । कदाचित् मेरा अरू भक्तका कामना पूरा गर्न ढिला होला, तर पुरुषोत्तममासका भक्तका कामना पूर्ण गर्न मबाट कदाचित् ढिलाइ हुनेछैन । फेरि पुरुषोत्तम मासमा जो मूर्ख स्नान, दान, जप, पाठ, पूजा, व्रत, होम आदि शुभ कर्म गर्दैनन् र मलमास भनी तिरस्कार गर्दछन् भने म तिनीहरूको भाग्य हरण गरिदिनेछु । तिनीहरूले दुःख दरिद्र आदि पीडाबाट पीडित भई परलोकमा विभिन्न नरकको भोगसमेत गर्नुपर्छ । त्यसकारण पुरुषोत्तममासमा राधासहित पुरुषोत्तम श्रीकृष्णको पूजा–आराधना गरी यथाशक्ति स्नान, दान, जप, पाठ, पूजा, व्रत, दीपदान, यज्ञ, भजन, नामसङ्कीर्तन, कथा श्रवण आदि पुण्यकर्म अवश्य गर्नुपर्दछ । प्रतिदिन ३३ सङ्ख्या अपूप (मालपुवा) काँसका पात्रमा राखी दान गर्नु उत्तम हुन्छ । नसके जति दिन सकिन्छ त्यतिदिन गर्नुपर्दछ । त्यो पनि नसके एक दिन भने अवश्य ३३ मालपुवा दान गर्नु पुण्यदायक हुन्छ । सक्नेले महिनाभर नै स्नान, दान आदि शुभकर्म गर्नुपर्छ । नसक्नेले १५ दिन, १० दिन, पाँच दिन वा एक दिन मात्र भए पनि पुरुषोत्तम भगवान्लाई सम्झेर शुभकर्म गर्नुपर्दछ । यसबाट त्यस व्यक्तिको कल्याण हुनेछ भनेर भगवान् पुरुषोत्तमले विष्णुलाई बताउनुभएको हुँदा मनुष्य मात्रले पुरुषोत्तममासको व्रत गरी राधासहित पुरुषोत्तम भगवान्को आराधना गरी मनुष्य जीवनलाई सार्थक बनाउन अत्यावश्यक छ ।
(….क्रमागत प्रसङ्ग – २)
पुरुषोत्तममासको निन्दा गर्दा मानिसले अति दुःख पाउँछ । मानिसको दुर्भाग्यले गर्दा पुरुषोत्तममासको निन्दा र अपहेलना गर्नतिर बुद्धि लाग्छ । मानिसको भाग्य जस्तो छ त्यस्तै फल भोग्नुपर्दछ । सुख, दुःख, भय, कल्याण आदि सबै मानिसका आफ्ना भाग्यअनुसार पाइन्छन् । भनिएको पनि छ –
‘अदृष्टं यादृशं पुंसां तादृशं भाषते सदा ।
अवश्यमेव भोक्तव्यमदृष्टजनितं फलम् ।।
सुखं दुःखं भयं क्षेममदृष्टात् प्राप्यते जनैः ।’ पु. मा. ८/१३, १४
यस विषयमा राजा युधिष्ठरलाई श्रीकृष्णले बताउनुभएको एउटा उपाख्यान छ– पाण्डवले छलपूर्ण जुवामा राज्य हारी वनबास गएका बेलामा श्रीकृष्णले युधिष्ठरलाई यो कथा बताउनुभएको थियो । कृष्णजी भन्नुहुन्छ– जब मानिस भाग्यका वशमा पर्छ, अनि त्यसअनुसार कार्य गर्दछ । हे युधिष्ठर महाराज ! हेर्नाेस्, यी द्रौपदी पूर्वजन्ममा मेधावी नामका ब्राह्मणकी छोरी गुणसुन्दरी नामकी थिइन् । यिनी सानै हुँदा माताको मृत्यु भएकाले बाबुले नै पालन–पोषण गरेर हुर्काए । जब १० वर्षकी भइन् अनि छोरीको विवाह गरिदिन उपयुक्त वर खोज्न मेधावी ऋषि हिँडे, तर कतै पनि भनेजस्तो वर पाउन सकेनन् । बाटैमा बिरामी भएर बल्ल–तल्ल घर पुगे । तर, घर पुग्नेबित्तिकै उनको मृत्यु भयो । गुणसुन्दरीले ठूलो शोक व्यक्त गरिन् । पछि धैर्यधारण गरी बाबुको काजकिरिया गरिन् । अनि एक्ली बालिका बाबुको शोक गर्दै दीनदुःखी भएर श्रममा रहन लागिन् । एक दिन दैववश दुर्बासा ऋषि तिनका आश्रममा आए । गुणसुन्दरीले उनको राम्रोसँग स्वागत–सत्कार गरिन् । जब ऋषि हिँड्न लागे अनि ती बालिकाले भनिन्– हे ऋषिवर ! मेरी आमाको सानैमा स्वर्गवास भयो । अहिले बाबाको पनि स्वर्गवास भयो । दाजुभाइ कोही छैनन् । विवाह गर्ने बेला भयो, मलाई कसैले विवाह गर्दैन । अब म कसरी जीवन निर्वाह गर्नु ? त्यसकारण म मर्ने विचार गर्दै छु । मेरो दुःख नाश गर्ने कुनै उपाय छ भने बताइदिनुहोस् । अनि दुर्बासा ऋषिले भने– हेर गुणसुन्दरी आजका तीन महिनामा पुरुषोत्तम मास आउँदै छ । त्यसमा स्नान, दान, उपवास, जप, पाठ, यज्ञ आदि शुभकर्म गरी राधासहित भगवान् पुरुषोत्तमको पूजा–आराधना गर, तिम्रा सबै दुःख कष्ट दूर हुनेछन् । यो पुरुषोत्तमभन्दा ठूलो कुनै महिना छैन, कुनै देवता छैन । यसमा पुरुषोत्तम भगवान्लाई उद्देश्य गरेर गरिएका सबै शुभकर्मबाट मानिसका सबै दुःख नास भई सुख सौभाग्य प्राप्त हुन्छन् र अन्त्यमा मानिस भगवान् पुरुषोत्तमको गोलोकधाममा वास गर्न पाउँछ । त्यसकारण पुरुषोत्तमको आराधना गर । यो सुनेर गुणसुन्दरीले त्यो पुरुषोत्तममास भनेको के हो ? माघ, वैशाख, कात्तिक आदि मासभन्दा कसरी ठूलो भयो ? त्यो त सूर्य सङ्क्रान्तिले रहित भएको मलमास पो हो त ! भन्दै पुरुषोत्तम मासको निन्दा गरिन् । दुर्बासा ऋषि क्रोधी भए तापनि साथीकी छोरी र सानै उमेरकी भएकी हुँदा उनले श्राप दिएनन् । तर, यसको फल तिमीले पाउनेछौ भनेर त्यहाँबाट हिँडे । अनि ती गुणसुन्दरीले पति प्राप्त गर्ने इच्छाले भगवान् शंकरको नौ हजार वर्षसम्म तपस्या गरिन् । शंकरजी प्रसन्न भएर वर माग भन्दा उनले
‘पतिं देहि पतिं मह्यं पतिं पतिमहं वृणे ।
पतिं देहि महादेव !
नान्यन्मे चिन्तितं हृदि ।।’ पु.मा. ११/२५
अर्थात् मलाई पति दिनुहोस्, पति दिनुहोस् भनेर पाँचपटक आफ्नै मुखले उच्चारण गरेकी हुँदा शिवजीले तथास्तु तिमीले भनेकै जति तिम्रा पाँच पति हुनेछन् । तर, यस जन्ममा होइन, पछिल्ला जन्ममा, किनकि तिमीले पुरुषोत्तममासको र पुरुषोत्तम भगवान्को निन्दा गरेकी हुँदा तिम्रो भाग्य यस्तो भएको हो भन्नुभयो । अनि एउटी स्त्रीका पाँच पति नगराई दिनुहोस्, भन्दा यो पुरुषोत्तम भगवान्ले गराउनुभएको हो, मैले होइन भनेर शंंकरजी कैलाशतिर जानुभयो । यता पुरुषोत्तमको निन्दा गरेकी हुँदा उनको तेज, कान्ति शक्ति सबै नष्ट भयो र आखिरमा उनको जंगलमा नै मृत्यु भयो । त्यसैबेला यज्ञसेन अर्थात् द्रुपद राजाले ठूलो यज्ञ गरेर त्यसै यज्ञका अग्निकुण्डबाट तिनै गुणसुन्दरी द्रौपदीका रूपमा उत्पत्ति भइन् । उमेर पुगेपछि स्वयम्बरमा मत्स्य वेध गर्दा धेरै राजाले रिस गरे तापनि अर्जुनले सबै राजालाई जितेर द्रौपदीलाई घरमा ल्याए । माता घरभित्र हुनुहुन्थ्यो, बाहिरबाट माताजी मैले केही चिज ल्याएको छु भनेर अर्जुनले भन्दा पाँचै भाइले बाँडेर उपभोग गर्नु भनी कुन्तीमाताले भन्नुभयो । त्यो पनि पुरुषोत्तमले नै भनाउनुभएको हो । पछि व्यासजीले व्यवस्थित गरिदिनुभएको हुँदा तपाईंले विवाह गर्नुभएको हो । पछि दुःशासनले केशमा समातेर सारी तान्दा पनि पुरुषोत्तमको निन्दा गरेका कारण नै मैले पनि उपेक्षा गरेको थिएँ । पछि मलाई हृदयदेखि नै सम्झिएकी हुँदा वस्त्रावतार लिएर उनको लज्जा बचाएको हुँ । यो वनबासका समयमा विभिन्न कारणले गर्दा तपाईंले पनि पुरुषोत्तममास आएको थाहा पाउनुभएन, त्यसकारण दुःख पाउनुभएको छ । अब आउने पुरुषोत्तममासमा तपाईंहरू पनि राम्रोसँग पुरुषोत्तममासको व्रत गरी यथाशक्ति राधासहित भगवान् पुरुषोत्तमको आराधना गर्नुहोस्, तपाईंका सबै दुःखकष्ट नास भई छिट्टै राज्य प्राप्ति हुनेछ भनेर भगवान् श्रीकृष्ण बिदा भएर द्वारकातिर जानुभयो । (क्रमश :……) ॐ सराधाय पुरुषोत्तमाय नम
धेरै मानिसलाई साउन महिनाभरि पुरुषोत्तम हो भन्ने भ्रम रहेछ । तर, साउनको २ गते पुरुषोत्तम सुरु भई ३१ गतेसम्म मात्र पुरुषोत्तममास रहन्छ भन्ने बुझ्नुहुनसमेत अनुरोध गर्दछु ।
– विनपा–५ द्वारपाल, देवीघाट, नुवाकोट
nepalbasudev98@gmail.com