बाँसुरी बजाउने तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • ११ श्रावण २०८०, बिहीबार १२:०२

त्रिशूलीबजार, नुवाकोटको ऐतिहासिक बजार त्रिशूलीबजारमा नेवारी संस्कृतिभित्र पर्ने बाँसुरी बजाउने सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले त्रिशूली–काठमाडांै समाजले आयोजना गरिएको एकमहिने तालिम शनिबार त्रिशूलीमा सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष कल्पना अमात्यको सभापतित्वमा भएको समापन समारोहमा विनपा–१ का वडाध्यक्ष लेनिन रञ्जितको प्रमुख आतिथ्यता र त्रिभुवन–त्रिशूली बहुमुखी कलेजका अध्यक्ष नारायण श्रेष्ठ, त्रिभुवन–त्रिशूली माविका अध्यक्ष नवीन्द्रमान प्रधान, समाजसेवी कुलबहादुर खड्की विशेष अतिथि रहेका थिए । संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले त्रिशूली–काठमाडौं समाजले आयोजना गरेको बाँसुरी बजाउने तालिममा त्रिशूली क्षेत्रका २० जना युवायुवतीले भाग लिएको समाजका तालिम संयोजक राजेन्द्रभक्त अमात्यले जानकारी दिए । प्रमुख अतिथि लेनिन रञ्जितले समापन कार्यक्रममा बोल्दै तालिममा सिकेका ज्ञान र सीपलाई संस्कृति संरक्षणमा लगाउन अनुरोध गरेका छन् ।

त्यसैगरी, अतिथिले संस्कृति जगेर्ना गर्न आ–आफ्नो संस्थाबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । समाजकी उपाध्यक्ष कल्पना अमात्यले त्रिशूली–काठमाडौं समाजले विगतमा पनि ब्लड डोनेसन, उद्घोषण तालिम, सिलाइबुनाइ तालिम, हेल्थ क्याम्प र समय–समयमा चेलीबेटी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् । निकट भविष्यमा हार्मोनियम तथा वाद्यवादन र तबला प्रशिक्षण आयोजना गर्ने जानकारी समाजले दिएको छ । गत जेठ २१ गतेदेखि साउन ६ गतेसम्म भएको प्रशिक्षणमा प्रशिक्षकद्वय सरोज महर्जन र सुरेश श्रेष्ठले प्रशिक्षण दिएको आयोजक संस्थाका सदस्य कुमारमान मलेकुले जानकारी दिए । तालिम समापनको दिन प्रशिक्षार्थीले बाँसुरी बजाएर स्थानीय क्षेत्रका देवीदेवताका मन्दिर तथा त्रिशूलीबजार परिक्रमा गरेका थिए ।