विदुरको डेंगु रोकथाम र नियन्त्रण अभियान

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार ११:३०

नुवाकोट, विदुर नगरपालिकाले १३ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि सोमबारदेखि वडा नं. २ र ४ को विदुरबाट अभियान सुरु गरेको छ । डेंगु सङ्क्रमण हुन नदिन खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।

गत पुस १७ देखि साउन १५ गतेसम्म नुवाकोटमा २८ जना डेंगुका सङ्क्रमित बिरामी फेला परेपछि विदुरले सरोकारवाला निकायको सहयोग र समन्वयमा डेंगु रोग तथा नियन्त्रण अभियान सुरु गरेको छ । सबै वडामा सामाजिक सङ्घ–संस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल समिति, राजनीतिक दलसहितको सहभागितामा घरघरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालिएको नगरप्रमुख राजन श्रेष्ठले बताए । फैलँदै गएको डेंगु रोग नियन्त्रणका लागि विदुर नगरपालिकाको आयोजनामा ‘लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट अभियान’मार्फत डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि सोमबार नगरपालिका कार्यालय परिसरको वडा नम्बर २ र ४ को विदुर क्षेत्रमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका र नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, नगरको स्वास्थ्य शाखासहित नगरमा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, नागरिक समाज, स्थानीयवासी, सरोकारवालालगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख रमेश पण्डितको विशेष उपस्थितिमा सडकको दायाँबायाँ सरसफाइ र ‘लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट अभियान’ शुभारम्भ भएको छ । ‘डेंगु रोगको रोकथाम तथा नियन्त्रण’ अभियानलाई निरन्तर रूपमा नगरको सबै वडा, टोल तथा बस्तीमा सञ्चालन गर्न नगरप्रमुखबाट निर्देशन भएको जनस्वास्थ्य अधिकृत पूर्णधोज श्रेष्ठले बताए ।