सेवा विशिष्टीकृत र प्रभावकारी बनाउन सुझाव

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार ११:५३

विदुर, नुवाकोट, रसुवा र धादिङवासीलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको त्रिशूली अस्पतालको गत हप्ता वार्षिकोत्सव सम्पन्न भएको छ । गत बिहीबार अस्पतालको ५९औँ स्थापना दिवसको अवसरमा सहभागी मन्त्री, प्रदेश सभाका सदस्य, जिल्लाका जनप्रतिनिधि र सामाजिक अभियन्ता तथा सर्वसाधारणले अस्पतालको सेवा नागरिकको विश्वास बढ्ने गरी अझै विशिष्टीकृत र प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

त्रिशूली जलविद्युत् केन्द्र निर्माण गर्ने क्रममा कर्मचारी तथा कामदारका लागि स्वास्थ्य उपचार गर्न ०२१ सालमा स्थापना भएको त्रिशूली अस्पताल गत बिहीबारदेखि ५९ वर्ष पुगेको छ । साधारण स्वास्थ्य केन्द्रको रूपमा खोलिएको त्रिशूली अस्पताल ०३२ सालदेखि सर्वसाधारण नागरिकका लागि खुला गरिएको थियो । ०६०सम्म एकजना चिकित्सकको भरमा रहेको अस्पतालमा अहिले १५ जना विशेषज्ञसहित चिकित्सक कार्यरत छन् । ०६९ देखि यो अस्पताल १५ बेडबाट ५० बेडमा स्तरोन्नति भएको हो । विगतमा सङ्घीय सरकारअन्तर्गत रहेको त्रिशूली अस्पताल हाल प्रदेश सरकारमातहत रहेर यस क्षेत्रका बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

अस्पतालको ५९औँ स्थापना दिवस साउन ११ गते भव्य कार्यक्रमबीच दिइरहेको स्वास्थ्य सेवाको समीक्षा गर्दै सम्पन्न भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितको सभापतित्वमा भएको स्थापना दिवस कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशी, प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले अस्पतालको भौतिक र प्रशासनिक पाटोमा सुधार आवश्यक रहेको र त्यसको पूर्णताबिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नहुने बताए । मन्त्रीद्वयले अस्पतालको सुधार र क्षमता विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि विगतदेखि निःशुल्क प्रदान गरिएमा डेक्सा स्क्यान सेवा यसै आवदेखि बन्द रहेको छ । उक्त सेवालाई शुल्क तिरेर भने अस्पतालले दिइरहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पण्डितले जानकारी दिए । डायलाइसिस सेवा दिइरहेको अस्पतालले यसै आवदेखि सिटिस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

अस्पतालको स्थापना दिवसको कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय रमेशकुमार महत, राधिका तामाङ, पूर्वप्रदेश सभा सदस्य हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी किरण थापा, तादी गाउँपालिकाका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिकाको प्रमुख शंकर थापा, किस्पाङ गाउँपालिकाका उपप्रमुख एवम् त्रिशूली अस्पतालका पूर्वसञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलगायत एक दर्जनभन्दा बढी नेता–कार्यकर्ताले अस्पतालले प्रभावकारी र गुणस्तर उपचार सेवा प्रदान गरिरहेको बताएका थिए । सो कार्यक्रममा स्थापना दिवसको अवसरमा भएको कर्मचारीबीचको खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट सेवा दिने चिकित्सक तथा कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । विगतमा यो अस्पताल सङ्घ र प्रदेशस्तरमा पटक–पटक सेवामा प्रदान गर्नेमा उत्कृष्ट रहेकामा सम्मानित भइसकेको छ । अस्पतालको सेवालाई समयअनुसार विकास र बिस्तारमा सबैको सहयोग जुटाएर लैजाने अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहले प्रतिबद्धता जनाए ।