धुन्चे, रसुवाको कालिका गाउँपालिका-५ गैरीनागीको थाप्लोमा अवस्थित रमिते ढुङ्गो प्रचार-प्रसार गर्न सके आन्तरिक पर्यटक आकर्षित गराउन सक्ने सम्भावना बोकेको छ ।
पासाङल्हामु राजमार्गको स्याउबारी–गोम्बोडाँडाबाट नजिकै रहेको भए पनि प्रचार-प्रसारको अभावले रमिते ढुङ्गो गुमनाम भएको छ । यो ढुङ्गोमा चढेर हेर्दा साँच्चिकै रमिता देखिने भएकाले पनि यसलाई रमिते ढुङ्गो भनिएको अनुमान त्यहाँ पुग्नेले महसुस गर्छन् । त्यहाँबाट वरपरका दृश्य हेर्दा हेलिकोप्टरबाट हेरिरहेको छु भन्ने आभास दिलाउँछ । सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रुप्सेपानी, जिबजिबे, भदरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभिर पाखा, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपुरी चिसापानीसम्मका दृश्यका साथै गणेश हिमाल पनि देख्न सकिन्छ । पर्यटकका लागि सात सय ५३ वटै स्थानीय सरकारले विभिन्न स्थानमा भ्युटावर बनाउन तँछाड-मछाड गरिरहेका छन् । आफैँमा भ्युटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न दुई-चार लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले यस्ता प्रकृतिबाट निर्मित स्थानको चासो स्थानीय सरकारले दिन आवश्यक छ ।
लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्ली भञ्ज्याङ–सिङ्गीलामा च्यानडाँडाबाट सीधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान)बाट राम्चे सुधारोन्मुख सडकमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । यहाँबाट दुई–तीन घण्टाको हिँडाइमा प्राकृतिक अर्को भ्युटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ । यहाँबाट नै अर्को नवपर्यटकीय गन्तव्य बिजिङ जोङ अर्थात् बिजुली ढुङ्गा पनि पुग्न सकिन्छ । रसुवा जिल्लामा यस्तो लोभलाग्दो प्राकृतिक छटाले भरिपूर्ण ठाउँ अनगिन्ती रहेका छन् । स्थानीय सरकारले ती स्थानको प्रचार–प्रसार गर्ने र आवश्यकीय पूर्वाधार बनाउन सके शुल्कसमेत लिन सक्छन् ।