उत्तरगयाधाम साउन महिना दर्शनका लागि महत्वपूर्ण तीर्थस्थल

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार १२:०६

बेत्रावती, सत्ययुगमा देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्केको हलाहल नामक कालकुट विषले संसार दग्ध गराउन लाग्दा रक्षार्थ भगवान् शिवजीले उक्त विष निल्नुभएको थियो रे ।

उक्त विष शिवजीको घाँटीमा अड्किएपछि विषको डाह शान्त पार्न हालको रसुवा-नुवाकोटको सीमास्थल उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आई पानीको प्यास लाग्दा वेदको लौरोले खोपेर पानी निकाल्नु भई पानी खाएर डाह शान्त गरेको धार्मिक किंबदन्ती रहेको छ । शिवजी त्यसपछि कालिकास्थान हुँदै हिमालको फेद हालको गोसाइँकुण्ड पुग्नुभएको त्यहाँको चट्टानको पहरामा शिवजीले त्रिशूलले हानेर तीनवटा पानीको धारा निकाल्नुभएको र त्यो बगेर गोसाइँकुण्ड बनेको भन्ने गरिन्छ । गोसाइँकुण्डबाट बगेको पानी नै त्रिशूली नदी हो । गोसाइँकुण्ड पुगेर आउने तीर्थयात्री कालिकास्थानको देवीको मन्दिर र बेत्रावतीमा रहेको उत्तरगयाधाममा स्नान र दर्शन गर्नुपर्ने किंबदन्ती रहेको छ । वेदको लौरोबाट उत्पत्ति भएको बेत्रावती नदीका नामबाट नामकरण हुन गएको यो स्थान रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्दछ । दुवै जिल्लामा बेत्रावतीको भूभागबराबर जस्तै भए पनि महत्वपूर्ण संरचना भने रसुवाको भूभागमा रहेको छ । सामुद्रिक सतहबाट सात सय १४ मिटरको उचाइमा अवस्थित बेत्रावती रसुवाको प्रवेशद्वार हो । पासाङल्हामु सडकखण्ड त्रिशूलीबजारबाट आठ किलोमिटर उत्तर, फलाखु, तलाखु र त्रिशूली नदीको त्रिसङ्गमको रूपमा रहेको बेत्रावती सबैको धार्मिक आस्थाको धरोहर नै बनेको छ । रसुवा र नुवाकोटका प्रायजस्तो मानिसको मृत्युुपश्चात् यही भूमिमा देहदहन गर्ने गरिन्छ ।

नेपाललगायत भारतबाट विशेष गरी पौषेऔँसीका दिन पुर्खाको नाममा श्राद्ध गर्नेको सङ्ख्या बर्सेनि बढिरहेको छ । असामायिक निधन वा दुर्घटनामा परी मरेका वा परेकाको पुर्खाको नाममा यहाँ तर्पण दिए मात्रै पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रहेको छ । संसारका चार धाममध्येको एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीलाई पर्यटकीय सम्भावनालाई नियालिरहेको छ । रसुवालाई प्रवेशद्वार बनाएर पूर्वतर्फ भोर्ले, सरमथली र यार्सा पश्चिमतर्फ नुवाकोटको फिकुरी, मनकामना, रसुवाको ठूलोगाउँ, डाँडागाउँ, हाकु तथा गत्लाङतर्फका पर्यटकीय मार्गको विकास गर्न सकिने सम्भावना रहेको छ । बेत्रावतीमा ठूलो एकादशी, गाईजात्रा, पौषेऔँसी तथा माघेसङ्क्रान्तिका दिन गोरू जुधाउने मेला लाग्दछ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थलको प्रचार–प्रसार र प्रवद्र्धन गर्न स्थानीयवासी सक्रिय रहेका छन् ।