आँखा रातो हुने रोगको सङ्क्रमण बढ्दै

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार १२:०९

विदुर, देशभर फैलिँदै गरेको आँखा रातो हुने (आँखा पाक्ने) रोगीको सङ्ख्या नुवाकोटमा पनि बढ्न थालेको छ । साउनको दोस्रो हप्तादेखि नुवाकोटमा आँखा रातो भएर अस्पताल आउनेको सङ्ख्या बढ्न थालेको हो ।

जिल्ला अस्पताल त्रिशूली र जिल्ला सामुदायिक आँखा केन्द्र विदुरमा दैनिक आँखा रातो भएर उपचार गर्न आउनेको सङ्ख्या बढिरहेको छ । जिल्लामा तादीको खरानीटार, दुप्चेश्वरको समुन्द्रटार र लिखुको चौघडामा सामुदायिक आँखा केन्द्रको शाखा सञ्चालनमा रहेका छन् । जिल्लाभरि नै आँखा रातो भएर उपचार गराउन आउने रोगीको सङ्ख्या बढिरहेका जिल्ला सामुदायिक आँखा केन्द्र विदुरका नेत्र अधिकृत ताराबहादुर वाइबाले जानकारी दिए । आँखा रातो हुने व्यक्तिको चिप्रा वा थुकको माध्यमबाट एडिनो भाइरसले अन्य व्यक्तिमा सङ्क्रमण फैलाउँछ । कुनै पनि वस्तु छोइसकेपछि हात धुनुपर्छ । आँखालाई हातले छोइराख्नुहुँदैन । सङ्क्रमित व्यक्तिको रूमालको प्रयोग गर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव नेत्र अधिकृत वाइबाले दिए । चिकित्सकको सुझावअनुसार औषधि–उपचार गर्नु र जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न उनले सल्लाह दिएका छन् । आँखा रातो भएमा आँखा शीतल पार्ने ड्रप (कृत्रिम आँसु) भने प्रयोग गर्न सकिने उनले बताए ।