विदुर, वर्षात् सुरु भएसँगै विदुर नगरवासीले भोग्दै आएको खानेपानीको समस्या यस वर्ष पनि सुरु भएको छ । खानेपानी मुहानको दिगो समाधानमा सरोकारवाला निकायले ध्यान नदिँदा विदुर नगरपालिका १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले वर्षात् सुरु भएपछि विगतदेखि नै खानेपानीको समस्या भोग्दै आएका छन् । यस वर्ष पनि गत साउनको २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी ल्याएको फंलाखु खोलाको मुहान बगाइदिएपछि विदुर क्षेत्रमा दुई हप्तादेखि खानेपानीको हाकार भइरहेको छ ।
मुहान बगाएपछि उपभोक्ता संस्थाले वितरण गरिरहेको पानी कम हुँदा चार दिनमा एकपटक क्षेत्र छुट्याएर पानी वितरण गर्ने गरेको छ । संस्थाले सिँचाइमा दुईवटा र ढुङ्गेको कृषि ज्ञान केन्द्रको परिसरमा एक गरी तीनवटा डिप बोरिङ गरे पनि पानीको आपूर्ति असहज भएको छ । विदुरको ६ वडाका लगभग ५० हजार उपभोक्ताले उपभोग गरिरहेको पानीको माग प्रतिसेकेण्ड ८० लिटर रहेको छ भने आपूर्ति २० लिटर प्रतिसेकेण्ड रहेको संस्थाको अध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । मुहान बगाएपछि नगरपालिकाभित्र वितरण हुने खानेपानी दुई हप्तादेखि अभाव भएको छ । फलाखु खोलामा आएको भीषण बाढीले मेन लाइनको तीन सय ५० मिटरको हेड डिआई पाइप पूर्ण रूपले क्षति भएको छ । वर्षात्, बाढी र पहिरोले उपभोक्ता संस्थाको पानी ल्याइरहेको मेन लाइन मुहानको सम्पूर्ण संरचना बगाएको छ भने हेड डिआई पाइपसहितको क्षति झन्डै ५० लाखभन्दा बढीको भएको प्राविधिकले प्रारम्भिक अनुमान गरेका छन् । उक्त मुहान मर्मतसम्भार कार्य सम्पन्न नभएसम्म खानेपानी चार–पाँच दिनमा क्षेत्र छुट्याएर वितरण गर्नुपरेको जानकारी संस्थाले दिएको छ । खानेपानी वितरणमा वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र विदुरको बोरिङको खानेपानी र नलगाउँ मुहानको खानेपानी दुरुपयोग नगरी अधिकतम सदुपयोग र बचत गर्दै खानेपानीको उपभोग गर्नको लागि संस्थाले उपभोक्तालाई आग्रह गरेको छ ।
बाढीले क्षति पु¥याएको उक्त मुहानको मर्मत कार्य थालिसकेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । मुहानको अस्थायी मर्मतको काम सुरु भइसकेको छ । अब एक हप्ताभित्र पानी सञ्चालन गर्ने जानकारी संस्थाले दिएको छ । अस्थायी मर्मतका लागि आवश्यक खर्चको लागत अनुमान गरी जिल्ला विपत् व्यवस्थापन समिति र विदुर नगरपालिकालाई अनुरोध गरिएको संस्थाका सचिव राजेन्द्र पाण्डेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । फलाखु मुहान सम्झौताअनुसारको संरचना निर्माण नभएको पाइएकाले मुहानको संरचना निर्माण गर्न निर्माण व्यवसायीले सिको कालिका टुण्डी जेभीलाई ताकेता संस्थाले गरिरहेका छन् ।