त्रिशूल झरना हेर्नेको लाग्न थाल्यो भिड

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार ११:५९
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा प्राकृतिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिले थुप्रै पर्यटकीय गन्तव्य रहेका छन् । पर्यटकीय अथाह सम्भावना भएको जिल्ला भएर पनि रसुवाले खासै लाभ लिन सकेको छैन । जिल्लाको उच्च हिमाली क्षेत्रबाट बग्ने ठाँडा खोला र एक सय आठवटाभन्दा बढी कुण्ड रहेकाले धार्मिक, प्राकृतिक र साहसिक पर्यटनका लागि प्राकृतिक रूपमा रहेका स्थलको प्रचार–प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बन्न सक्छ ।

साबिकको स्याफ्रु गाविस–५ हालको गोसाइँकुण्ड गाउँपालिका–५ तिवारी बगरमा रहेको गोसाइँकुण्डबाट बगेर आएको छाँगालाई स्थानीय सरोकारवालाले त्रिशूल झरना भर्खरै नामकरण गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईलगायत गोसाइँकुण्ड गाउँपालिका–६ का अध्यक्ष दावासिदर वाइबा, गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्य, उद्योग वाणिज्य सङ्घको कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठ, हरित युवा पर्यटन विकास डिवाइटिडिएसका अध्यक्ष प्रमोदकुमार तितुङ, ल्याकोस रसुवाका अध्यक्ष सन्तोष घले, होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान गजुरेल र स्थानीय होटेल व्यवसायी र स्थानीयले स्थलगत अवलोकन गरेर गत हप्ता नयाँ झरना नामकरण गरेका थिए । आन्तरिक तथा बाह्य पर्यटक सहज पुग्न सक्ने यो त्रिशूल झरना सदरमुकाम धुन्चेबाट ३५ मिनेटको पैदल हिँडेर पुग्न सकिन्छ । उक्त झरना साउन ३२ गते त्रिशूल झरना भनेर नामकरण गरिएको थियो । ठूलो गोसाइँकुण्ड पुग्न नसक्नेले यहीँ स्नान गरे पुन्य मिल्ने स्थानीय बताउँछन् । जब सङ्घीयता लागू भयो त्यतिवेला गाउँपालिकाको नाम गोसाइँकुण्ड भनेर राखियो र हाल गोसाइँकुण्ड गाउँपालिका– ५ मा रहेको यो झरना सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्डलगायत साना–ठूला कुण्ड र वरपरका झरना मिलेर बगेर आएको पानीको छाँगा अहिले त्रिशूली झरनामा परिणत भएको छ । यो झरनामा बाह्रै महिना पानी यत्तिकै बगिरहन्छ । उत्तरगया गाउँपालिकामा पर्ने भाँगे भरना एक सिजनमा मात्रै देख्न पाइन्छ । तर, यो त्रिशूल झरनामा बाह्रै महिना पानीको कमी हुँदैन । चट्टानी पहाडबाट त्रिशूली नदीमा खसेको यो झरना र तलको नदीको सौन्दर्यले आकर्षण गर्ने भए पनि यो स्थलमा पर्यटकीय चहल–पहल नभएकोमा स्थानीय चिन्तित छन् । धुन्चेबाट गोसाइँकुण्ड जाने पैदल मार्गको तिवारी बगरको छेउमा खसेको यो झरना अदभूत र रमणीय भएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउँदै चट्टानबाट झर्ने झरनामा कुनै जोखिम नरहेकाले थप सौन्दर्य बढाएको उल्लेख गरे । ‘कतिपयलाई लाग्न सक्छ– पहिरो जान्छ । तर, ढुङ्गै–ढुङ्गा भएकाले त्यस्तो कुनै जोखिम छैन । पर्यटन तथा यात्रुले कुनै डर मान्नुपर्दैन । ढुक्कले झरना अवलोकन गर्नुका साथै यात्रा गर्दा हुन्छ । वर्षाको बेला झरनामा पानीको मात्रा बढ्छ र झरना झन् राम्रो देखिन्छ,’ उनले भने ।

सत्ययुगमा भगवान् र राक्षसबीचको लडाइँको क्रममा समुद्रमन्थन गर्दा कालकुट विषको उत्पत्ति भयो । सो उत्पत्ति भएको कालकुट विषबाट संसार नै सखाप हुने भएपछि सृष्टि रक्षार्थ शिवले उक्त कालकुटको विष सेवन गरी उक्त विषले औडाहा र छटपटा भएपछि डाहा शान्त पार्न भौँतारिँदै गोसाइँकुण्ड क्षेत्रतर्फ आइपुग्नुभयो र डाहा र छट्पटीको साथ प्यास लागेको हुँदा उहाँले आफूसँग भएको त्रिशूलले भित्तामा गोप्दा तीनवटा धारा उत्पत्ति भयो र उक्त धारामा पानी आयो र पानी बग्दै गोसाइँकुण्ड बन्यो र त्यही तालमा भगवान् शिव डुबेर घाँटीमा अड्केको विषबाट मुक्ति पाउनुभएको भन्ने किंवदन्ती रहेको छ । त्यही कुण्डबाट बगेर आएको पानीलाई अहिलेसम्म कुनै पनि नाम दिइएको थिएन र सरोकारवाला मिलेर उक्त झरनाको नामकरण गर्नुपर्छ भन्ने मनसायले स्थानीय सरोकारवालाले त्रिशूली झरना नामकरण गरेको गोसाइँकुण्ड गाउँपालिका– ६ का अध्यक्ष दावा सिदर वाइबाले बताए । चारैतिर हरियाली, बीचबाट छङ्छङ् बग्ने कञ्चन झरना, अग्लो ठाउँबाट झरेको पानी निकै मनमोहक तथा सुन्दर दृश्यले यहाँ पुग्ने जो–कोही पनि हेरेको हेरै हुन्छ । एक महिना अघिसम्म झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त झरना हेर्न र रमाउन आउने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ । हामी सबैलाई थाहा छ– पानीको सुन्दर फोहोराको एउटा रूप हो झरना । पानी छोटो–लामो छाँगा वा छहराको डिलबाट अविरल ओर्लिने क्रममा झरनाको स्वरूप सिर्जना हुन्छ । झरनाले छुट्टै रोमाञ्चक साङ्गीतिक लय नै हाल्छ । पानीको वाद्यवादन, गायन र नृत्यको संयुक्त प्रस्तुति पोखिन्छ । झरनाको आकृति हेरेर र आवाज सुनेर धेरै रोमाञ्चित हुन सकिन्छ । जसले मानवीय तनाव हरण गराएर आनन्दवरण गराइदिन्छ । अनि नै त हामी जोकोही झरना भनेपछि हुरुक्कै हुन खोज्छौँ । झरनासँग आमने–सामने भएर झुम्न, रम्न, भिज्न फुरुक्कै हुन्छौँ । यस्ता झरना हिमाल, पहाडको देश नेपालमा झरझरको आवाजमा आऊ मलाई हेर्न भन्दै पर्यटक बोलाउँदै ओझेलिएर बसेका धेरै छन् । खुसीकै कुरो पछिल्लो समय मुख्य गरेर सूचना प्रविधिको विकाससँगै कतिपय झरनाले प्रचार पाउन थालेका छन् । विशेष गरेर फेसबुक, युट्युब, टिकटक, ट्विटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले झरनासँग जोडिएर उत्पादन गरेका सामग्री प्रकाशन–प्रसारण गर्ने गरेका छन् । फलस्वरूप प्रचार पाएका झरनामा पर्यटकको आवागमन बढ्न थाल्दा आम्दानीसँग जोडेर यसको प्रवद्र्धन गर्न स्थानीय हौसिएका छन् ।

सरकारसँग आर्थिक सहयोग लिएर झरना क्षेत्रमा यातायातको पहुँच पु¥याउनुका साथै पर्यटकमैत्री विभिन्न संरचना निर्माण गर्न स्थानीयवासी अग्रसर हुन थालेका छन् । पर्यटनसँग आधारित भएर प्रवद्र्धन गरिएका झरनामा पर्यटकको आकर्षण पनि बढ्न थालेको छ । यसका उदाहरण हालै नामकरण गरेको धुन्चेको त्रिशूल झरना रहेको छ । यी झरनामा हिजोआज पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेष गरेर पानीको बहाव बढ्ने समयमा झरनालाई आकृति र आवाजका हिसाबले धेरै आकर्षक अवतारमा हेर्न, सुन्न पाइन्छ । यसबाट स्थानीयवासीको आर्थिक सशक्तीकरणको स्रोत सिर्जना हुने गरी विभिन्न पेसा–व्यवसाय प्रवद्र्धन हुनमा सघाउ हुन थालेको छ । स्थिर वा जमेकोभन्दा तीव्र गतिको चलायमान पानी प्राणी तथा वनस्पति जगत्का लागि धेरै उपयोगी हुने अध्ययनमा देखिन्छ । झरनाले फोहोर पानी शुद्धीकरण गर्न सघाउने वैज्ञानिक धारणा रहेको बताइन्छ । झरनाको स्रोत भन्नु नै हिमपात र पानीको मुहान हुन् । जलवायु परिवर्तनका कारण कम हिमपात र वर्षात् हुने क्रम बढ्दा नेपालका धेरै झरना नाम मात्रका झरनामा परिणत भइरहेको अवस्था छ । यिनको पारिस्थितिकीय प्रणालीमा रोकावट आउन नदिन जलवायु परिवर्तन रोक्नमा सबैले जोड दिन आवश्यक देखिन्छ ।