जनैपूर्णिमाका दिन पार्वतीकुण्डमा मेला लाग्ने

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार १२:१२

धुन्चे, रसुवाको एक सय आठ कुण्डमध्येको गोसाइँकुण्डपछिको ठूलो र धार्मिक महत्वको पार्वतीकुण्डमा यस वर्षदेखि जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने भएको छ ।

पार्वतीकुण्डमा सन्तान नहुनेले पूजापाठ गर्दा सन्तान प्राप्त हुने र दुःख तथा समस्यामा परेका व्यक्तिको मनोकाङ्क्षा पूरा हुने विश्वासमा जनैपूर्णिमाका दिन पूजापाठ गर्ने गरिन्छ । आफ्नो समस्या समाधान गर्न जनैपूर्णिमाको मेलामा लामा–झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने कथन रहिरहेको छ । त्यही विश्वासमा भक्तजन त्यहाँ पुग्ने गर्छन् । तर, त्यो व्यक्तिले जनैपूर्णिमा या फागुपूर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुलाई खाना, खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । पार्वतीकुण्डको सम्बन्ध भारतको हिमाचलको बुद्धगयाको छोपेमाकुण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्ध जोडिएको विश्वास रहेको छ । यदि भारतको बुद्धगयाको छोपेमा कुण्डको दर्शन गर्न नसकेमा पार्वतीकुण्डको दर्शन गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने किंवदन्ती छ भने गोसाइँकुण्डको दर्शन गरेपश्चात् अनिवार्य पार्वतीकुण्डको दर्शन गरेमा मनका इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी प्रभात लामाले बताए । पार्वतीकुण्ड जान काठमाडौंबाट बिहानको ६ बजेर ३० मिनेटमा गत्लाङसम्मको सार्वजानिक बस छुट्छ वा आफू समूह मिलेर गाडी रिजर्भ गाडीमा आए पनि हुन्छ । पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किलोमिटर दूरीमा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चेदेखि ११ किलोमिटर स्याफ्रुबेँसी पुगेपछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हँुदै पुग्न सकिन्छ । पहिल्लो बाटो स्याफ्रुबेँसी पुगेपछि कोमिन, बाहुनडाँडा हुँदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ भने दोस्रो बाटो स्याफ्रुबेँसी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुँदै कुण्ड पुग्न सकिन्छ ।

पार्वतीकुण्डबाहेक अरू ठाउँ पनि छन् । धार्मिक पाठपूजापश्चात् कुण्डको वरिपरि एक सय आठ धारा, बुद्धपार्क र भ्युप्वाइन्ट अवलोकन गर्न सकिन्छ । पार्वतीकुण्ड तामाङ सम्पदा मार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालो गाउँले परिचित गत्लाङ गाउँ अवलोकनको साथै तामाङको कला, संस्कृति, परम्परा र रहन–सहनको अध्ययन गर्न पाउनुको साथै यहीँबाट नै रुबिभ्याली पर्यटन पथमार्ग पनि जोडिन्छ । यहाँबाट रुबिभ्यालीको पनि अवलोकनमा जान सकिन्छ । यस क्षेत्रको नजिकमा गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, नोज्येकुण्ड, नागकुण्ड र ज्यार्सातेन्जो भ्युप्वाइन्टसमेतको अवलोकन र भ्रमण गर्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा अहिले पार्वतीकुण्डको लहरे झार हटाउने र धारा बनाउने काम रहेको छ । डाँडाको टुप्पामा रहेको यो कुण्डबाट गणेश हिमाल, लाङटाङ हिमालसहित नागबेली हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।