तारकेश्वरका शिक्षकको अन्तरविद्यालय सरुवा

पालिकाको निर्णयको चौतर्फी प्रशंसा

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार १२:२५

दाङसिंह, नुवाकोटको तारकेश्वर गाउँपालिकाभित्रको विद्यालयमा कार्यरत झन्डै दुई सय ६० शिक्षकलाई घरपायक विद्यालयबाट पालिकाले अन्य विद्यालयमा सरुवा गर्न लागेको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले पालिकाभित्र कार्यरत शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने निर्णय गरेको छ । विद्यार्थीले आफ्नै गाउँ–टोलको शिक्षक भनेर हेप्ने गरेको भन्दै शिक्षकलाई पनि निजामती कर्मचारीजस्तै दुई–दुई वर्षमा अन्तरविद्यालय सरुवा गर्नुपर्ने माग विगतदेखि उठ्दै आएको थियो ।

जिल्लाका अन्य पालिकाले आँट गर्न नसके पनि तारकेश्वरले भने सरोकारवालाको अपेक्षाअनुसार निर्णय गरेर कार्यान्वयनमा ल्याउने तरखर गरिरहेको छ । पालिकाको शिक्षा क्षेत्रमा सुधारमा कोसेढुङ्गा साबित हुने उक्त निर्णय असफल बनाउन दशौँ वर्षदेखि घरनजिकको विद्यालयमा पढाइरहेका शिक्षक पढाउन छोडेर नेताको घरदैलो धाइरहेका छन् । यो निर्णय आगामी भदौ १५ देखि लागू हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । पालिकाको बैठकले काजमा रहेका शिक्षकको दरबन्दीसहित पदस्थापना गर्ने तथा दरबन्दी मिलान गर्नेसमेत निर्णय गरेको छ । पालिकाको उक्त निर्णयलाई शिक्षा क्षेत्रको उन्नयनमा अहोरात्र खटिरहेका समूहले प्रशंसा गरेका छन् । उक्त निर्णयलाई अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाले प्रशंसा गर्दै कार्यान्वयनमा जोड दिएका छन् । पालिकाभित्र कार्यरत शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने निर्णय जनप्रतिनिधिको चर्चामा आउन गरेकोजस्तो नहोस् भनेर अभिभावकले अध्यक्ष अधिकारीसहित जनप्रतिनिधिलाई खबरदारी गरिरहेका छन् ।

गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकताको विषय भएकाले सोही कुरालाई मध्यनजर गर्दै पालिकाले विभिन्न नीति अवलम्बन गरेको अध्यक्ष अधिकारीले बताए । शिक्षाको गुणस्तरमा कुनै सम्झौता नहुने उनको भनाइ रहेको छ । विद्यालयको उक्त निर्णयप्रति घरपायक रहेका शिक्षकले भने असहज महसुस गरिरहेका छन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाभित्र माविदेखि इसिडी कक्षासम्म जम्मा ३४ वटा विद्यालय रहेका छन् । जसमा माध्यमिक विद्यालय सातवटा, निमावि ६ वटा, प्राविको कक्षा एकदेखि पाँचसम्मको ६ वटा, एकदेखि तीनसम्मको १४ वटा र एउटा इसिडी विद्यालय रहेका छन् । विद्यालयमा शिक्षक र विद्यार्थीबीच आसपी सौहार्दता कायम गर्नुका साथै शिक्षा क्षेत्रमा विद्यालयलाई चलायमान बनाउन पालिकाले यस्तो निर्णय गरेको दाबी अध्यक्ष अधिकारीले गरेका छन् ।

विगतदेखि नै सामुदायिक विद्यालयमा पढाउने शिक्षक घरपायक भएका कारण विद्यालयको गुणस्तरमा समस्या आउने र विद्यार्थीले आफ्नै गाउँ–टोलको शिक्षक भनेर हेप्ने गरेको भन्दै शिक्षकलाई पनि निजामती कर्मचारीजस्तै दुई–दुई वर्षमा अन्तरविद्यालय सरुवा गर्नुपर्ने माग उठ्दै आएको थियो । विगतमा जनप्रतिनिधिले स्थानीय अभिभावक र विद्यार्थीको भावना र चाहना बुझेर निर्णय गर्न नसक्दा सामुदायिक विद्यालयको स्तर खस्कँदै गएको सरोकारवालाले बताउँदै आएका थिए । जिल्लाका १२ पालिकामध्ये तारकेश्वरले स्थानीय अभिभावक र विद्यार्थीको भावना र चाहना बुझेर गरेको निर्णयको अहिले प्रशंसा भइरहेको छ । शिक्षकले विद्यार्थीको भविष्यको भन्दा पनि दलको राजनीतिक भविष्यप्रति चिन्ता गर्नाले नेपालमा शिक्षामा गरेको लगानी बालुवामा पानी हालेसरह भएको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले बताए ।