सिरानबजार जाने सडक पुनर्निर्माणमा चासो

  • त्रिशूली प्रवाह
  • १५ भाद्र २०८०, शुक्रबार ११:२१
  • राजेन्द्र बस्नेत

धादिङ, धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीको सिरानबजार जाने सडक तत्कालका लागि मर्मत र दीर्घकालका लागि पुनर्निर्माण गर्नेबारे सरोकारवालाले चासो राखेका छन् ।

०७२ को भूकम्पसँगै भासिन सुरु भएको सडकको बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शनिबार निरीक्षण गर्दै बागमतीे प्रदेश सरकारको विपत् कोषबाट तत्काल सडक मर्मत गराउने बताए । सिरानबजारमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडकको निरीक्षण गराएका थिए । निरीक्षणकै क्रममा मुख्यमन्त्री जम्कट्टेलले सडक भासिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल सडक मर्मत गर्ने बताए । दीर्घकालीन रूपमा पुनर्निर्माणका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशनसमेत दिएका छन् । सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दीर्घकालीन पुनर्निर्माणको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने प्रतिबद्धता जनाए ।

सिरानबजार हुँदै खाल्टे र धुँवाकोट हुँदै नुवाकोट जाने सडक हो । यही सडकको किनारामा धादिङ उद्योग वाणिज्य सङ्घको कार्यालयसमेत रहेको छ । यसअघि पनि मर्मतको नाममा देखावटी काम हुने र हरेक वर्ष भासिएर समस्या थपिइरहँदा त्रसित बनेका स्थानीय आशावादी बनेका छन् । जिल्लाको सदरमुकाम सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ । सडक कुनापट्टि र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचना जोखिममा छन् । पैदल हिँड्न र गाडी गुडाउन पनि निकै जोखिम छ ।