विदुर, नुवाकोटका उद्योगी-व्यवसायीको प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ ।
गत ०८० वैशाख ८ गते सम्पन्न सङ्घको ११औँ अधिवेशन तथा १८औँ वार्षिक साधारणसभा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । उक्त कार्यसमितिले विधानअनुसार मनोनीत गर्नुपर्ने पाँच सदस्यलाई दुईपटकको कार्यसमिति बैठकले पूर्णता दिएको छ । सङ्घको मनोनीत कार्यसमितिको सदस्यमा मनीषा सापकोटा, शिवराज लामिछाने, गगन लामा, प्रमोद श्रेष्ठ र सज्जन उत्सुक सापकोटा चयन भएका छन् । सङ्घको निवर्तमान अध्यक्षसहित २८ जनाको कार्यसमिति रहने विधानमा व्यवस्था रहेको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । सङ्घको विधानअनुसार महिला उद्यमी विकास समिति सुजना खतिवडाको संयोजकत्वमा शुक्रबार गठन भएको छ । समितिको सल्लाहकारमा अञ्जली पाण्डे र सदस्यमा पूर्णिका अर्याल, ज्ञानु थापा श्रेष्ठ, सरस्वती नेपाल, बबि रिमाल, कमला कुँवर, शुभद्रा अधिकारी, उर्मिला कसजू, सुजना नेपाली, सरस्वती बस्नेत, सरस्वती आचार्य, युनिसा तामाङ, भागीरथ पाण्डे चयन भएका छन् । सङ्घले यस वर्ष माघमा महोत्सव गर्नका लागि असोजमा तयारी बैठक गर्ने जनाएको छ ।