फूलखेतीबाट हेमदम्पतीको वार्षिक आठ लाख कमाइ

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:३१
  • राजेन्द्र बस्नेत

जुगेडी (धादिङ), फूलखेतीबाटै लाखौँ कमाइ गर्न सकिन्छ भन्दा वैदेशिक रोजगारी लाखौँ लगानी गरेर जान तम्सेका युवायुवतीले पत्याउँदैन होला । फूलखेतीबाटै लाखौँ कमाउन सकिन्छ भन्ने प्रमाणित धुनीबँेसी नगरपालिका–९ जुगेडीमा १८ वर्षदेखि हेमलाल र रमाको जोडीले फूल व्यवसाय गरेर गरिदिएका छन् ।

हेमदम्पतीको काम मालीको हो । यो जोडीको दैनिक १० घण्टाजति समय फूलबारीमा बित्छ । उनीहरूको मुख्य काम नै फूलखेती गरेर पैसा कमाउनु हो । ०६१ सालमा काभ्रेपलाञ्चोक पाँचखालकी रमा श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेका हेमलाल श्रेष्ठलाई फूलखेतीमा श्रीमतीको भरपूर साथले सफल भइरहेका छन् । रमालाई पनि माइतीमा व्यावसायिक तरकारीखेती गरेकाले फूलखेती गर्न निकै सहज भएको छ । तरकारीखेतीमा भन्दा फूलखेतीमा काम सजिलो भएको रमाले बताइन् । दार्जिलिङका मानिसले नौबिसे क्षेत्रमा आएर फूलखेती गरेको देखेर प्रभावित भएका हेमलालले आफू व्यावसायिक फूलखेती गर्ने योजनासहित ०६० सालबाट फूलखेती सुरु गरेको बताउँछन् । सुरु–सुरुमा ग्याड्स र सयपत्री फुूलखेती गरेका थिए । कमाइ राम्रै हँुदै गइरहेको थियो । हरेक वर्ष लगानी बढाउँदै गएका थिए । ०७२ सालको भूकम्पले उनको १० लाख लगानी डुब्यो । त्यसपछि उनीसँग थप लगानी गर्ने पैसा भएन । त्यस वर्ष फूलखेती छाडे । त्यस अवधिमा तरकारी खेती गरेर पैसा सङ्कलन गरे अनि फेरि फूलखेतीमा लगानी गर्न सुरु गरे । अहिले उनको लगानी १४ लाख पुगेको छ । उनले आफूसँग रहेको आठ रोपनी जग्गामा १५ वटा टनेल बनाएका छन् । टनेल नरहेको जग्गामा तरकारीखेती पनि गर्छन् । तर, उनको मुख्य खेती भने फूल नै हो । गत वर्ष तीन टन फूल बेचेर ६ लाख ९६ हजार आम्दानी गरेका थिए । यसमा उनको श्रमको मूल्य नै धेरै हुन्छ । बिउ, मल, औषधि, विषादीमा पनि खर्च हुन्छ । फूलखेती गरेर बाँकी रहेको जग्गामा तरकारीखेती गरेर पनि आम्दानी लिइरहेका छन् ।

सरकारले पुष्प व्यवसायलाई खासै प्राथमिकता नदिएको गुनासो हेमलालको छ । यदि सरकारले नेपाली फूलखेती गर्ने किसानलाई उकास्ने हो भने भारतीय फूललाई रोक्न सक्नुपर्छ । कि नेपाली किसानलाई पर्याप्त अनुदान दिने व्यवस्था मिलाउनुपर्छ । नेपालमा फूलखेतीको प्रचुर सम्भावना छ । तर, भारतीय फूल आयात गरेकाले नेपाली फूल छायामा परेको उनको गुनासो छ । आफूले वार्षिक रूपमा खर्च र आम्दानी साथै सरदर मूल्यको समेत हिसाब निकाल्ने गरेको बताउने हेमलालले गत वर्ष वार्षिक सरदर एउटा मालाको बिक्री मूल्य दुई सय ३२ रुपैयाँ परेको छ । फूलको होलसेल व्यापारीले मागेको परिणाममा टिपेर गाडीमा पठाउने हो । अधिकांश समय फूलखेतीमै काम गर्नुपर्छ । ‘फूलखेतीलाई रेखदेख गर्दा छुट्टै मजा आउँछ । यही फूलखेतीबाट छोरा पढाएको छु । जेठो छोरा १२ पास ग¥यो । कान्छो छोरा १० कक्षामा पढ्दै छ । घरखर्च यहीबाट चलेको छ । कमाइका हिसाबले आठ लाखको हाराहारीमा कमाइ हुन्छ । अझ लगानी बढाएर काम गर्ने धोको छ । तर, बजार भारतीय फूलले कब्जा गरेको छ । नेपालमा फूलखेतीको सम्भावना रहेकाले हरेक वर्ष किसान फूल खेतीमा लाग्नुपर्ने देखिन्छ । किन लागिरहेका छैनन् । पुष्पखेतीको प्रचार–प्रसार गर्न आवश्यक छ । जन्मदेखि मृत्यु संस्कारमा सबै जाति–धर्मको लागि आवश्यक हुने पवित्र फूलखेतीमा सरकारले सहयोग गर्नुपर्छ,’ हेमलालको भनाइ छ । अहिले धुनीबेँसीमा ४० रोपनीमा फूलखेती भएको छ । धेरैजसो फूलखेती गर्ने रोल्पाली दाजुभाइ रहेको उनले बताए ।