+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो त्रिशूली-१ को शिलान्यास २०८३ मा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति २२ प्रतिशत

माथिल्लो त्रिशूली-१ को शिलान्यास २०८३ मा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति २२ प्रतिशत
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको गत भदौ २६ गते काठमाडौंमा विशेष समारोहबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे ।

Utsuk Books & Stationery
Satkar Machinery Center

निर्माणाधीन उक्त आयोजनाको शिलान्यास समारोहमा मन्त्री बस्नेतले यो आयोजना हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताए । निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत पूरा भएको छ । कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण ०७८ पुसबाट सुरु गरिएको थियो । आयोजनाका अनुसार भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण भइरहेको छ । कोरियन लगानीमा निर्माणाधीन आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा यो आयोजना निर्माण हुँदै छ । आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले जलविद्युत्मार्फत नेपालको आर्थिक विकास गर्न सकिने बताए । ‘नेपालले जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जा उत्पादन गर्न सक्छ । त्यसको आन्तरिक रूपमा खपत बढाई र अतिरिक्त भएको ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सक्नेछ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि नेपालले ठूलो योगदान गर्न सक्छ ।’

Suzuki New Bike & Scooter

भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिनेछ । आयोजनाको निर्माण मङ्सिर ०८३ भित्र सक्ने लक्ष्य राखिएको छ । यो आयोजनाको विद्युत् प्राधिकरणले किन्ने गरी २०१८ मै विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ । आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा रहेका छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । आयोजना सञ्चालन अवधि (३० वर्ष) मा ७०–८० जनाले रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण ०८३ को मङ्सिरभित्र सक्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह