माथिल्लो त्रिशूली-१ को शिलान्यास २०८३ मा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति २२ प्रतिशत

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:३८
  • सरस्वती न्यौपाने

धुन्चे, वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको गत भदौ २६ गते काठमाडौंमा विशेष समारोहबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे ।

निर्माणाधीन उक्त आयोजनाको शिलान्यास समारोहमा मन्त्री बस्नेतले यो आयोजना हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताए । निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत पूरा भएको छ । कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण ०७८ पुसबाट सुरु गरिएको थियो । आयोजनाका अनुसार भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण भइरहेको छ । कोरियन लगानीमा निर्माणाधीन आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा यो आयोजना निर्माण हुँदै छ । आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले जलविद्युत्मार्फत नेपालको आर्थिक विकास गर्न सकिने बताए । ‘नेपालले जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जा उत्पादन गर्न सक्छ । त्यसको आन्तरिक रूपमा खपत बढाई र अतिरिक्त भएको ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सक्नेछ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि नेपालले ठूलो योगदान गर्न सक्छ ।’

भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिनेछ । आयोजनाको निर्माण मङ्सिर ०८३ भित्र सक्ने लक्ष्य राखिएको छ । यो आयोजनाको विद्युत् प्राधिकरणले किन्ने गरी २०१८ मै विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ । आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा रहेका छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । आयोजना सञ्चालन अवधि (३० वर्ष) मा ७०–८० जनाले रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण ०८३ को मङ्सिरभित्र सक्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको छ ।