रसुवामा जनसङ्ख्या भन्दा डिम्याट खाता बढी

  • त्रिशूली प्रवाह
  • १८ आश्विन २०८०, बिहीबार ११:५३
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जलविद्युत् उत्पादन गर्ने जिल्लामध्ये अग्रस्थानमा रहेको जिल्लामा पर्छ । ०५२ पछि रसुवामा जलविद्युत् उत्पादनका लागि सरकारको लगानीमा रहेको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले जलविद्युत् निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्दै लाइसेन्स लिने प्रतिस्पर्धा चल्यो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ०५१ मा चिलिमे जलविद्युत् कम्पनी दर्ता भएपछि रसुवामा जलविद्युत् निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने र विद्युत् निर्माण गर्ने लाइसेन्स लिने होडबाजी नै चल्यो ।

चिलिमे जलविद्युत् कम्पनीले २०५३/०५४ बाट चिलिमे जलविद्युत् आयोजना निर्माण थालेसँगै रसुवावासीले सेयर पाउन थाले । ०६० सालमा चिलिमे जलविद्युत् आयोजनाले निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गरेपछि रसुवा जिल्लामा सरकारी र निजी लगानीमा जलविद्युत् योजनाको निर्माणको लहरै चल्यो । अहिले आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना सम्पन्न भएसँगै जिल्लावासीले पाउने सेयरको मात्रा बढेको छ । रसुवावासीले सेयर लिनका लागि डिम्याट खाता अनिवार्य खोल्नुपर्ने भएकाले पछिल्लो समय जिल्लाको जनसङ्ख्याभन्दा डिम्याट खाताको सङ्ख्या बढी रहेको छ । रसुवाबाट अहिलेसम्म कुल ५९ हजार ७५ वटा डिम्याट खाता खोलिएको छ भने जिल्लाको जनसङ्ख्या २०७८ को जनगणनाअनुसार ४५ हजार पाँच सय ५४ रहेको छ । रसुवा जिल्ला ठेगाना राखेर डिम्याट खाता खोल्नेको सङ्ख्या यसरी ह्वातै बढ्नुको कारण पछिल्ला दुई वर्षमा जिल्लामा जनसङ्ख्या बढेर भने होइन । जिल्लामा तीनवटा ठूला जलविद्युत् परियोजना निर्माणमा रहेका छन् । तिनै परियोजनाको आइपिओ भर्नलाई स्थानीयले डिम्याट खाता खोलेका हुन् । तर, तथ्याङ्कले भने स्थानीले मात्र नभई यसमा अरू कुनै तरिकाले अन्य क्षेत्रका व्यक्तिले पनि डिम्याट खाता खोलेको हुन सक्ने देखिएको छ । नत्रभने जनसङ्ख्याभन्दा बढी खाता खुल्ने थिएनन् । सेयर लिनका लागि रसुवावासीभन्दा पनि बाहिरी जिल्लाका र कर्मचारीले कागजपत्र मिलाएर डिम्याट खोल्ने र सेयर लिने गरेकाले बढी देखिएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।