लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बृद्धि, निकुञ्जको राजस्व एक करोड

  • त्रिशूली प्रवाह
  • २ कार्तिक २०८०, बिहीबार १२:३४
  • सरस्वती न्यौपाने

धुन्चे, पानी पर्न छोडेको र मौसममा सुधार हुन थालेपछि हिमाली जिल्ला रसुवामा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्र जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रति दिन वृद्धि भइरहेको छ । नेपालको हिमाली जिल्लामा पर्यटकको सिजन भदौ, असोज र कात्तिकलाई मानिन्छ । पर्यटकको सिजन सुरु भएपछि रसुवाको मुख्य पदयात्रामार्ग गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा पर्यटकको भिडभाड देखिन थालेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउनदेखि हालसम्म १० हजार सात सय ७० जना आन्तरिक तथा बाह्य पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । हिमाली पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड र लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेगको आर्थिक गतिविधि चलायमान भएको छ । वर्षा घटेको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा अत्यन्तै सहज भएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताए । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यस क्षेत्रमा पर्यटक आउने गरेकोसमेत उनले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवम् बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् । तीमध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार ६ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत ४५ लाख राजस्व प्राप्त भएकोसमेत उनले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि जिल्लाभरिका पर्यटकीय क्षेत्रमा स्तरीय होटेल सञ्चालनमा रहेका छन् । पर्यटन होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खाने–बस्ने व्यवस्थाका लागि होटेलको सुदृढीकरण एवम् खाद्यान्न भण्डारणसमेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबैलाई अनुरोध गरेका छन् । रसुवा भ्रमण गर्न आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ, चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषि उपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउने गर्दछ । काठमाडौंबाट रसुवा छोटो दूरीको मार्ग भएको कारण आन्तरिक तथा बाह्य पर्यटकको पहिलो प्राथमिकतामा राखेर भ्रमणमा आउने गरेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । दसैँको चहल–पहलले भन्दा पनि पर्यटक सिजन सुरु हुँदा आन्तरिक र बाह्य पर्यटक बढेका छन्, आन्तरिक तथा बाह्य पर्यटक बढेको कारणले अहिले जिल्लाको सडकमार्ग क्षेत्र र मुख्य पर्यटकीय मार्ग क्षेत्रमा आर्थिक गतिविधि वृद्धि भएको उनले बताए । चालू आ.व.को गत साउनदेखि असोज २० गतेसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले एक करोड राजस्समेत उठाउन सफल भएको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटेलको बक्यौता तथा गत आ.व.मा हेलिकोप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए ।