चाडपर्वले अर्थतन्त्र चलाउने आस

  • त्रिशूली प्रवाह
  • २ कार्तिक २०८०, बिहीबार १२:५२

नेपालीको घर–आँगनमा वर्षा ऋतु सकिँदै शरद ऋतुको सुरुवात भएको छ । शरद ऋतुमा नेपालीको महान् चाडपर्वमध्ये दसैँ, तिहार सुरु हुन्छ । शनिबार सोह्रश्राद्ध सकिएसँगै आइतबारबाट दसैँको जमरा राख्ने घटस्थापना प्रारम्भ भएको छ । हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड दसैँ यही हप्तादेखि सुरु हुन्छ । दसैँ आइसके पनि बजारमा चहल–पहल भने बढ्न सकेको छैन । नेपालीको आय–स्रोत घटिरहेको छ । आय–स्रोतले गर्दा यसपटक दसैँ अधिकांश निमुखा नेपालीका लागि महत्वहीन र खल्लो बनेको छ ।

महँगीको प्रभाव खाद्य तथा गैरखाद्य र सेवामा परेको छ । दुई वर्षदेखिको कोरोना नियन्त्रण हुन नपाउँदै रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्र थप डामाडोल बनायो । त्यसको प्रभावले विश्वभरि नै अहिले मूल्यवृद्धि, बेरोजगारी, विदेशी मुद्राको सञ्चितिमा ह्रास हुँदा अर्थतन्त्रमा गम्भीर असर परेको छ । यसको बाछिटाले नेपालको अर्थतन्त्रलाई पनि गम्भीर असर पारेको छ । यसले नेपालको अर्थतन्त्रलाई लपटिरहेको छ । कोरोना र रुस–युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर परेको कारण गरिबी बढ्दो छ । बिहान, बेलुका हातमुख जोड्न मुस्किल भइरहेको सर्वसाधारणलाई दसैँ, तिहार आएको महसुस गर्ने अवस्था छैन । दसैँको मुखमा इजरायलको वितण्डा अनि बझाङको भूकम्प, अफगानिस्तानको दर्दनाक अवस्था, धेरै नेपाली डायस्पोरामा रहिरहँदा हाम्रो अर्थतन्त्र धेरै तिनकै रकमले चलेको छ ।

असोज र कात्तिकमा नेपालीका दुई ठूला चाड दसैँ र तिहार पर्दछ । हुन त अरू बेला अरू जनजाति र धर्मावलम्बीको विभिन्न चाडपर्व आउँछन् र तिनका लागि पनि नेपालको वर्तमान राज्य प्रणालीले उत्तिकै सम्मान प्रकट गरेको छ । तैपनि नेपाल हिन्दू बाहुल्य राष्ट्र भएको कारण नेपालमा चाडपर्वको अभ्यास र अवलम्बन गर्ने समय असोज र कात्तिक महिना रहँदै आएको छ । दसैँ, तिहारमा स्वाभाविक रूपले नेपालीको आशा र उमङ्ग बढ्छ । यी दुई चाडपर्व आय–स्रोत नहुनेले ऋण गरेर भए पनि मनाउने प्रचलन रहिआएको छ । बजारमा अहिले नगद प्रवाह कम छ । सरकारले गर्ने विकास निर्माणको काम पनि चुस्त–दुरुस्त हुन नसकेकाले सरकारी ढुकुटीमा जम्मा भएको पैसा चलायमान नहुँदा बजारमा नगद प्रवाह भइरहेको छैन । जसले गर्दा दसैँ नजिकिँदा पनि आर्थिक चहल–पहल हुन सकेको छैन । धनीका लागि त्यति फरक नपर्ला, तर गरिबले वर्षभरि मिहिनेत गरी कमाएर परिवारका सबैजना सँगै बसेर चाड मनाउने सपना बोकेका हुन्छन् । व्यापारी–व्यवसायीको पनि यही बेला अलिकति बढी आर्जन गर्ने सपना हुन्छ । त्यसका लागि आफ्नो भएको पुँजी लगानी गरेर आवश्यक उपभोग्य सामग्री ल्याउने प्रयास गरेका हुन्छन् । तर, आफूले भनेजस्तो नहुँदा उनीहरूको आफ्नै लगानीसमेत डुब्ने सम्भावना रहन्छ । महँगीले सर्वसाधारणको चुलो बल्न सकिरहेको छैन । यस्तो बेला आइरहेको चाडपर्व महत्वहीन बन्दै उमङ्ग ल्याउन सकेको छैन । तीन तहका सरकारले सर्वसाधारणका लागि चाडपर्व मनाउने सक्ने वातावरण सिर्जना गरिदिनुपर्छ । निमुखा र गरिब जनताको भरणपोषणको जिम्मा सरकारले लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि कार्यान्वयनमा आएको छैन ।

नेपालजस्ता मुलुकमा त कुनै पनि सामाजिक कार्यक्रमको आर्थिक पाटो अवश्यै हुन्छ । साथै, संस्कृति तथा रीतिरिवाजको नाममा पनि आर्थिक क्रियाकलाप बढिरहेको पाइन्छ । तसर्थ सरकारले पनि यसपटक दसैँ, तिहार तथा छठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने अवस्था देखिँदैन । तर, कोरोना कहरका कारण रोजगारी गुमाउनुपर्दा क्रयशक्ति घटेकाले विगतका दुई वर्षभन्दा बढी नै आर्थिक क्रियाकलाप भए तापनि विगतमा झैँ नभएको व्यवसायीको गुनासो छ । नेपालीको सबैभन्दा ठूलो पर्व दसैँ सुरु भइसकेको छ । जसका कारण चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले जेनतेन भरथेग गर्दै आएको छ । हुन त यो विडम्बना नै हो, तैपनि मुलुकको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत रेमिट्यान्स बनेको छ । दसैँमा भित्रिने अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने भएका कारण पनि यसले बजारको मागको सिर्जना गर्ने गर्छ । बजारमा माग बढ्दा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । हुन त नेपालको आयातीत अर्थतन्त्र भएका कारण मागको पूर्ति गर्न आयात बढ्ने देखिन्छ ।

तैपनि व्यापार बढ्दा यसबाट अर्थतन्त्रमा केही चलायमान बनाउन भने अवश्य मद्दत पुग्छ । किनकि खुद्रा तथा होलसेल व्यवसायले नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा बढी रेमिट्यान्स दसैँको आसपास नै भित्रिने गरेको छ । दसैँ तथा दसैँपछि तुरुन्त आउने तिहार एवम् छठलगायतका चाडपर्व मनाउन विदेशमा रहेका नेपालीले आफ्ना घरपरिवार र आफन्तलाई पैसा पठाउने गरेकाले असोज, कात्तिक र मङ्सिर महिनालाई रेमिट्यान्सको सिजन नै मानिन्छ । यसरी राष्ट्रिय आयमा सुधार हुने र बजार चलायमान हुने हो भने आर्थिक वृद्धिलाई टेवा पुग्न सक्ने पनि आशा गर्न सकिन्छ । अहिले अर्थतन्त्रमा आएको सङ्कुचनलाई चाडपर्वमा हुने खर्चले आर्थिक वृद्धिदर बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।