Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नवदुर्गा भवानीको पूजा र बडादसैँ पर्व

नवदुर्गा भवानीको पूजा र बडादसैँ पर्व
त्रिशूली प्रवाह
२ साल अगाडी
  • आचार्य वासुदेव उपाध्याय नेपाल

वर्ष दिनका चाडपर्वमध्ये बडादसैँ नेपालीको महान् पर्व हो । यस पर्वकी प्रधान देवता शक्तिस्वरूप दुर्गा माता हुन् । त्यसैले दसैँमा शक्तिस्वरूप दुर्गा माताको पूजा–आराधना गरिन्छ । ‘शक्त्त्या विना शिवोक् पि शव’ अर्थात् शक्तिको सहयोग नभई शिवले पनि केही गर्न सक्नुहुन्न भनिएको छ । ‘शक्त्यधीनं जगत् सर्वम्’ अर्थात् कुनै पनि कार्य गर्न शक्तिको नै आवश्यकता हुन्छ । मानिसले केही काम गर्नुपर्नेछ भने आज मसँग यो काम गर्ने शक्ति छैन भन्छन् र त्यो काम हुन सक्तैन । वर्ष दिनसम्म धेरै काम गर्दा शक्ति क्षीण हुने र अरू धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हो । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दश दिनसम्म हो । दसैँका नौ दिनसम्म शक्तिको आराधना गरिन्छ । नामरूप र गुणका भेदले शक्तिका अनेक रूप छन् । दसैँमा नवदुर्गाको पूजा–आराधना गरिन्छ । नवदुर्गाको नाम यसप्रकार छ ।

‘प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेती कुष्माण्डेती चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेती षष्ठं कात्यायनीती च ।
सप्तमं कालरात्रिती महागौरीती चाष्टमम् ।।
नवमं सिद्धदात्री च नवदुर्गाः प्रकिर्तिताः।। दुर्गाकवच ३, ४, ५

१ – शैलपुत्री, २ – ब्रह्मचारिणी, ३ – चन्द्रघण्टा, ४ – कुष्माण्डा, ५ – स्कन्दमाता, ६ – कात्यायनी,
७ – कालरात्रि, ८ – महागौरी र ९ – सिद्धिदात्रीसमेत

नवदुर्गाको आराधना यसरी गरिन्छ । यसमा पहिलो दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यस दिन पहिले दियो, कलश र गणेशको पूजा गरी जमरा राखेर घटस्थापना गरी (अर्को कलश स्थापना गरी दुर्गा स्थापना गरिन्छ । प्रथम दिन शैलपुत्री दुर्गाको आराधना गरिन्छ । पूजाका अन्त्यमा कुभिण्डो, नरिवल आदि फलफूलको बलि दिनुपर्दछ । त्यसपछि ब्राह्मण वरण गरी सप्तशती चण्डी पाठ आरम्भ गरिन्छ । अथवा सङ्कल्प गरी आफैँ चण्डीपाठ गरे पनि हुन्छ । चण्डीपाठ प्रतिपदादेखि नवमीसम्म नौ आवृत्ति गरिन्छ । यसैक्रमले प्रतिदिन पूजा गरी चण्डीपाठ गर्नुपर्दछ । द्वितीयाका दिन ब्रह्मचारिणीको, तृतीयामा चन्द्रघण्टाको, चतुर्थीमा कुष्माण्डाको, पञ्चमीमा स्कन्दमाताको, षष्ठीमा कात्यायनीको, सप्तमीमा कालरात्रिको, अष्टमीमा महागौरीको र नवमीका दिन सिद्धिदात्री नामकी दुर्गाको पूजा–आराधना गरिन्छ । यसैबीच सप्तमीका दिन भद्रकाली देवीको आराधना गरिन्छ । षष्ठीका दिनमा नै बिल्व निमन्त्रणा गरिन्छ । बिल्व निमन्त्रणा भनेको बेलका वृक्षमा पूजा गरी म भोलि हजुरको हाँगो देवी पूजाका लागि लानेछु भनी प्रार्थना गरी निम्ता गर्नुलाई भनिन्छ । सप्तमीका दिनमा सरस्वतीको आह्वान र पूजा–आराधना गरिन्छ । सप्तमीका दिनलाई फूलपातीको दिन भनिन्छ । यस दिन बेलसमेत नवपत्रिका (फूलपाती) भित्र्याउने र तिनको अधिष्ठात्री देवी–देवताको पूजा गर्ने गरिन्छ । नवपत्रिका भनेका के–के हुन् भने–
कदली दाडिमी धान्या हरिद्रा मानकं कचु ।
बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिकाः ।।’

अर्थात् केराको पात, दारिम, धानका बाला भएको बोट, हलेदो, मानक (माने), कचु जसलाई कच भनिन्छ, बेलको पात फलसहितको हाँगो, अशोक र जयन्ती गरी नौ किसिमका फूल र पातलाई नवपत्रिका फूलपाती भनिन्छ । अष्टमीका दिनलाई महाअष्टमी भनिन्छ । यस दिन दुर्गाको आह्वान र पूजा–आराधना गरिन्छ । अष्टमीका रात्रिमा कालरात्रिविधि पनि गरिन्छ । पशुबलि दिनेले यस दिन विधिपूर्वक पशुबलि दिने गर्दछन् । विधि पुगेन भने यसबाट उल्टो फल प्राप्त हुन्छ । पशु बलि दिन ब्राह्मण जातिलाई निषेध छ ।
‘बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता । तेषां किल सुरामांसैर्नाेक्ता पूजा नृप क्वचित् ।।’ भनेर वैकृतिक रहस्यमा ब्राह्मणलाई पशुबलि दिन निषेध गरिएको छ । ब्राह्मणले बलि दिँदा – कुष्माण्ड, (कुभिण्डो) नरिवल, बेल, घिरौँलो, केरा, काँक्रो, ऊखु, मूला आदि फलफूल र कन्दमूलको बलि दिनुपर्दछ । कुष्माण्ड आदि बलि प्रत्येक दिन दिएर पाठ आरम्भ गर्नुपर्दछ । नवमीका दिनलाई महानवमी भनिन्छ । यस दिन त्रिशूलीनी भगवतीको आह्वान गरी आराधना गरिन्छ । त्यस दिन दुई वर्षदेखि दश वर्षसम्मका नौवटी कन्याको पूजा गर्नुपर्दछ । सक्नेले प्रत्येक दिन दुई वर्षदेखि दश वर्षका कन्याको पूजा गर्नुपर्छ । त्यसै दिन नौ आवृत्ति चण्डीपाठ समाप्त हुन्छ र यसको हवन गरिन्छ । हवन सप्तमी, अष्टमीतिर गरे पनि हुन्छ । दुर्गापूजाका हवनमा अग्नि जुराउनुपर्दैन । दशमीका दिनलाई विजयादशमी भनिन्छ । यस दिन जया, विजया र अपराजिताको पूजा–आराधना गरिन्छ । अनि दशमीका दिन देवीको विसर्जन गरिन्छ । विसर्जनपछि नयाँ वस्त्र लगाई देवीको प्रसाद स्वरूप तिलक, टीका, जमरा लगाइन्छ । यो टीका–जमरा लगाउने चलन नेपालका पूर्वी र मध्यभागका धेरै ठाउँमा पूर्णिमाका दिनसम्म छ भने पश्चिमी भागमा कतिपय ठाउँमा टीकाका दिन राति १२ बजेसम्म मात्र लगाउने चलन छ । यसरी दुर्गा भगवतीको उत्सव गरी शक्ति सञ्चय गर्ने दसैँ महत्वपूर्ण पर्व हो ।

दुर्गामाताले स्वयम् देवतालाई उपदेश दिनुभएको छ – ‘शरत्काले माहा पूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्ति समन्वितः ।।
सर्वाबाधाविनिर्मुक्तो धनधान्य सुतान्वितः ।
मनुष्यो मत्प्रसादेन भविष्यती नसंशयः ।।’ सप्तशती चण्डी १२/१२, १३

अर्थात् शरद ऋतुमा जसले भक्तिपूर्वक मेरो महापूजा–आराधना गरी सप्तशती चण्डी पाठ गर्दछ । त्यसका सम्पूर्ण दुःख, कष्ट नाश हुन्छन् । धनधान्य सुख ऐश्वर्य प्राप्त हुन्छ । रोगव्याधि र शत्रु नाश भई जीवन आनन्दमय हुन्छ भनेर स्वयम् देवीले भन्नुभएको हुँदा दसैँ पर्वमा देवीको आराधना गरी चण्डीपाठ गरेर शक्ति सञ्चय गरौँ । सम्पूर्णको कल्याण हुन्छ ।

दसैँ पर्व भनेको आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्त भएको उपलक्ष्यमा चलेको मानिन्छ । कारण अघि रावणको अत्याचारबाट त्रस्त जनताको र उसद्वारा हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले दुर्गा शक्तिको आराधना गरी भगवतीको प्रसाद स्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन र त्यसै यात्राका क्रममा रावणमाथि विजय प्राप्त गरेको हुँदा आश्विन शुक्ल दशमीलाई विजया दशमी भनिएको हो । मधु र कैटभ दैत्यको अत्याचारबाट त्रस्त ब्रह्मजीले भगवतीको आराधना गरेको र विष्णुले ती दैत्यमाथि विजय प्राप्त गर्नुभएको थियो । साथै, महिषासुर र शुम्भ–निशुम्भको अत्याचारबाट देवताले भगवतीको आराधना गरी भगवतीले महिषासुर र शुम्भ–निशुम्भमाथि विजय गर्न यात्रा गरेको आदि वर्णनबाट पनि आसुरी शक्तिमाथि दैवी शक्तिको विजय गर्न भगवतीको आराधना गरिएका प्रङ्गसबाट यस दिनको विजयादशमी नाम सार्थक भएको छ । फेरि सुरथ राजाले भगवतीको आराधना गरेर शत्रुद्वारा खोसिएको राज्य पुनः प्राप्त गरे भने समाधि नामक वैश्यले श्रीमती तथा छोराद्वारा अपहेलित भएर घरबाट निकालिएपछि भगवतीको आराधना गरेर मोक्ष प्राप्त गर्ने ज्ञान प्राप्त गरी मोक्ष भएका थिए । युधिष्ठीरादी पञ्चपाण्डवले छलयुक्त जुवाद्वारा खोसिएको राज्य भगवतीको आराधना गरेर युद्धद्वारा जितेर पुनः प्राप्त गरेका थिए । सत्राजित्द्वारा लगाइएको मिथ्यापवाद मेटाउन कृष्णद्वारा सत्राजितका भाइ प्रसेन र मणिको खोजीमा जाँदा २८ दिनसम्म जाम्बवानसँग श्रीकृष्णले युद्ध गर्नुभएको थियो ।

आासीत्तदष्टाविंशाहमितरेतर मुष्टिभिः।’ श्री.भा.१०/५६/२४

कृष्ण हराएकामा चिन्तित भई वसुदेव र देवकीले कृष्ण छिट्टै आऊन् भनेर भगवतीको उपासना गरेका हुँदा उपासना सकेकै दिन कृष्णजी टुप्लुक्क आउनुभएको प्रसङ्ग पनि पौराणिक साहित्यमा वर्णित छ । भगवतीको उपासनाद्वारा आफ्ना मनकामना पूरा भएका यस्ता धेरै उदाहरण छन् । केही मात्र यहाँ प्रस्तुत गरिएका हुन् । जे होस् भगवती दुर्गा माताको उपासना गर्दा मानिसलाई अवश्य कल्याण हुने कुरामा सन्देह छैन । त्यसैले हामी पनि श्रद्धा एवम् भक्तिद्वारा भगवतीको उपासना गरौँ, हाम्रा मनकामना अवश्य पूर्ण हुनेछन् । दुर्गा सप्तसती चण्डी पाठ गर्दा ध्यान दिनुपर्ने कुरा यस्तो छ : माधुर्यमक्षर व्यक्तिः पदच्छेदस्तु सुस्वरः । धैर्यं लयसमर्थं च षडेते पाठका गुणाः ।। मधुरता, शुद्ध स्पष्ट उच्चारण, पदच्छेद शब्द छुट्याइएको, राम्रो स्वरले, धैर्यतापूर्वक, छन्दअनुसार लय मिलाएर भन्न सक्ने यति ६ वटा लक्षण भएको वाचकलाई गुणी पाठक भनिन्छ । गिती शिघ्री शिरः कम्पी तथा लिखितपाठकः । अनर्थज्ञो४ल्पकण्ठश्च षडेते पाठकाधमाः ।। गीत भनेको जसरी भन्ने, छिटोछिटो, टाउको र जिउ हल्लाउँदै, आफैँले लेखेर, अर्थ नबुझी, थोरै मात्र कतैकतै कण्ठ पारेका, यस्ता ६ वटा लक्षण भएका पाठकलाई अधम वाचक भनिएको छ । शास्त्रमा भनेकाले होसियार भएर पाठ गर्नुपर्छ । ॐ श्रीदुर्गायैनमः, श्रीनवदुर्गाभवानीले हामी सबैको कल्याण गरुन् ।

विनपा–५, द्वारपाल, देवीघाट, नुवाकोट nepalbasudev98@gmail.com

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह