डोल्माको टिमुर खेतीबाटै आम्दानी गर्ने अठोट

  • त्रिशूली प्रवाह
  • १६ कार्तिक २०८०, बिहीबार ११:४१

धुन्चे, हिमाली जिल्ला रसुवामा औषधीय गुण भएका एक दर्जनभन्दा बढी जडीबुटी खेतीको प्रचुर सम्भावना भए पनि जडीबुटी खेती गर्नेतर्फ चासो राख्नेको सङ्ख्या भने न्यून रहेको छ । जडीबुटी खेतीको प्रचुर सम्भावनालाई व्यवहारमा उतार्न गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिमकी नुर्पुडोल्मा तामाङले आफ्नै सात रोपनी जग्गामा २६ हजार टिमुरको बिरुवा रोपेकी छिन् । उनले टिमुर खेतीबाट मनग्य आम्दानी गर्ने अठोट लिएकी छिन् ।

घरेलु कार्यालय रसुवामा टिमुर खेतीको फर्म दर्ता गरी गत साउन र भदौ दुई महिना लगाएर २६ हजार टिमुरको बिरुवा रुकुमबाट किनेर ल्याएर डोल्माले रोपेकी छिन् । उनको लगन र मिहिनेतको प्रशंसा गर्दै वन कार्यालय रसुवाले पनि एक हजार ६ सय टिमुरको बिरुवा निःशुल्क दिएको छ । श्रीमान्सहित घरपरिवारको साथ र सहयोगमा उनले टिमुर खेतीको सुरुवात गरेकी हुन् । अहिलेसम्म आफ्नै लगानीमा बिरुवा रोपेको क्षेत्रमा तारबारसहित थप व्यवस्थित गरिरहेको डोल्माले बताइन् । मसला तथा औषधीजन्य समूहमा पर्ने टिमुरको बिरुवा रोपेको तीन वर्षजतिमा फूल फुल्ने र चौथो वर्षदेखि फल फल्ने कृषि प्राविधिकले बताएका छन् । टिमुरको अलावा सिजनअनुसारको उनले अर्गानिक तरकारी खेतीसमेत गरिरहेकी छिन् । आफ्नो गाउँ–ठाउँको जग्गा–जमिन बाँझो राखेर अहिलेका युवा विदेश जान तम्सिनेका लागि डोल्मा प्रेरणाको स्रोत बनेकी छिन् । आम्दानी चाँडै नहुन सक्छ, तर दिगो रूपमा पछि त आम्दानी हुन्छ भन्ने लागेर टिमुर खेतीतर्फ लागेको डोल्मा बताउँछिन् । जहाँ गए पनि दुःख गर्नैपर्छ, पैसा रूखमा फल्दैन, त्यसैले बुढासँग सल्लाह गरेर विदेश नगई आफ्नै गाउँमै परम्परागत रूपमा गर्दै आएको कृषि पेसालाई परिमार्जित गरेर नयाँ तरिकाले खेती सुरु गरेको बताइन् । कहिलेकाहीँ त आफूसरहका साथी रमाएर सहरमा बसिरहँदा आफूलाई पनि रहर जाग्थ्यो, तैपनि दुःख त गर्नैपर्छ भनेर टिमुर खेती आफूखुशी गरेको उनले बताइन् । व्यावसायिक रूपमा रसुवाको वृद्धिममा टिमुर खेती सुरुवात गरेको देखेर अहिले उनका साथी र छिमेकीले पनि चासो दिन थालेका छन् । नेपालको ७७ जिल्लामध्ये स्याङ्जामा सबैभन्दा बढी टिमुरको खेती भइरहेको छ । यसबाहेक रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, रोल्पा, म्याग्दी, गुल्मी, बागलुङ, पाल्पा र पर्वतलगायत हिमाली जिल्लामा टिमुरको खेतीका लागि उपयुक्त हावापानी रहेको छ ।