‘त्यौहार’ मा दीपावली गर्नुको अर्थ ?

  • त्रिशूली प्रवाह
  • २३ कार्तिक २०८०, बिहीबार ११:३७
  • रिना खनाल

नेपाली मात्रको दोस्रो ठूलो महान् पर्व तिहार शनिबारबाट सुरु हुँदै छ । तिहार शब्दले नै नेपालीको मनमा छुट्टै रोमाञ्चकता प्रदान गर्छ । सुशोभित गराउँछ । तिहार झिलिमिली पर्व पनि हो । शरद ऋतुको आवागमनसँगै बिस्तारै दिन छोटो र रात लाम्बिँदै जान्छ । तिहारसँगै जाडोयामको प्रारम्भ पनि हुन्छ । बडादसैँको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औँसीनजिक हुँदै जान्छ । गाउँघर हरियाली हराउँदै सुक्खा र उजाड बन्दै गरेको याममा मखमली र सयपत्री फूल मगमगाउँछन् । फूलको सुगन्धले एक प्रकारको दिव्य माहोल स्वतः बन्छ । तिहार सबै वर्गका मानिसको रमाइलो पर्व हो । यस पर्वको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी र दाजुभाइका लागि विशेष दिन हो । प्राचीन समयमा कुनै सम्पर्क नहुने भएकाले वर्षमा एक दिन भए पनि दाजुभाइसँग आत्मीयता साटासाट गर्ने दिनको रूपमा लिन सकिन्छ । जनबोलीमा यस दिनलाई भाइटीका भनिन्छ ।

नेपालका साथै भारतका कतिपय प्रान्तमा समेत भाइटीका मनाइन्छ, त्यहाँ भैयादुज भनिन्छ । बङ्गाली समुदायले पनि भाइटीका भव्य रूपमा मनाउँछन् । तिहार प्रकाशको पर्व हो, त्यसैले यसलाई दीपावली भनिएको भन्दा फरक पर्दैन । परापूर्व कालमा आ–आफ्नो घरमा शुद्ध गाईको घ्यू तथा शुद्ध तोरीको तेलमा माटोको पालामा दियो बाल्ने प्रचलन थियो । यस्तो शुद्ध प्रकारका तेलमा दियो बाल्ने गर्नाले हाम्रो वरपर रहेका अवाञ्छित र स्वास्थ्यका लागि हानिकारक तत्व नष्ट हुनुका साथै हाम्रो मस्तिष्कमा सकारात्मक ऊर्जा प्रभावितमा मद्दत पुग्ने विश्वास गरिन्छ । गाईको शुद्ध घ्यूको तेलमा बत्ती बालेर केही समय हेर्नाले आँखाको ज्योति तेज हुनेसमेत विश्वास गरिने बुढापाकाको भनाइ छ । वास्तवमा दियो हाम्रो समाजमा दैनिक नित्यकर्म तथा पूजाआजामा नबालिने पनि होइन । यो दैनिक रूपमा बिहान तथा बेलुका आरती गरिन्छ । बालिएन भने पूजा अपूर्ण हुन्छ । तर, तिहारमा बालिने दियो विशेष उत्सवको रूपमा मानिने भएकाले यसले परस्पर सद्भाव र सामाजिक समरसता एवम् भ्रातृत्व कायम राख्न मद्दत मिल्दछ ।

तिहारमा लक्ष्मीपूजाको आराधना गर्ने हुनाले यसलाई धनवन्तरी (धनतेरस) पनि भनिन्छ । धनधान्यकी देवी लक्ष्मी हुन् । साथै, घरको मूलढोकामा दीपावली गर्नाले यमराज प्रसन्न भई दीर्घजीवन प्रदान गर्नेसमेत विश्वास गरिन्छ । कुनै नकारात्मक सन्देश प्राप्त गर्न नपरोस् तथा नकारात्मक किराको प्रवेश नहोस् भन्नाले गाईको गोबरले घर लिपपोत गरिन्छ अनि झ्याल–ढोकालाई समेत सयपत्री र मखमलीको माला पहि¥याएपछि प्रकाश र सजावटले मनमोहक बन्दछ । बास्नादार धुप, मखमली र सयपत्री फूलको मगमग सुगन्धले वातावरणलाई एक किसिमको मादकता प्रदान गर्दछ । परापूर्वकालमा कन्या केटीले भैलोगीत गाउँदै घरघरमा भैली खेलिन्थ्यो भने गोबद्र्धन पूजाको दिन कुमार केटाले देउसी खेल्ने परम्परा रहिआएको थियो । तर, आजभोलि सबै दिन सबै वर्गका महिला तथा पुरुषले देउसी–भैलो खेल्ने गरेका छन् । आजभोलिका देउसी–भैलो खेल्दा उच्छृङ्खल र अश्लील शब्द प्रयोग हुने हुँदा देउसी–भैलोको महत्व घट्दै गएको छ । आजभोलि युवापिँढीमा देउसी–भैलोको चर्चा हुन छोडेको छ । बिस्तारै हाम्रो पहिचानका रूपमा रहेका पर्व समाजले भुल्दै गएको देखिन्छ ।

तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्वपूर्ण छ । दीपावली स्वच्छता र प्रकाशको विशेष पर्व मान्न सकिन्छ । अन्धकारलाई परास्त गरेर उज्यालोको यात्रा हो जीवन भन्ने सन्देश दिन्छ तिहारले । धार्मिक कथनअनुसार त्रेतायुगमा भगवान् राम, लक्ष्मण र सीता १४ वर्ष वनबास पूरा गरी फर्कँदा कात्तिक कृष्ण पक्षको औँसीको रात थियो । सोहीअनुरूप अयोध्यावासीले आवागमनको खुसियालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेक वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने जनविश्वास रहिआएको छ । यसका साथै, कुवेरको वास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ ।

मानव सभ्यताको सबैभन्दा उत्सवमय पर्व तिहार । गाउँघरमा माटोको पालाभन्दा पनि क्यामुनाको पातको खोरी बनाई तथा केराको सुत्लामा बत्ती बालिने परम्परा अझै रहिआएको छ । आजभोलि बजारमा पाइने रेडिमेट पालाभन्दा त्यो कैयौँ गुणा स्वस्थकर छ । हाम्रो वास्तुशास्त्रअनुसार बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुने विश्वास गरिन्छ । घ्यूको बत्तीबाट निस्केको सुगन्धित धुवाँले वातावरणमा रहेका मानव स्वास्थ्यका लागि हानि गर्ने कीटाणुको नास गर्छ । अझै बत्तीलाई पूर्व फर्काएर बाल्दा आरोग्य र उत्तर फर्काएर बाल्दा धनलाभ हुन्छ भन्ने विश्वास गरिन्छ । दीपावली प्रकाश र सुगन्ध, मिष्ठान्नको त्यौहार हो, पर्व हो । जहाँ थरीथरीका रङले पोतिन्छ । जुन पर्वको आफ्नै विशेषता छ । जसले परम्परा र संस्कृति तथा आधुनिकता र परम्पराको फ्युजनलाई दर्शाउँछ । यो पर्वले मानव जीवन, प्रकृति र पशुपक्षीसँग प्रगाढ सम्बन्धलाई समेत छर्लङ्ग पार्दछ ।