कुरिलो खेतीबाट मनग्य आम्दानी

  • त्रिशूली प्रवाह
  • ७ मंसिर २०८०, बिहीबार ११:३३
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतबजारनजिकै १९ रोपनी जग्गा भाडामा लिएका स्थानीय सिङ्गी लामाले १९ लाखको लगानीमा कुरिलो खेती सुरु गरेका छन् ।

कुरिलोको बिउ बनेपाबाट लगानीमा खरिद गरेर बिउ लामाले ब्याडमा एक–एक गरेर रोपे । रोपेको केही समयपछि उनले जग्गामा रोपेको बिरुवा सारेका थिए । साँझ, बिहान मिहिनेत गरेर हेरचाह गरे । कुरिलोको बिरुवालाई आफ्नै सन्तानझैँ गरे, पानी हाले । यसरी नै वर्षदिन बिते र सबै बिरुवा हलक्कै बढे । उनको आत्मविश्वास पनि बढ्दै गयो । उनलाई कुरोलो खेतीले कतै घाटा पु¥याउने त होइन मनमा शङ्का पनि थियो । तर, उनले आफ्नो मनमा आउने नकारात्मकतालाई खासै वास्ता गरेनन् र आफ्नो कर्ममा दत्तचित्त भइरहे । उनको आफ्नो एक टुक्रा पनि जग्गा जमिन छैन, जग्गा भाडामा लिएर उनले कुरिलोलगायत तरिकारी खेती गरेर कमाउन थालेका छन् । जग्गा बाँझो राख्नेका लागि उनी उदाहरणीय हुन् । अहिले उनले कुरिलो खेतीबाट आम्दानी लिन सुरु गरेका छन् । उत्पादन भएको कुरिलो तरकारीलाई बजार अभाव छैन । स्थानीय तथा बाहिरको बजारमा फोनबाट सम्पर्क हुने गरेको छ । ‘हिमाली क्षेत्रमा उत्पादन भएको कुरिलो बिक्री गर्न समस्या छैन,’ उनले भने, ‘सम्पर्क गरेर बजारमा मगाउने धेरै छन् ।’

गत असारदेखि नै लामाले कुरिलो प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँमा बजारमा बेच्न थालेका हुन् । आफ्नो जिल्ला आसपास र वरपर फाट्टफुट्ट बिक्री–वितरण हुने भए पनि बाँकी बाहिर नै सप्लाई हुने गरेको लामा बताउँछन् । जिल्लाको धुन्चे, स्याफ्रु, थाम्बुचेत तथा गाउँघरमा भन्दा काठमाडौंलगायतका अन्य जिल्लामा सात सयभन्दा बढी मूल्यमा बिक्री हुने उनी बताउँछन् । कुरिलो फल्ने मौसममा लगातार तीन वर्षसम्म फल्ने गर्दछ र सोअनुसार उनको आम्दानी पनि निरन्तर भइरहन्छ । लामाले कुरिलोसँगै टिमुर, अकबरे खुर्सानीसमेत रोपेका छन् । उनी आफू मात्रै सफल कृषक बन्न चाहँदैनन् । आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘दुःख गर्न सके विदेश जानुपर्दैन । आफ्नो गाउँघरको आँगनीमै सुन फल्छ, फलाउन सकिन्छ ।’ लामा कृषक मात्रै होइनन्, कुरिलो खेतीको स्थानीय विशेषज्ञका रूपमा पनि चिनिन थालेका छन् । उनले यो खेतीसम्बन्धी सयजनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेका छन् । आफ्नो पुर्खाले अँगालेको पुख्र्यौली कृषि पेसा आफ्ना लागि प्राण भएको बताउँछन् । उनी यही पेसामा रमाउने र यही पेसा पुस्तान्तरण गर्ने पक्षमा छन् । यो खेतीबाट लामाले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । यस वर्ष कुरिलोको बिरुवा तथा कुरिलो टुसा बेचेर साढे तीन लाख रुपैयाँ आम्दानी लिएको उनले बताए । ‘यस वर्ष धेरै बिरुवाले आम्दानी दिन्छ । यसै वर्ष लगानी उठाउने सोचमा छु,’ लामाले भने ।

बिदेसिएका दाजुभाइ, दिदी–बहिनीलाई स्वदेश फर्केर आफ्नै माटोमा पसिना बगाई सुन फलाउन सम्भव भएकाले खेतीमा लाग्न उनी आग्रह गर्छन् । विदेशको चरा खस्ने गर्मी, २४सै घन्टा ड्युटी गरेर केही रकम आर्जन गर्नुभन्दा आफ्नै जन्मभूमिमा घरआँगन र खेतबारीमा श्रम गर्न र आफूजस्तै आम्दानी गर्न लामा सुझाव दिन्छन् । स्थानीय सरकारले पनि कृषि उत्पादनमूलक कार्यक्रममा किसानलाई टेवा दिने कार्यक्रम बनाउनुपर्ने उनको सुझाव छ । अहिले बजारमा कागती, कुरिलो, मूलालगायत तरकारी खेती गरेर आम्दानी लिन सकिने हुनाले जमिन बाँझो राख्न नहुने उनले बताए । लामाको कुरिलो खेती आम्दानीको स्रोत मात्रै नभई प्रेरणाको स्रोत पनि भएको स्थानीय पासाङ तामाङ बताउँछन् । तामाङ भन्छन्, ‘यो खेतीबाट उत्पादित कुरिलोको टुसा र बिरुवा देशमा मात्रै नभएर विदेशमा पनि निर्यात हुने गरेको छ । लामाको आम्दानीको मुख्य स्रोत यो खेती यहाँका अन्य बासिन्दाका लागि पनि प्रेरणा बन्दै जानेछ । त्यसका लागि उहाँहरूले यो खेतीलाई अँगाल्नुपर्छ ।’