त्रिशूली अस्पतालमा सिटिस्क्यान मेसिन किन्न चलखेल

स्पेसिफिकेसनका प्राविधिक मापदण्ड निश्चित कम्पनीको मात्र स्वीकृत

  • त्रिशूली प्रवाह
  • ७ मंसिर २०८०, बिहीबार ११:४३

विदुर, नुवाकोटको त्रिशूली अस्पतालमा खरिद प्रक्रियामा रहेको आठ करोडको सिटिस्क्यान मेसिनको प्राविधिक स्पेसिफिकेसनको बुँदा निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी लक गरिएको तथ्य बाहिरिएको छ । स्वास्थ्यका न्यूनतम सेवा मापदण्ड (मास) पूरा गरेर त्रिशूली अस्पताल बागमती प्रदेशमै प्रथम भएको छ । आर्थिक वर्ष ०७९/८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनका आधारमा अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा प्रथम भएका अस्पताललाई बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रतीक सिंहलाई प्रशंसापत्र प्रदान गरेका थिए । वार्षिक समीक्षा गोष्ठीमा दोस्रोपटक प्रदेशस्तरीय अस्पतालमा प्रथम भएको अस्पताल प्रशासन व्यवस्थापक रिकेश रानाले बताए । बागमती प्रदेशको बजेटमा नुवाकोटसहित सिन्धुली र भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन किन्ने तयारी भइरहेको छ । सेटिङको प्रारम्भ नुवाकोटको त्रिशूली अस्पतालबाट हुँदै छ । त्रिशूलीमा सिटिस्क्यान मेसिन किन्ने तयारी अन्तिम चरणमा पुगेको छ । तीन अस्पतालमा मिलेमतोमा तीनवटा सिटिस्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा करिब नौ करोड कमिसनको खेल भइरहेको तथ्य सार्वजनिक भएको छ । त्रिशूली अस्पतालका लागि सिटिस्क्यान मेसिन किन्न तयार पारिएको स्पेसिफिकेसनका प्राविधिक मापदण्ड निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी बनाइएको छ । निश्चित कम्पनीको सप्लायर्ससँग मिलेर करिब पाँच करोडमा आउने सिटिस्क्यान मेसिन स्वास्थ्य क्षेत्रका माफियाले आठ करोडमा किन्ने तयारी गरिरहेका छन् ।

त्रिशूली अस्पतालको सिटिस्क्यान मेसिनको प्राविधिक स्पेसिफिकेसनमा राखिएका बुँदा क्यानोन/तोसिवाको सिटिस्क्यान मेसिनसँग मात्रै मिल्छ । माफियाको खेल त्रिशूली अस्पतालमा सफल भए सिन्धुली र भक्तपुर अस्पतालमा पनि सोही स्पेसिफिकेसन पारित गराएर सिटी मेसिन खरिदको टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । क्यानोनको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.लि.’ हो । यसका प्रमुख धीरज थपलिया हुन् । सेटिङमा खरिद गर्ने समूहमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्कासमेत जोडिएकी छिन् । मसिना सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (१)की सांसद हुन् । खड्काका श्रीमान् तथा मेडिकल व्यवसायी विकास सर्जिकलका अक्कलबहादुर भण्डारी र हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी सक्रिय देखिएका छन् । यी सबैलाई प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले सहयोग र साथ दिइरहेका छन् ।