नेपालमा सबै विकृतिको कारक टिकटकलाई मानेर सरकारले तिहारको मुखमा बन्द गरिदिएपछि पक्ष–विपक्षमा चौतर्फी आवाज उठिरहेको छ । टिकटक बन्दका पक्ष–विपक्षका बहससँगै सर्वोच्च अदालतमा समेत रिट परेको छ । सरकारले सामाजिक सद्भाव र नागरिक सुरक्षाका लागि टिकटकमा रोक लगाइएको बताएको छ ।
पछिल्लो वर्ष सामाजिक सञ्जालको एउटा गतिलो माध्यमको रूपमा टिकटकको उदय भएको थियो । आफैँले निर्माण गरेका छोटो भिडियो यसमा राख्ने र आवश्यकताअनुसार सेयर गर्ने माध्यम बनेको टिकटकलाई सरकारले सबै विकृतिको कारक ठानेर बन्द गरिदिएको छ । कुनै बेला फेसबुक आउँदा समाजमा तरङ्ग पैदा गरेको थियो । पछिल्लो केही वर्षदेखि टिकटकले पनि सबैलाई तरङ्गित तुल्याइरहेको छ । कुनै बेला मनोरञ्जनको रूपमा मात्र लिइने यो माध्यमलाई अहिले ज्ञान, विज्ञान, समाचार र जीवनका विविध क्षेत्रमा प्रयोग भइरहेको छ । शब्दको जानकारीमा रमाउने व्यक्तिदेखि व्यक्तित्व विकासका क्षेत्रसम्म फैलिरहेको टिकटकलाई संसारका सबैजसो सञ्चारमाध्यमले प्रयोगमा ल्याएका छन् । कुनै पनि माध्यम आफैँमा दोष दिनुपर्ने हुँदैन । कसैको घरमा खुकुरी छ, त्यसको सदुपयोग र दुरुपयोग दुवै हुन सक्छ । कसैले खुकुरीको प्रयोग आक्रमण गर्न ग¥यो भने सम्बन्धित व्यक्तिको दोष हुन्छ । खुकुरीको दोष खोज्ने होइन । नेपालको सन्दर्भमा टिकटकमाथिको प्रतिबन्धले यी र यस्तै प्रश्न उब्जाएको छ ।
इन्टरनेटमा आधारित टिकटकको प्रयोगमा यसले कतिपय अवस्थामा सूचना लिने र व्यक्तिमाथि जासुस गर्ने भन्दै पश्चिमा देशसहित छिमेकी देश भारत र चीनको सरकारी कार्यालयमा प्रतिबन्धित छ । छिमेकीकै सिको गर्दै नेपालले टिकटक बन्द गरेर हाइसन्चो मानेको भए गलत हुनेछ । टिकटकमा लोड भएका सामग्री रोक्न सरकारले बन्द गरेको हो भने यो काम उचित होइन । आलोचनाको डरले सामाजिक सञ्जाल बन्द गर्नेभन्दा पनि त्यसबाट आएका सामग्रीको विश्लेषणका आधारमा सरकारले आफूलाई सुधार गर्न सक्नुपर्छ । टिकटक सामाजिक सञ्जालमा एउटा सन्दर्भमा बोलेको विषयलाई अर्कै सन्दर्भमा व्याख्या गर्नमा, बोलीलाई काटकुट पारेर अर्कै अर्थ आउने गरी ‘मिम’को आवरणमा प्रहार गर्नमा प्रतिस्पर्धाजस्तै देखिन्छ । यो प्रवृत्तिको निर्वाध बढोत्तरीले गर्दा विपक्षी वा निश्चित व्यक्ति र समूहको मानमर्दन गर्न सामाजिक सञ्जाललाई हतियारका रूपमा दुरुपयोग गर्न लहर नै देखिएको छ । टिकटककै कारण सामाजिक सद्भाव तथा राष्ट्रिय सुरक्षा प्रतिकूल घटना भएपछि सरकारले बन्द गर्नुपरेको बताइरहेको छ । केही महिनाअघि धरान र नेपालगन्जको साम्प्रदायिक सद्भाव बिथोल्ने घटनाको लागि टिकटकमा भएका पोस्टको धेरै ठूलो भूमिका देखियो । सरकारले निषेधाज्ञा लगाएको कारण त्यतिबेला दुई ठाउँको घटना नियन्त्रणमा आएको थियो ।
जनताको संस्कृतिको वकालत गर्ने दल नेकपा माओवादी पार्टीको एउटा गाउँपालिकाको वाइसिएलकी अध्यक्ष सस्तो प्रचारबाजीको सिकार बन्दै टिकटक लाइभमा नाङ्गिएपछि सो पार्टीले उनलाई साधारण सदस्यसम्म नरहने गरी कारबाही गर्नुपरेको थियो । संयोग यस्तो परेको छ कि सोही पार्टीका उपाध्यक्षले नेतृत्व गरेको गृह मन्त्रालयले सामाजिक सञ्जाल नियमन गर्ने भन्दै सूचना जारी गरेको भोलिपल्ट उपर्युक्त समाचार बाहिर आएको हो । पछिल्लो समय टिकटक भिडियोको नाममा अश्लील भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको र लाइभमा अश्लील गतिविधि र जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिविधि बढिरहेको थियो । टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको, विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुन्डिएर मृत्युसमेत भएको थियो । यी घटनाबाट समाजमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले टिकटक रोक लगाइएको सरकारले बताइरहेको छ ।
चीन, उत्तर कोरिया, क्युवा तथा इरानजस्ता केही देशले सामाजिक सञ्जाललाई सुरुबाटै निषेध गर्ने प्रवृत्तिलाई अभिव्यक्ति स्वतन्त्रताको मानमर्दन मान्ने अमेरिका, अस्ट्रेलियादेखि भारतसम्मका लोकतान्त्रिक दाबीकर्ता देशहरूले समेत सामाजिक सञ्जाल नियन्त्रण गर्न लागिरहेका छन्, भारतले त टिकटकलाई पूर्णतः निषेध गरेर मोदी प्रशासनलाई मात्र सुरक्षित गरेको छैन कि भारतीय मूल्य प्रणालीलाई संरक्षण गरेको वाहवाही पाइरहेका छन् । समाजमा विभिन्न विकृति–विसङ्गति उत्पन्न गर्न, जाति, धर्म, विचारका विरुद्ध आमनागरिकबीच विभ्रम फैलाउन सामाजिक सञ्जालले मलजल गरिरहेको छ । निजी अभिव्यक्तिको माध्यम मानिने सञ्जाल कतिपय मानिसका लागि पूर्वाग्रह साँध्ने साझा चौतारी बनेको छ । सूचनामाथि जासुसी गर्ने, समाजमा भ्रम फैलाउने, सामाजिक समूहबीच गलफत्ती गर्ने, नानाथरी कुरा काट्नेका लागि चियापसल बनेको छ, सामाजिक सञ्जाल । यसको गलत अभ्यासले कैयौँ देशका सरकार समय–समयमा निकै विवादमा परेका पनि छन् र राज्यले ठूलो मूल्यसमेत चुकाउनुपरेको छ । चिनियाँ टेकजाइन्टले नै सुरु गरेको टिकटकलाई बेइजिङ प्रशासनले चीनभित्र कडा नियन्त्रण गरेको छ । पश्चिमी उदार लोकतान्त्रिक देशहरूलाई नै सञ्जालले निकै ठूलो सङ्कट खडा गरिदिएका कारण अमेरिका, युरोप र अस्ट्रेलियाले नियमनका लागि कठोर नीति बनाइरहेका छन् । युरोपियन युनियनले धेरैपटक गुगल, फेसबुक, ट्विटर र युट्युबलाई जरिवाना तिराएको छ । तर, नेपालजस्ता साना देशलाई त्यस्तो सम्भव नहोला ।






प्रतिक्रिया