तेह्र सय वर्ष पुरानो गंगाजमुना जात्रा

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:१७

फूलखर्क (धादिङबेँसी), धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीय रूपले पछिल्लो समय चर्चामा आएको स्थल हो । यहाँको झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् ।

धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशी (ठूलो एकादशी)को दिन लाग्छ । यस वर्ष पनि मङ्सिर ७ गते बिहीबार भव्य मेला सम्पन्न भएको छ । राज्य पुनर्संरचनामा गएपछि गंगाजमुना माईको नाममा गाउँपालिकाको नामकरणसमेत गरिएको छ । यस वर्ष पनि मङ्सिर ६ गते बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले एकादशीको दिन बिहान मङ्सिर ७ गते त्यहीँ स्नान गरी पूजाआजा गरेका थिए । तेह्र सय वर्षअघि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यहीँ सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको पूजाआजा गर्दै मेला सुरु भएको किंबदन्ती छ । गंगाजमुना गाउँपालिका– ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना रहेका छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आशीर्वाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरी फूलको डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास वर्षौँदेखि रहिआएको छ । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधि निको हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको पनि एकादशीको दिन घुइँचो लागेको थियो । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुर धारोमा नुहाउने चलन रहेको छ । मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौंलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्छन्, ‘एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।’ यो जात्रा धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृश्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो । हरिबोधनी एकदशीमा भगवान् विष्णु एवम् नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ । सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले बताए ।