राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङका आठ करदाता सम्मानित

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:१९

गल्छी, १२औँ राष्ट्रिय कर दिवस २०८० को अवसरमा करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङ जिल्लाका आठ करदातालाई सम्मान गरेको छ । गत बिहीबार मङ्सिर ७ गते नुवाकोट र धादिङ जिल्ला कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालय गल्छीले कर सप्ताह समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ मूल नारासाथ यस वर्षको कर दिवसको अवसरमा सप्ताहव्यापी कर सचेतना कार्यक्रम गरिएको थियो । आर्थिक वर्ष ०७९/८० मा दुई जिल्लाका उद्योग, व्यापार, शैक्षिक र वित्तीय क्षेत्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको कार्यालयकी प्रमुख शिखा वाग्लेले जानकारी दिइन् । सम्मानित हुनेमा नुवाकोटका उद्योगतर्फ हाम्रो अक्सिजन प्रा.लि., व्यापारतर्फ स्पिड अटो इन्टरप्राइजेज, शैक्षिकतर्फ अर्किड एकेडेमी र वित्तीयतर्फ दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् । यस्तै, धादिङ जिल्लाका उद्योगतर्फ आरआर फर्म प्रा.लि., व्यापारतर्फ बिके इन्टरप्राइजेज, शैक्षिकतर्फ चिल्ड्रेन पार्क एकेडेमी र वित्तीयतर्फ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएका छन् । सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारी पुरुषोत्तम खतिवडालाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो । कर दिवसको अवसरमा कार्यालयले गल्छी गाउँपालिकामा प्रभातफेरी र धुनीबेँसी नगरपालिकामा कर शिक्षा कार्यक्रम गरिएको कार्यालय प्रमुख वाग्लेले जानकरी दिइन् । सम्मान कार्यक्रममा धादिङ उद्योग वाणिज्य सङ्घ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।