नगरमा काङ्ग्रेस-माओवादी गठबन्धन र एमालेले बहुमत र अल्पमतको नाममा सुनौलो अवसर र समय खेर फालिरहेका छन् ।

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १३:१०

भरतबहादुर थापामगर
संस्थापक/नगर सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी, विदुर नगर समिति, नुवाकोट

उदाउँदो राजनीतिक शक्तिको रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नुवाकोट जिल्लामा गत ०७९ भदौ ५ गते विधिवत् गठन भएको थियो । नेपालमै यो पार्टी दर्ता भएको ६ महिनामा सङ्घीय निर्वाचन २०७९ मा सहभागी भएर जनताको मन जित्न सफल देखियो । गत ०७९ मङ्सिर ४ गते सम्पन्न दोस्रो प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाले प्रदेश खारेज गर्नुपर्ने माग राख्दै देशभरि नै प्रदेश सभामा उम्मेदवार दिएन । नुवाकोटको प्रतिनिधिसभाको १ र २ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपा क्षेत्र नं. २ मा एमालेलाई समेत पछि पार्दै दोस्रो हुन सफल भएको थियो । प्रतिनिधिसभा क्षेत्र नं. २ मा पर्ने विदुर नगरपालिकामा रास्वपाको लहरलाई पुराना भनिने नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले आकलन नै गर्न नसक्ने गरी रास्वपाले मत प्राप्त ग¥यो । विदुर नगरपालिकामा पार्टीलाई उल्लेखनीय मत दिलाउन सफल विदुर नगरपालिकाका रास्वपा विदुर नगर समितिको संस्थापक संयोजक एवम् गत वैशाखमा सम्पन्न पहिलो नगर अधिवेशनबाट नगर सभापतिमा चयन भएका आशालाग्दो निडर, हक्की र स्वच्छ छविका युवाका ढुकढुकी भरतबहादुर थापामगरसँग गरिएको कुराकानीको सङ्क्षिप्त अंश :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उद्देश्य, नीति तथा कार्यक्रम के छ ?
राज्यका सम्पूर्ण भ्रष्टाचारविरुद्धका निकायलाई सक्रिय बनाउने, हालसम्म सार्वजनिक निकाय वा पदमा बसेर अकुत सम्पत्ति आर्जन गरेकाहरूको सम्पत्ति छानबिन गर्ने, छोटो र छिटो प्रक्रियाबाट भ्रष्टाचारीलाई तत्काल कारबाही गरी कडाभन्दा कडा सजाय दिलाउने, नागरिकलाई सुशासन र झन्झटरहित सार्वजनिक सेवा दिने, क्षमता भएकालाई स्वदेशमै रोजगारीको अवसर दिने, उद्यमशीलता प्रवद्र्धन र वैदेशिक रोजगारीका व्यवस्थापन गर्ने, शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच स्थापित गराउनेलगायतका जनमुखी उद्देश्य र ती उद्देश्य प्राप्त गर्ने नीति, कार्यक्रम पार्टीको रहेको छ । हाम्रो पार्टीलाई सरकार बनाउने अवसर दिनका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म आग्रह गर्दछु । पार्टी स्थापना भएको एक वर्षमै जनतामाझ लोकप्रिय हुँदै आएको हाम्रो पार्टीको पक्षमा उर्लेको जनलहरले पुराना दल निराश हुँदै गएका छन् । पुराना दलबाट शोषित, पीडित मतदाता हाम्रो दलको उद्देश्य, नीति तथा कार्यक्रमलाई विशेष चासो लिएर सहयोग–सल्लाह दिइरहनुभएको छ ।

नेपालका अन्य दलभन्दा रास्वपामा के फरक छ ?
हाम्रो पार्टीमा राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न पार्टीको साधारण सदस्यको मतदानबाट विजयी हुनेले मात्र पाउँछ । अन्य पार्टीमा नेताको नजिक हुनेले मात्र पाउँछन् । हाम्रो पार्टीमा टीका लगाएर उम्मेदवारको टिकट पाइँदैन । घरैपिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरी राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउने उद्देश्यले हाम्रो पार्टीको अन्य पार्टीको जस्तो भ्रातृ सङ्घ–सङ्गठन हुँदैन । बहुसङ्ख्यक युवाको प्रतिनिधित्व हुने र कार्यकर्तारहित पार्टी रास्वपा हो । पार्टीको साधारण सदस्यता लिएका जो–कोही नेपालीले पनि सीधै सभापति पदसम्म उम्मेदवार बन्न अवसर पाउँछ । अन्य पार्टीमा यो व्यवस्था छैन । परिवर्तनशील नेतृत्व हाम्रो पार्टीले व्यवस्था गरेको छ । त्यसअनुसार पार्टीमा केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति र पालिका सभापति दुई कार्यकालभन्दा बढी उक्त पदमा बस्न नपाउने व्यवस्था विधानमा रहेको छ । पदको गणना पहिलो महाधिवेशनपछि सुरु हुने व्यवस्था छ । अन्य पुरानो पार्टीमा भने आजीवन पार्टी प्रमुख हुन पाउने व्यवस्था रहेको छ ।

नुवाकोटमा रास्वपाको गतिविधि के छ ?
पार्टी स्थापना भएको छोटो समयमै देशभरि सङ्गठन विस्तार गरेकोे हाम्रो पार्टीकोे नुवाकोटको ८८ वटै वडा, १२ पालिकामा रहेका तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न भइसकेको छ । पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले पनि नुवाकोटलाई प्राथमिकतामा राखेर जिल्लामा दुईपटक उपस्थित भएर हामीलाई हौसला र मतदातालाई विश्वास दिलाइसक्नुभएको छ । जसको कारणले रास्वपाप्रति नुवाकोटवासीले आशा र भरोसा गर्नुभएको छ । सबै पालिका र वडासमिति चलायमान अहिले भइरहेका छन् । जिल्लाका सबै पालिकामा अन्य राजनीतिक विचारधारा बोक्ने पार्टीका नेता र कार्यकर्ताले हाम्रो पार्टीको सदस्यता लिने र आबद्धता हुने क्रम बढेको छ । आफ्नो जीवनमा व्यावसायिक तथा व्यक्तिगत सफलता हासिल गरी राजनीति गर्न चाहने क्षमतावान् नेपालीलाई अन्य पार्टीमा सीधै नेतृत्व लिने, राज्यको कुनै पनि तहका निर्वाचनमा उम्मेदवारी बन्न पाउने अवस्था छैन । तर, त्यस्ता व्यक्तित्व भएका नेपाली नागरिकले हाम्रो पार्टीको सदस्यता लिई सीधै पार्टीको नेतृत्व र राज्यको कुनै पनि तहको निर्वाचनमा अवसर पाउन सक्ने व्यवस्था रहेको छ । जिल्लामा हाम्रो पार्टीप्रति युवा जमातको विश्वास र भरोसा बढिरहेको छ । जिल्लाका सचेत प्रभुत्व वर्गले रास्वपालाई माया गरेको कारण आगामी ०८४ मा हुने निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ । हाम्रो पार्टीको गतिविधिले पुराना दल आत्तिएका छन् । गत ०७९ मङ्सिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायत पाँच दलको गठबन्धन नभएको भए नुवाकोटको प्रतिनिधिसभाको क्षेत्र नम्बर २ बाट हाम्रो पार्टीको उम्मेदवार सुमन पाण्डे निर्वाचित हुनुहुन्थ्यो । तैपनि हामी पाँच दलसँग प्रतिस्पर्धा गरेर थोरै मतले पराजित भयौँ । उक्त निर्वाचनमा हामीले जित्न नसके पनि दोस्रो भयौँ । गत ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी सांसदले भन्दा पनि बढी भोट प्राप्त ग¥यौँ । हाम्रो पार्टीप्रति अहिले मतदाता थपिइरहेका छन् । पार्टीले विगतको मतलाई संरक्षण गर्दै थपिएका मतलाई व्यवस्थित गर्दै सङ्गठित रूपले सुरक्षित गर्ने नीति लिएको छ ।

विदुर नगर समितिको गतिविधि कसरी अगाडि बढिरहेको छ ?
म विदुर नगर समितिको तदर्थ समितिमा बसेर काम गरी पुनः ०८० वैशाख ३० गते सम्पन्न पहिलो अधिवेशनबाट नगर समितिको सभापतिमा चयन भएँ । उक्त पहिलो अधिवेशनले १७ सदस्य नगर कार्यसमिति चयन गरेको छ । नगर अधिवेशनपछि १३ वटै वडाको अधिवेशन सम्पन्न गरी प्रत्येक वडामा सभापति र महिला उपसभापति, अनिवार्य दुई दलितसहित ११ सदस्य कार्यसमिति चयन भएको छ । वडाले आ-आफ्नो क्षेत्रमा आउने बजेट विकास निर्माणका योजनाबारे निगरानी गर्ने, समयमै सम्पन्न गराउन दबाब दिने, नागरिकले पाउने सेवा, सुविधाको सहजता गराउने, शिक्षा, स्वास्थ्यको समान अवसरको सुविधा भए–नभएको अध्ययन गरी आवश्यक पहल गर्ने काम भइरहेको छ । हाम्रो पार्टीमा अधिकांश युवा साथीहरू नेतृत्वमा रहेकाले भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गर्न र अनावश्यक झन्झट नागरिकले व्यहोर्न नपरोस् भनेर क्रियाशील रहेका छन् । आगामी ०८४ को निर्वाचनमा विदुर नगरपालिकामा स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजय गराउने योजनाको साथ नगर समिति क्रियाशील भइरहेको छ । विदुर नगरपालिकामा हाम्रो पार्टीले नजितेसम्म नगरवासी भएको महसुस जनताले गर्न पाउने अवस्था छैन । पुराना सोच भएका पार्टीका उम्मेदवारले निर्वाचन जितेको कारण विदुरमा विकास निर्माण, सुशासन र समृद्धिको पक्षमा काम नै हुन सकेन । उनीहरू जनताका लागि होइन, पार्टी र कार्यकर्ताका लागि काम गर्छन् ।

गत ०७९ को सङ्घीय निर्वाचनमा तपाईको पार्टीले प्राप्त गरेको जनमत जोगाउन हम्मे–हम्मे परिरहेको अन्य दलले भन्ने गरेका छन् नि ?
हामी जे भन्छौँ त्यो गर्छौँ । अरू पार्टीले जस्तो जनतालाई ढाँट्ने, धोका दिने हामी गर्दैनौँ । हामी नीति, विचार र कार्यक्रममा स्पष्ट छौँ । अरू दलका लागि काम गर्छन्, हामी जनताका लागि काम गर्छौँ । त्यसैले हामीप्रति हिजो मत जाहेर गर्ने मतदाताको सङ्ख्या घटेको छैन, बढिरहेको छ । पार्टीले मतदातालाई विश्वस्त बनाउँदै सङ्गठित बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमबारे प्रशिक्षण गर्ने कार्यक्रम तय गरेको छ । हाम्रो पार्टीले प्राप्त गरेको जनमतलाई अरूले फकाउन, अलमल्याउन सक्दैनन् । सचेत मतदाताले हाम्रो पार्टीबाट नयाँ नेपाल निर्माणको अपेक्षा राखेर सहयोग गरेकाले कसैको दबाब, उक्साहट, प्रलोभनमा पर्नुहुँदैन । हामी ढुक्क छौँ । हामीप्रति मत जाहेर गर्ने मतदाताले हामीलाई जनताको पक्षमा काम गर्न सचेत गराइरहेका छन् ।

विदुर नगरपालिकाले अहिले गरिरहेको विकास–निर्माणलाई कसरी हेरिरहनुभएको छ ?
म नगर सभापति हुँ । मेरो कार्यक्षेत्र विदुरको १३ वटै वडा हो । अहिलेको नगर नेतृत्वको कामबाट नगरवासीलाई सुविधाभन्दा सास्ती भइरहेको पाएका छौँ । विदुर नगरपालिका घोषणा भएको ३८ वर्ष बितिसकेको छ । हाम्रो सँगसँगै नगरपालिका घोषणा भएको धुलिखेल, रत्ननगरलगायत अन्य नगरपालिकाको स्तर र अवस्था कहाँ पुगिसक्यो हाम्रो भने उस्तै हुनु विदुरवासीका लागि दुर्भाग्य हो । नगरको नेतृत्व हिजोदेखि ज–जसले गरे उनीहरूले विदुरवासीलाई समृद्ध बनाउनभन्दा पनि दललाई स्थापित गर्न मात्र लागिरहे । जसको कारणले आज हामी गाउँपालिकाजस्तो भएका छौँ । नगरमा जनप्रतिनिधिभन्दा पार्टी हाबी भएकाले अहिलेको विदुरको नेतृत्वले केही देखिने काम गर्न सकेको छैन । नगरपालिकामा अनगिन्ती समस्या रहेका छन् । समस्यालाई समाधान गर्नेभन्दा पनि अनावश्यक रूपमा गिजोल्ने काम नगरका अहिलेका जनप्रतिनिधिले गरिरहेका छन् । बसपार्क सञ्चालन, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गत गँगटे–ढुङ्गे सडक निर्माणमा पहल गर्न नगरपालिकाले सकेन । नगरको नेतृत्वमा रहेका जनप्रतिनिधि अहिले केही दिगो काम गर्न नसकेर रमिते बनेका छन् । नगरमा काङ्ग्रेस–माओवादी गठबन्धन र एमाले बहुमत र अल्पमतको नाममा समय खेर फालिरहेका छन् । नगरको आयस्रोत बढाउने विगतमा सुरु भएर अहिले सम्पन्न भएका वधशाला, कोसेलीघर सञ्चालन गर्न मेयर–उपमेयरले चासो दिइरहेका छैनन् । अहिलेको नेतृत्व जनताले पाउने सेवा, सुविधाका योजनामा बजेट छुट्याउनभन्दा पनि पाँच वर्ष कटाउने र आफ्नो पार्टीको नेता–कार्यकर्तालाई योजना बाँड्न तल्लीन रहेको छ ।